
अविरल वर्षापछि आएको बाढीले लघु जलविद्युत् बगाएपछि चार दिनदेखि किमाथांका अन्धकार भएको छ । संखुवासभाको उत्तरी विकट क्षेत्र भोटखोला गाउँपालिका– १ किमाथांकास्थित खोङघोप्पा खोलामा रहेको ६० किलोवाट क्षमताको किमाथांका लघुजलविद्युत् गत १८ जेठ आइतबार राति आएको बाढीले बगाएपछि चार दिनदेखि किमाथांकावासी अन्धकारमा बस्न बाध्य भएको भोटखोला गाउँपालिका– १, किमाथांकाका वडाध्यक्ष नर्बु च्याबाले बताए।
उनका अनुसार, स्थानीय खोङघोप्पा खोला, खाजुङमा खोला र छोक्राङ खोलाको काठेपुलसमेत बाढीले बगाएको छ । अविरल वर्षाले किमाथांका गाउँको विभिन्न ठाउँहरूमा पहिरो खसेको छ भने चारैतिर उच्च जोखिम बढेको छ । खर्क र जंगल चरनमा रहेको धेरैवटा चौँरीसमेत हराइरहेका छन् । वर्षात् बिस्तारै रोकिँदै गएकाले चौँरी खोजी र क्षति संकलन केही दिनभित्र गरिने वडाध्यक्ष च्याबाको भनाइ छ ।
किमाथांका संखुवासभाको सबैभन्दा दुर्गम र विकट क्षेत्र हो । त्यहाँ १०५ घर रहेका छन् भने कुल जनसंख्या ५७९ छ । तीमध्ये गाउँमा स्थायी रूपमा तीन सयजनाजति मात्रै बस्ने गरेको वडाध्यक्ष च्याबाको भनाइ छ । धेरै मानिस गाउँमा रोजगारी पनि नहुने, बाढीपहिरोको जोखिम र विकट भएकाले नबस्ने गरेको उनले बताए ।
एक साता अगाडिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको छ भने स्थानीय खोलाहरूमा जोखिम मोलेर आवतजावत गरिरहेका छन् । किमाथांकादेखि पारि छिमेकी मुलुक चीनसँग समेत बाढी र पहिरोको कारण केही दिनदेखि नाकासमेत अस्थायी रूपमा बन्द रहेको जनाइएको छ। किमाथांकाका स्थानीयहरू सदरमुकाम खाँदबारी झर्नुभन्दा पनि चीनको चाँगा, रियु र देङदाङ बजारको भरमा पर्ने गर्दछन् । दैनिक उपभोग्य वस्तु सबै उनीहरू चीनतर्फबाट नै ल्याउने गर्दछन् ।