
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार चलाउन रमाएर बस्दा कांग्रेस–एमालेले संविधान संशोधनको मुख्य वाचा बिर्सिएको बताएका छन्।
नेपाल स्वास्थ्यकर्मी संघको ३४औँ स्थापना दिवसको अवसरमा मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
कांग्रेस–एमालेबिचको सातबुँदे सहमति स्मरण गराउँदै उनले भने, ‘हामी कांग्रेस र एमाले सरकार चलाउँदा यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा नै बिर्सियौँ। त्यसैले, यो अलमलबाट बाहिर निस्किएर कांग्रेस र एमालेले सात बुँदामा गरेको वाचाअनुरूप संविधान संशोधनका निम्ति गर्नुपर्ने काम तत्काल प्रारम्भ गर्नुपर्नेछ।’
संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकलाई भरोसा दिलाउन आवश्यक रहेको उल्लेख गर्दै थापाले त्यसका लागि व्यवस्थाका कमजोरी सुधार्नुपर्ने औँल्याए। कमजोरी सुधार्ने उपाय संविधान संशोधन नै रहेकोसमेत थापाले प्रस्ट पारे।
उनले भने, ‘नागरिकलाई भरोसा दिलाउनुपर्नेछ– संघीय लोकतान्त्रिक व्यवस्था नै हो, यही व्यवस्था टिक्छ। यो व्यवस्थामा केही कमजोरीहरू छन्, यो कमजोरीहरू हामी सुधार्छौँ।’