
१२ जेठ, ०८२ । चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहलाय भवन बेइजिङको एक भव्य समारोह । दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली देशका प्रतिनिधि भेला भएका छन् । छिमेकी देशका राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को संवाद सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि वक्ताका रूपमा सहभागी थिइन् । जहाँ चीनको भूमि जोडिएका १४ देशका राजनीतिकर्मी, पत्रकारलगायत सहभागी थिए । सम्मेलनको पृष्ठभूमि थियो, २६–२७ चैतमा बेइजिङमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय बैठक ।
चिनियाँ राष्ट्रपति तथा सिपिसी महासचिव सी जिनपिङको उपस्थितिमा भएको बैठकमा चिनियाँ सरकारी उच्च अधिकारी तथा पार्टीका उच्च ओहोदाका सबैजसो पदाधिकारी थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार बैठकले छिमेकी देशसँग रणनीतिक विश्वास सुदृढ गर्ने, क्षेत्रीय विकासलाई सघाउने र फरक मतलाई कम गर्दै संवादमा जोड दिने निर्णय गरेको थियो । चीनको सुरक्षा, विकास, कूटनीति र सम्पन्नताका लागि पनि छिमेकी देशसँगको सम्बन्ध महत्वपूर्ण आधारस्तम्भ हो भन्ने बुझाइ सिपिसीको थियो । यही अन्तरवस्तुमा रहेर चीनले छिमेकी देशका राजनीतिक दल एवं समाजका अन्य क्षेत्रमा कार्यरत प्रतिनिधिलाई १२ जेठमा बेइजिङमा निम्ता गरेको थियो । सम्मेलनमा सिपिसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) लिउ जियान्चाओ मुख्य वक्ताका रूपमा र एउटा बेग्लै सत्रका वक्ताका रूपमा चिनियाँ विदेश नीतिका विभिन्न आयामबारे खुलेर प्रस्तुत भए ।
त्यसो त चिनियाँ राष्ट्रपति सी जिनपिङ आएलगत्तै २५ अक्टोबर २०१३ मा एउटा सम्मेलन आयोजना भएको थियो । बेइजिङमा आयोजित सम्मेलनमा चीनको छिमेकी देशसँग सम्बन्धबारे छलफल भएको थियो । सी राष्ट्रपति भएलगत्तै क्षेत्रीय कूटनीति सञ्चालनका लागि सुरुवाती चिन्तन भएको सम्मेलनको निरन्तरता यो वर्षको बैठक थियो । यसको निरन्तरताका लागि बेइजिङले छिमेकका राजनीतिक दल र पत्रकारलाई जेठमा भेला गरेको लिउको भनाइ थियो । ‘त्यो वेला (२०१३) छलफलमा तय भएको छिमेक नीतिको निरन्तरताका रूपमा यहाँ आइपुगेका छौँ । अब छिमेकलाई साझा घरमा परिणत गर्नुपर्छ,’ लिउले सम्मेलनको सुरु गरे, ‘विश्वमा यतिवेला राजनीति, सुरक्षा, प्रविधि, एआईमा रूपान्तरण आएको छ । शक्ति सन्तुलन हाम्रा कारणले एसियामा सरेको छ । अब विभाजित भयौँ भने हामी लड्नेछौँ, एकताबद्ध भयौँ भने हामी स्थापित हुनेछौँ,’ लिउले भने, ‘छिमेकमा राम्रो सम्बन्ध स्थापित गर्ने कुरा हाम्रो विदेश नीतिको मुख्य चुरो हो । एक–अर्कालाई हामी अझ नजिकबाट बुझौँ ।’
छिमेक नीति प्राथमिकताको प्रतिबिम्ब
नयाँ वर्ष २०२५ को सुरुवातमा चिनियाँ राष्ट्रपति सीले छिमेकी भियतनाम, मंगोलिया र कम्बोडिया भ्रमण गरे । लिउको भनाइमा उत्तरपूर्वी एसियाली छिमेकी देशको भ्रमण चिनियाँ छिमेक नीति प्राथमिकताको प्रतिबिम्ब हो । बेइजिङमा यो सम्मेलन भइरहँदा पनि चिनियाँ प्रधानमन्त्री ली छ्याङ पूर्वी एसियाली मुलुकको भ्रमणमा थिए । चीनले यही वर्ष चीन मध्य एसिया सम्मेलन पनि आयोजना गर्दै छ ।
‘चीन मैत्रीपूर्ण, सुरक्षित र समृद्ध छिमेक चाहन्छ र यसमा सहकार्य गर्न इच्छुक छ,’ उनी पटक–पटक भन्दै थिए । विश्वको शक्ति सन्तुलन एसियामा सरेको सन्दर्भ पटक–पटक उप्काएका चिनियाँ नेता लिउले यो वेला छिमेकी देशसँग दूरी घटाउँदै जाने र सहकार्य बढाउँदै जाने नीतिले विश्व शक्ति सन्तुलनको व्यवस्थापन हुने सन्देश दिएका थिए ।
लिउको भनाइ थियो– चीन छिमेकीहरूको साझा घर हो । हामी पारस्परिक हितका लागि सहकार्य गरौँ र एक–अर्कालाई थप नजिकबाट बुझौँ भन्ने चाहन्छौँ । यो क्षेत्रमा शान्ति र विकास हाम्रो साझा प्रयास हुनुपर्छ, अरू कुनै तेस्रो देशको उपहार होइन । ‘हामी सुरक्षित छिमेक चाहन्छौँ, यसका लागि सुरक्षा अपरिहार्य छ । दिगो सुरक्षा संरचना निर्माण गर्नुपर्छ,’ लिउको भनाइ थियो, ‘छिमेकमा शान्ति र स्थायित्व हाम्रो जिम्मेवारी पनि हो । तर, हामी कुनै पनि प्रकारको प्रभुत्व लाद्ने कल्पना गर्दैनौँ ।’ उनले छिमेकीहरूका लागि चीनलाई खुला बजारका रूपमा विस्तार गर्ने नीति सुनाए, यो निकै रोचक थियो ।
उनको भनाइ सुनिरहँदा लाग्थ्यो, चिनियाँ नेतृत्व परम्परागत कम्युनिस्ट रुझानबाट निकै पर पुगिसकेको छ । लिउले पारस्परिक रणनीतिक विश्वासमा पटक–पटक जोड दिँदै थिए । छिमेकी देशका नागरिकलाई भिसा फ्री गर्ने, भुक्तानी प्रणाली सहज बनाउने तथा पारस्परिक हवाई उडान सहज बनाउने नीति सुनाए । पर्यटन भिसा निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा आएको छ र नेपाल पनि यसबाट लाभान्वित भइसकेको छ ।
‘छिमेकमा विदेशी हस्तक्षेपविरुद्ध सहयोग गर्छौँ’
सम्मेलनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, इन्डोनेसियाको ग्रेट इन्डोनेसिया मुभमेन्ट पार्टी तथा पिपुल्स कन्सल्टेटिभ एसेम्ब्लीका अध्यक्ष अहम्मद मुजानी, कम्बोडियन पिपुल्स पार्टीका केन्द्रीय सदस्य एवं प्रिय भिहेयर प्रान्तका गभर्नर किम रिथी र उज्वेकिस्तानको लिबरल डेमोक्रेटिक पार्टीका नेता अक्ताम खैतोभले पनि सम्बोधन गरेका थिए । सम्मेलनको मुख्य वक्ता लिउ थिए । लिउले यो पनि भन्न भ्याए, ‘छिमेकमा विदेशी हस्तक्षेपविरुद्ध हामी सहयोग गर्छौं र उनीहरूप्रति ऐक्यबद्धता रहनेछ ।’ उनले सम्पन्न, सुरक्षित छिमेक निर्माणमा छिमेकका राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने तर्कसहित राजनीतिक दलसँगको संवादलाई चीनले प्राथमिकतामा राखेको पनि सुनाए ।
परिवर्तित विश्वमा एसिया नामको बेग्लै सत्रमा पनि लिउले सम्बोधन गरे । उद्घाटन सत्रमा चिनियाँ भाषामा बोलेका लिउले बेग्लै सत्रमा अंग्रेजीमा सम्बोधन गरे । सत्रमा थाइल्यान्डको संसद्का पूर्वअध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भोकिन भालाकुला, मंगोलियाका पूर्वविदेशमन्त्री दामदिन सोग्तवातार, पाकिस्तानका पूर्वसूचना तथा प्रसारणमन्त्री मुसाहिद हुसेन सयेदले बोलेका थिए ।
थाइल्यान्डका नेता भालाकुलाले भने, ‘थाइल्यान्ड चीन र अमेरिकासँगै सहकार्य गरेर बाँच्छौँ, तर कसैलाई छुँदैनौँ ।’ ठुला शक्ति मुलुक रुस र चीनको बिचमा अवस्थित मंगोलियाका नेता दामदिनले बुद्ध र पञ्चशीलमा जोड दिए । ‘हार्दिकता र सन्तुलन सार्वभौम समानताका आधारशिला हुन् । हामी यसमा विश्वास गर्छौँ । संस्कृत शब्द पञ्चशीललाई संयुक्त राष्ट्र संघको बडापत्रको अभिन्न भाग बनाइएको छ, त्यसकारण यो नैतिक शक्ति मात्र होइन, कानुनी शक्ति पनि हो,’ उनको भनाइ थियो । इन्डोनेसियाका प्रतिनिधिले नमो बुद्धाय भनेर सम्बोधन गरेको दृश्य रोचक थियो ।
यो सत्रमा लिउलाई पाकिस्तानी सहभागीले रोचक प्रश्न सोधे, ‘चीनले विश्वमा सामान निर्यात गरिरहेको छ । विचारधाराचाहिँ किन निर्यात गर्दैन ?’ यसको लिउले रोचक जवाफ दिए, ‘हामी अरूलाई चाहिने उत्पादक वस्तु दिन्छौँ तर जबर्जस्ती गर्दैनौँ । हाम्रो राजनीतिक प्रणाली बिक्रीमा छैन । आफ्ना अनुभव साझा गर्न सक्छौँ । हामीसँग छलफल संवाद गर्न चाहनेहरूसँग गर्छौं तर जबर्जस्ती लाद्ने प्रयास गर्दैनौँ ।’
उनले भारतसँगको सम्बन्धबारे संक्षिप्त बोले । सम्मेलनमा दक्षिण भारतबाट कार्यक्रममा सहभागी डिएमकेका दुई प्रतिनिधि पनि थिए । उनले भारत र पाकिस्तानबिचको तनावलाई लक्षित गर्दै एउटा देशमाथि हस्तक्षेप वा कब्जा गर्न खोजिएको बताए । भारतका सन्दर्भमा उनको भनाइ थियो, ‘भारतसँगको सम्बन्ध सुमधुर बनाउन चाहेका छौँ । भारतसँग मिलेर काम गर्न चाहन्छौँ । दक्षिण एसियाभरि हामी शान्ति चाहन्छौँ । तर, अढाई अर्ब जनसंख्या भएको दक्षिण एसिया क्षेत्रीय सहकार्यमा अलिक पछि छ । दक्षिण एसिया क्षेत्रीय सहकार्यमा अघि बढोस् भन्ने चाहन्छौँ ।’ उनले भारतसँग सीमाको विषय समाधान गर्न नसकेको बताए, तर यसबारे थप बोलेनन् । पछिल्लोपटक भारत र चीनबिच सम्बन्धमा सहजता आएको सन्देश उनले प्रस्ट रूपमा दिएका थिए ।
ल्यान्ड र आइल्यान्ड देशले परिवारका रूपमा सहकार्य गर्नुपर्छ
वैश्विक सन्दर्भको कुरा गरिरहँदा उनले अमेरिकी व्यापार युद्ध, अमेरिकी हिन्द प्रशान्त रणनीतिको विरोध गरे । ‘हामी हिन्द प्रशान्त रणनीति मान्दैनौँ । त्यो हामीविरुद्ध छ । तर, प्रशान्त क्षेत्र, दक्षिण एसियाली देशसँग सहकार्य गर्न तयार छौँ,’ उनले भने । उनले अमेरिकालाई लक्षित गर्दै अब कुनै देशको सर्वोच्चता गुमेको, ग्लोबल साउथका देश उदाइरहेको र झनै बढी समानता तथा अवसरको आगमन भइरहेको बताए । ‘हामी ग्लोबल साउथका देशबिच फरक विचार छन्, विवादहरू पनि छन्, तर हामी एकै ठाउँ आउनुपर्छ । अब विकासशील देशले वैश्विक मामिलामा छलफल घनीभूत बनाउनुपर्छ । हामी ल्यान्ड र आइल्यान्ड दुवै देश परिवारका रूपमा सहकार्य गर्नुपर्छ,’ लिउ भन्दै थिए, ‘सबैका लागि राष्ट्रिय हित अहं विषय हो । तर, यसको नाममा अन्य मुलुकलाई आघात गर्नु किमार्थ सही होइन ।’
चीनको दक्षिण–पूर्वी एसियाली छिमेकी मुलुक म्यानमार, लाओस र भियतनाम जोडिएको प्रान्त युनानको कुन्मिङमा दक्षिण एसियाली प्रतिनिधिमण्डल सहभागी थियो । युनान प्रान्तीय पार्टी स्कुल (युनान प्रशासकीय कलेज)का प्रोफेसर सु युआनले कसरी चीन खुला हुँदै छ भन्ने प्रस्तुतीकरण दिएकी थिइन् । ‘चीनको छिमेक सम्बन्धमा उच्च प्राथमिकता छ । सुरक्षा, कानुन कार्यान्वयन गर्ने निकायहरू, जनस्तर, व्यापार व्यवसायलगायतको तहमा सहकार्य उच्च बनाउन चाहन्छौँ । त्यसका लागि चीनले अब विश्वमा आफूलाई खुला गरिरहेको छ । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको व्यापार हबका रूपमा युनान प्रान्त उदाएको छ,’ उनले सुनाइन् । चीन–लाओस रेलमार्ग सञ्चालनले सन् २०२३ देखि लाओसको व्यापार घाटा हटेको र अहिले लाओस नाफामा रहेको उनले बताइन् । कम विकसित मुलुकको स्तरबाट विकासशील मुलुकमा रूपान्तरण हुँदै गर्दा लाओस व्यापार घाटामुक्त भएको उदाहरण प्रोफेसर युआनले प्रस्तुत गरेकी थिइन् । युनान प्रान्तमा २८ बन्दरगाह छन् र व्यापार तथा लगानीका लागि युनानले कानुनी प्रावधान निकै सहज बनाएको छ । युनान प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभाग प्रमुख र स्थायी समिति सदस्य चेङ यानले दक्षिण एसियाली मुलुकसँगको सहकार्यबारे तथ्य प्रस्तुत गर्दै थिइन् ।
सबैजसो प्रस्तुतीकरणमा उनीहरूले नेपाल जोडेका थिए । सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउले बेइजिङमा बोल्ने क्रममा चीनलाई अप्ठ्यारो परेका वेला नेपालले सहयोग गरेको बताएका थिए । सिचुआनको भूकम्पमा सन् २०१९ को कोभिड महामारीको सुरुवातमा नेपालले चीनमा सहयोग पठाएका थियो । युनानकी नेतृ यानले गतवर्ष नेपाल भ्रमणको सन्दर्भ उठाएर सञ्चार माध्यमले उनलाई उल्लेखनीय महत्व दिएको भन्दै तारिफ गरिन् ।
भ्रमण दलमा सहभागी दक्षिण एसियाली प्रतिनिधिले बेइजिङदेखि कुन्मिङसम्मका हरेक भेटवार्तामा सोधेका थिए, ‘दक्षिण पूर्वी एसियासँग चीनको जुन स्तरको सम्बन्ध छ, त्यो सम्बन्ध दक्षिण एसियामा किन छैन ?’ चिनियाँ पक्षको जवाफ थियो, ‘हामी तयार छौँ । सबैले परिस्थिति निर्माण गरौँ ।’