
चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैँडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ। वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयअनुसार २३ महिनाको सो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार बच्चा गैँडालाई चिडियाखाना पठाइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयअनुसार अर्को पोथी गैँडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, ‘करिब ३० महिनाको पोथी गैँडा (पूजा)लाई पनि लैजाने तयारी गरिएको छ ।’
बुधबार नै पठाउने तयारी गरिएको भए पनि पूजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए । सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो । हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडा लगिने गरेको छ ।