
इन्डियन प्रिमियर लिग (आइपिएल)को १८औँ संस्करण समाप्त हुन मात्र दुई खेल बाँकी छ । रोयल च्यालेन्जर्स बेंग्लोर (आरसिबी) फाइनलमा स्थान बनाउँदा एक टोलीको टुंगो आइतबार लाग्नेछ । अब, मुम्बई इन्डियन्स र पन्जाब किंग्समध्ये एक टोलीले फाइनल खेल्नेछन् । लिग चरणमा पन्जाब १४ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा रहेको थियो ।
आरसिबी समान अंकसहित दोस्रो स्थानमा रहँदा १८ अंकको गुजरात टाइटन्स तेस्रो स्थानमा रह्यो । मुम्बई भने १६ अंकसहित प्लेअफमा स्थान बनाउन सफल भएको थियो । आइपिएल सही तालिकाअनुसार चलेको थियो भने यतिवेला १८औँ संस्करण सम्पन्न भइसक्थ्यो । भारत पाकिस्तानबिचको टकरावले आइपिएल एक साता स्थगित भएर पुनः सुरु भएको हो । आइपिएलको दुई खेल मात्रै बाँकी रहँदा ओरेन्ज र पर्पल क्याप जित्न खेलाडीबिच प्रतिस्पर्धा चर्काे छ । आइपिएलमा धेरै रन बनाउने खेलाडीले ओरेन्ज क्याप र धेरै विकेट लिने खेलाडीले पर्पल क्याप जित्नेछन् ।
यसपटक दुवै विधामा भारतीय खेलाडीको प्रतिस्पर्धा चलेको छ । ओरेन्ज क्यापका लागि साई सुदर्शन, सुर्यकुमार यादव, सुभमन गिल, मिचेल मार्स र विराट कोहली छन् । यता, पर्पल क्यापका लागि प्रसिद्ध कृष्ण, नुर अहमद, जस हैजलवुड, ट्रेन्ट बोल्ड र साई कृष्ण रहेका छन् । यसपटक आइपिएलमा ओरेन्ज र पर्पल क्याप जित्ने दौडमा रहेका खेलाडीको प्रदर्शन यस्तो छ:
धेरै रन बनाउने पाँच खेलाडी
साई सुदर्शन (गुजरात टाइटन्स) रन– ७५९
गुजरात टाइटन्सलाई प्लेअफसम्म पुर्याउन भारद्वाज साई सुदर्शनले प्रभावशाली प्रदर्शन गरे । उनी फाइनलसहित दुई खेल बाँकी रहँदा १८औँ आइपिएलमा धेरै रन बनाउने पहिलो खेलाडी हुन् । यद्यपि, उनको टोली दोस्रो क्वालिफायरमा पुग्न सकेन । ३२ वर्षीय बायाँहाते शीर्ष क्रमका ब्याटरले १५ खेलमा सर्वाधिक ७५९ रन बनाएका छन् । उनले एक शतकसहित ६ अर्धशतक पनि प्रहार गरे । दिल्लीविरुद्ध अवे खेलमा अविजित १०८ रन बनाएका थिए । पछिल्लो खेलमा मुम्बईविरुद्ध उनले ८० रन प्रहार गरे पनि टोलीलाई इलिमिनेटरबाट अगाडि बढाउन सकेनन् ।
सूर्यकुमार यादव (मुम्बई इन्डियन्स) रन – ६७३
मुम्बईका सूर्यकुमार यादवलाई आइपिएलमा ओरेन्ज क्याप जित्ने सुनौलो अवसर छ । गुजरातका साई सुदर्शनलाई सुर्यकुमारले पछ्याइरहेका छन् । गुजरात प्रतियोगिताबाट बाहिरिँदा सूर्यकुमारको टिम मुम्बईले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको छ । यदि आफूअनुकूल नतिजा आए सूर्यकुमारले फाइनल खेल्ने सम्भावना उत्तिकै छ । यस्तो अवस्था उनलाई धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लन मात्र ८६ रन आवश्यकता छ । यो आइपिएलमा लयमा रहेका सूर्यकुमारले १५ खेलमा पाँच अर्धशतक बनाएका छन् । शतक बने बनाउन सकेका छैनन् ।
सुभमन गिल (गुजरात टाइटन्स) रन – ६५०
गुजरात टाइटन्सलाई प्लेअफसम्म पुर्याउन कप्तान सुस्मन गिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, टोली इलिमिनेटरमा मुम्बईसँग पराजित हुँदा दोस्रो क्वालिफायरमा पुग्न सकेन । यद्यपि, गिलको प्रदर्शन प्रशंसायोग्य थियो । गिलले १५ खेल खेल्दा ६५० रन बनाए । ६ अर्धशतक प्रहार गर्दै धेरै रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा आफूलाई उभ्याएका छन् । २५ वर्षीय दायाँहाते ओपनिङ ब्याटरले दिल्लीविरुद्ध अविजित ९३ रन बनाएका थिए । पछिल्लो खेलमा मुम्बईविरुद्ध भने निराशाजनक प्रदर्शन गरेका थिए ।
मिचेल मार्स (लखनउ सुपर जायन्ट्स) रन – ६२७
लखनउ सुपर जायन्ट्सका लागि यो आइपिएल बिर्सनलायक रह्यो । टोलीले प्लेअफको यात्रा तय गर्नै सकेन । तालिकाको सातौँ स्थानमा रह्यो । तर, अस्ट्रेलियन अलराउन्डर मिचेल मार्सका लागि भने यो आइपिएल संझनयोग्य रह्यो । ३३ वर्षीय अलराउन्डरले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा आफूलाई चौथो स्थानमा उभ्याएका छन् । १३ खेल खेलेका उनले ६२७ रन बनाए । प्रतियोगितामा एक शतकसहित ६ अर्धशतक प्रहार गरे । दायाँहाते ब्याटरले गुजरातविरुद्ध एक सय १७ रनको इनिङ्स खेलेका थिए । पछिल्लो खेलमा आरसिबीविरुद्ध ६७ रन बनाएका छन् ।
विराट कोहली (आरसिबी) रन – ६१४
विराट कोहलीका लागि १८औँ आइपिएल निकै विशेष रह्यो । टोली लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ । लिग चरणमा टोली दोस्रो स्थानमा रहे पनि पन्जाबविरुद्ध सानदार जित निकाल्दै उपाधिनजिक पुगेको हो । टोली चौथोपटक फाइनलमा स्थान बनाउँदा पहिलोपटक उपाधि जित्ने योजनामा छ । ३६ वर्षीय शीर्ष क्रमका दायाँहाते ब्याटरले १४ खेलमा ६१४ रन बनाएका छन् । यसक्रममा आठ अर्धशतक बनाए । कोहली यो आइपिएलमा धेरै रन बनाउने आरसिबीका पहिलो खेलाडी हुन् ।
धेरै विकेट लिने खेलाडी
प्रसिद्ध कृष्ण (गुजरात टाइटन्स) विकेट– २५
गुजरातका साई सुदर्शनले आइपिएलमा दुई खेल बाँकी रहँदा धेरै रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे । । संयोग धेरै विकेट लिने खेलाडीको शीर्षस्थानमा पनि गुजरातकै प्रसिद्ध कृष्ण रहेका छन् । २९ वर्षीय राइट आर्म फास्ट मिडियम बलरले १५ खेलमा सर्वाधिक २५ विकेट लिएका हुन् । यसक्रममा उनको उत्कृष्ट बलिङ चार विकेट लिएर ४१ रन दिनु हो । औसत प्रदर्शन भने १९.५२ रहेको छ । पछिल्लो खेलमा पनि उनले टोलीलाई दुई विकेट दिलाएका थिए ।
नुर अहमद (चेन्नई सुपर किंग्स) विकेट– २४
चेन्नई सुपर किंग्सका लागि यो सिजन सुखद रहेन । टोली लज्जास्पद प्रदर्शन गर्दै तालिकाको पुछारमा रह्यो । १४ मध्ये चार खेल मात्रै जित्यो । तर, टोलीका बल नुर अहमदका लागि भने यो आइपिएल सधैँ स्मरणमा रहन्छ । २० वर्षीय अफगानी खेलाडीले सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । दुई खेल बाँकी रहँदा उनले १४ खेलमा २४ विकेट लिएका छन् । २० वर्षीय दायाँहाते युवा प्रतिभावान बलरको औसत प्रदर्शन १७.०० रहेको छ । उनले १८ रन खर्चिएर चार विकेट लिँदै आइपिएलकै उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका थिए ।
ट्रेन्ट बोल्ड (मुम्बई इन्डियन्स) विकेट – २१
न्युजिल्यान्डका अनुभवी बलर ट्रेन्ट बोल्डलाई १८औँ आइपिएलको धेरै विकेट लिने खेलाडी बन्न सुनौलो अवसर छ । तर, यो यात्रा निकै कठिन पनि हुने देखिन्छ । ३५ वर्षीय दायाँहाते बलर सम्मिलित मुम्बई इन्डियन्स दोस्रो क्वालिफायर खेल्दै छ । अब, बोल्डलाई शीर्ष स्थानमा रहेका प्रसिद्धलाई पछि पार्न मात्र पाँच विकेट खाँचो छ । यसका लागि उनले आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । बोल्डले यो सिजन १५ खेलमा २१ विकेट लिएका हुन् ।
जस हैजलवुड (आरसिबी) विकेट– २१
अस्ट्रेलियन ३२ वर्षीय बायाँहाते बलर जस हैजलवुडलाई आइपिएलको यो सिजन सर्वाधिक विकेटकर्ता बन्ने सुनौलो अवसर रहेको छ । यस सिजनमा यी खेलाडीले ११ खेल खेल्दै २१ विकेट लिएका छन् । आफू आबद्ध आरसिबी फाइनल पुगिसकेको अवस्थामा शीर्ष स्थानमा उक्लन मात्र पाँच विकेट लिनुपर्ने हुन्छ । जुन निकै कठिन पनि छ । राजस्थान रोयल्सविरुद्ध ३३ रन खर्चिएर चार विकेट लिनु यी अस्ट्रेलियन खेलाडीका लागि उत्कृष्ट प्रदर्शन हो ।
साई कृष्ण (गुजरात टाइटन्स) विकेट – १९
२८ वर्षीय बलर रवि श्रीनिवासन साई कृष्णले यो आइपिएलमा १९ विकेट लिएका छन् । तर, उनी सम्मिलित गुजरात टाइटन्सको यात्रा भने इलिमिनेटरबाट माथि बढ्न सकेन । टोली मुम्बईसँग पराजित भएको थियो । यद्यपि, यी बलरले उत्कृष्ट प्रदर्शन गर्दै १९ विकेट लिएका छन् । दुई खेल बाँकी रहँदा धेरै विकेट लिने खेलाडीको पाँचौँ स्थानमा रहे । किशोरले यस सिजन आफूलाई चर्चामा ल्याउन सफल भएका छन् ।