
बुढानीलकण्ठमा रहेको ट्रुंगरम इन्टरनेसनल एकेडेमीले हदबन्दीभन्दा धेरै जग्गा राखेको र मालपोतका कर्मचारीसँग मिलेर बिक्रीसमेत गरेको घटनाको पनि हाल अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ९, लामाटारमा रहेको २१ रोपनी जग्गा रोक्का रहेकै अवस्थामा बिक्री भएको थियो ।
हदबन्दीभन्दा धेरै जग्गा जफत हुनबाट जोगाउनका लागि मालपोतको मिलेमतोमा नयाँ कम्पनी खडा गरी बिक्री भएको खुलेपछि आयोगले विस्तृत अनुसन्धान गरेको हो ।
सो जग्गा ध्यान भिल्ला, शिला डेभलपर्सका नाममा बिक्री गरिएको हो । ती कम्पनीहरू विद्यालयका प्रमुख सञ्चालक ट्रुंगरम ग्याल्टुङ रिम्पोचे शेर्पा निकटस्थ व्यक्तिहरूको नाममा छ । उनले हदबन्दीभन्दा धेरै जग्गा बेच्नकै लागि यसरी मालपोत कार्यालयलाई प्रभावमा पारी आफ्ना निकटस्थ कम्पनीहरूलाई बिक्री गरेका थिए ।
सो विद्यालयको नाममा ललितपुर र भक्तपुरमा करिब सय रोपनी जग्गा रहेकामा त्यो हदबन्दीभन्दा धेरै जग्गा स्वीकृति नलिई खरिद गरिएको थियो । अन्य कम्पनीका नाममा लगेर हदबन्दीभन्दा धेरै जग्गा जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ ।
सो विद्यालयको हदबन्दीभित्र पर्ने भक्तपुरको करिब २९ रोपनी जग्गा पाँच वर्षअघि बिक्री भएको थियो । त्यसवेला मन्त्रालयबाट स्वीकृति लिएर सो जग्गा बिक्री भएको अख्तियारको छानबिनले देखाएको छ ।
६ पुस ०७९ मा शिला डेभलपर्स कम्पनीलाई १४ रोपनी १३ आना तीन पैसा तीन दाम र ध्यान भिल्लालाई ६ रोपनी सात आना दुई पैसा जग्गा बिक्री गरेको थियो । त्यसबाट पनि अन्य कम्पनीको नाममा जग्गा लैजाने प्रक्रियाका लागि राजस्वसमेत तिरिसकेकोमा उजुरी परेपछि रोकिएको थियो ।
भूमिसम्बन्धी ऐन, २०२१ अनुसार काठमाडौं उपत्यकामा २५ रोपनी जग्गा र थप पाँच रोपनी घरबारी मात्र राख्न पाइन्छ । तर, कम्पनी तथा संस्थाहरूले नेपाल सरकारको स्वीकृति लिई राख्न पाउने र उद्देश्यअनुसार प्रयोग गर्नुपर्ने ऐनको दफा १२ मा उल्लेख छ । सोही दफाअनुसार विद्यालयको पूर्वाधार बनाउन भनेर हदबन्दीभन्दा धेरै जग्गा ०५२ मै खरिद भएको देखिन्छ । तर, ती जग्गा विद्यालयको काममा प्रयोग भएकोसमेत छैन । विदेशबाट विद्यालयको नाममा आएको सहयोगबाट यसरी जग्गा खरिद गरी व्यक्तिगत कम्पनीमा लगिएको छानबिनमा देखिएको छ । सो जग्गाको विषय र विद्यालयको विवादका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा समेत उजुरी परेको छ । अख्तियारको छानबिन र सिआइबीको अनुसन्धानमा अत्यधिक दबाब दिएपछि अनुसन्धान प्रभावित भएको स्रोत बताउँछ । उता रोक्का राखेर छानबिन भइरहेको जग्गामा हाल भवन निर्माण कार्य अघि बढाइएको छ । ध्यान भिल्ला कम्पनीले सो जग्गामा भवन बनाउन थालेको हो ।
सो विद्यालयले कर तिर्दा भने ती सबै जग्गाको विवरण लुकाएको छ । विद्यालयले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेको लेखापरीक्षण प्रतिवेदनमा ललितपुर र भक्तपुरमा भएको जग्गाको विवरण लुकाइएको छ । धेरै कर तिर्नुपर्ने भएकाले त्यसरी विवरण नै लुकाइएको स्रोत बताउँछ । साथै, तीन वर्षदेखि लेखापरीक्षण नगरेको र करसमेत नतिरेको अवस्थामा बुढानीलकण्ठ नगरपालिकाले दबाबको भरमा विद्यालय नवीकरण गर्दै आएको छ । सो बिद्यालयका नाममा विदेशबाट आएको रकमको बैधानिकताको विषयमा समेत सिआइबीले छानविन गरिरहेको छ।
हदबन्दीभन्दा धेरै जग्गा बिक्रि गरेको प्रकरणमा बिहीबार मात्र आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । यस्तै प्रकृतिका अन्य प्रकरणमा आयोगले थप छानविन गरिरहेको छ ।