१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
सात वर्षदेखि बिग्रिएर जमुनाह भन्सार कार्यालयको यात्रु शाखामा थन्क्याइएको स्क्यानर
२o८२ जेठ २१ बुधबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जमुनाह नाकामा सुरक्षा जाँचपासमा खेलाँची : लगेज स्क्यानर सात वर्षदेखि बिग्रिएर थन्कियो, छामछुम गरेर जाँचपास

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o६:o७:oo

फितलो सुरक्षाको फाइदा उठाउँदै भन्सार नाकाबाट हातहतियार, लागुऔषधजस्ता अवैध सरसामान ओसारपसार हुन सक्ने जोखिम उच्च हुन्छ । तर, नेपालगन्जको जमुनाह भन्सार नाकाको ‘लगेज स्क्यानर मेसिन’ सात वर्षदेखि बिग्रिएर थन्किँदा छामछुम पारेर सरसामान जाँचपास गर्ने गरिएको छ । हातहतियार, लागुऔषधजस्ता वस्तु छामेर पत्ता लगाउन सकिँदैन ।
नौ वर्षअघि एक करोडमा स्क्यानर किनिएको थियो । तर, सञ्चालनमा आएको दुई वर्षमै बिग्रिएपछि मर्मत हुन नसकेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । 

‘हातहतियार, लागुऔषध र अन्य वस्तु छामेर पत्ता लगाउन सकिँदैन । स्क्यानर मेसिन भएको भए सबै वस्तु छर्लङ्ग हेर्न र देख्न सकिन्थ्यो,’ उनले भने, ‘छामेर जाँचपास गर्न सुरक्षाकर्मीलाई समस्या छ ।’ बिग्रिएको स्क्यानर मेसिन भन्सार कार्यालयको यात्रु शाखामा छ । 

मर्मत गर्न महँगो पर्ने भएकाले थन्क्याएर राखिएको पौडेलले बताए । ‘मर्मतका लागि वितरक कम्पनीलाई भनेका थियौँ । ४०–५० लाख लाग्ने भएपछि थन्क्याएर राख्नुको विकल्प भएन,’ उनले भने । 

अन्तर्राष्ट्रिय सीमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहज बनाउन भन्सार विभागले ०७४ मा नेपालगन्ज भन्सार कार्यालयलाई ‘लगेज स्क्यानर’ मेसिन खरिद गरी पठाएको थियो । दैनिक हजारौँको संख्यामा सर्वसाधारण यात्रु नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ पैदल आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रिँदा भन्सार कर्मचारी र सुरक्षाकर्मीले सामान हातैले छामछुम पार्दै जाँच गर्दै आएको पौडेलले बताए । ‘बिग्रेको स्क्यानर मेसिनलाई मर्मत सम्भार गर्न धेरै बजेट लाग्ने भएकाले नयाँ स्क्यानर मेसिन खरिद र यात्रु कक्षलाई सुधारका लागि भन्सार विभागलाई जानकारी गराइएको छ,’ उनले भने । 

नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले छामछुम गरी छुट्टाछुट्टै जाँचपास गर्छन् । लगेज स्क्यानर मेसिन नहुँदा यात्रुको झोला जाँचपासमा समस्या भएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज इन्स्पेक्टर उपेन्द्रबहादुर बुढाथोकीले बताए । उनले स्क्यानर मेसिन मर्मत नहुँदा छामेर जाँचपास गर्दै आएको बताए । ‘मेसिन भएको भए छिटोछरितो र प्रभावकारी हुन्थ्यो । के सामान ल्याएको छ भन्ने मेसिनमा स्पष्ट देखिन्थ्यो,’ उनले भने, ‘छामेर त कुन सामान हो भन्ने पत्ता लगाउन मुस्किल पर्छ । झन्झटिलो पनि उत्तिकै छ ।’ मेसिन सञ्चालन नहुँदा सामान जाँचमा बढी समय लाग्दा गन्तव्यमा छिट्टै पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरूले पनि झन्झट व्यहोर्नु परिरहेको बुढाथोकीको भनाइ छ ।

तर, दशगजाको दुई सय मिटर दक्षिणमा भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले लगेज स्क्यानर मेसिनमार्फत मालसामानको जाँचपास गर्छ । नेपालबाट भारत जाने र नेपाल आउने हरेक व्यक्तिको झोला स्क्यानर मेसिनमार्फत जाँचपास गर्दै आएको एसएसबीले महिला तथा पुरुषको छुट्टाछुट्टै लाइन बनाउने गरेको कोहलपुर नगरपालिका– ११ का विकास शर्माले बताए । ‘हरेक व्यक्तिको झोला स्क्यानर भएपछि मात्र एसएसबीले आफ्नो देशमा भित्रिन र देशबाट बाहिरिन दिन्छ,’ उनले भने ।