१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
२o८२ जेठ २५ आइतबार १६:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्थलगत निरीक्षणमा गभर्नर डा. पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १६:२३:oo

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्थलगत निरीक्षणका क्रममा अछाम आइपुगेका छन्। राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेल र दीर्घबहादुर रावलसहित गभर्नर अछाम आइपुगेका हुन्।

कर्णाली प्रदेशका विभिन्न जिल्ला हुँदै अछाम आइपुगेका गभर्नर पौडेलले कृषि क्षेत्र, व्यवसाय र व्यक्तिगत खराब कर्जाहरूको स्थलगत अध्ययन गरेका छन्। बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्ने तयारीस्वरूप आफैँ निरीक्षणमा निस्किएका गभर्नरले आर्थिक गतिविधि चलायमान हुन नसक्दा ऋणहरू खराब बनेको र त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा परेको बताए।

‘आर्थिक स्रोतको खोजीमा मान्छेहरू पलायन भए,’ उनले भने, ‘कोही भारत गए, कोही अमेरिका त कोही दुबई गए। उनीहरू सबै सानोसाने खर्च जुटाउन हिँडेका हुन्।’ बैंकको पैसा साना व्यवसायी र सर्वसाधारणसम्म ऋणको रूपमा पुग्न नसकेको उनको आशय थियो। ‘साधारण मान्छेको आयआर्जनको आशाअनुसार नीतिगत सुधार हुनुपर्छ भन्ने मेरो सोच हो,’ उनले भने।

आइतबार जिल्ला समन्वय समिति अछामले गरेको स्वागत कार्यक्रममा बोल्दै गभर्नर पौडेलले सामान्य मान्छेले पनि ऋण पाउने गरी व्यवस्थापन गरे त्यसले नेपाल राष्ट्र बैंकको मान्यताअनुरूप सर्वसाधारणलाई पनि वित्तीय पहुँचमा जोड्ने बताए। यसो गर्दा कृषि तथा पशुपालन क्षेत्रमा व्यापक सुधार हुने उनको विश्वास छ। त्यसका लागि किसानहरूले दुई–चार बाख्रा पालेर नहुने भन्दै योजनागत रूपमै अघि बढ्नुपर्ने उनले बताए।

कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिना र वरिष्ठ वैज्ञानिक डा. सुनील अर्यालसमेत संलग्न रहेको निरीक्षणमा यस क्षेत्रको व्यावसायिक भविष्यबारे पनि अध्ययन गरिएको छ।

गभर्नर डा. पौडेलले आइतबार अछाम जिल्लास्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी व्यवसायीहरूसँग पनि छलफल गरेका छन्।