
पछिल्लो सीमांकन तथा नक्सांकनपछि तालको क्षेत्रफल एक हजार दुई सय १३ रोपनी बढ्यो, पोल गाड्न सुरू
पोखरास्थित फेवातालको क्षेत्रफल १२ हजार चार सय ६८ रोपनी कायम भएको छ । तालको सिमाना यकिन गर्न जिपिएस र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरी तयार प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ सय रोपनी बढेको पोखरा महानगरपालिका नापी शाखा प्रमुख सर्वेक्षक वासुदेव पौडेलले बताए । सर्वेक्षणका क्रममा २५ वटा मुख्य आधार विन्दुमा ४० सेमि उचाइका पिलर जमिनमुनि गाडिएको र त्यसकै आधारमा पाँच हजार नियन्त्रण बिन्दु कायम गर्दै फेवातालको ताल घर र ६५ मिटरभित्रको क्षेत्रसमेत यकिन गरिएको उनको भनाइ छ ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड, विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययनपछि तालमा पानीको उच्चतम बहाव÷सतह ७५४.९५ मिटर कायम गरिएको र सोही विन्दुलाई हाइफ्लड लेभल आधार मान्दा तालको तालघर ६ हजार ३४३ वर्गमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको पौडेलले बताए ।
यसअघि पुण्यप्रसाद पौडेल संयोजकत्वको फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले तालको क्षेत्रफल पाँच हजार ७२६ वर्गमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना १ पैसा कायम गरिएको थियो । ६ वर्षपछि गरिएको नयाँ नापजाँचपछि तालको तालघर ६ हजार ३४३ वर्गमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको हो । पछिल्लो सीमांकन तथा नक्सांकनपछि तालको क्षेत्रफल एक हजार दुई सय १३ रोपनी बढेको हो ।
तालघरको सिमाना यकिनपछि सर्वोच्च अदालतले तोकेको ६५ मिटरसमेतको तालको कुल क्षेत्रफल भने ७६१६ वर्गमिटर अर्थात् १४ हजार ५७० रोपनी ५ आना २ दाम हुन आएको छ । तालघरभित्रको सिमाना छाडेर तालघरबाहिर अर्थात् तालघर सिमानादेखि ६५ मिटरभित्र पर्ने जग्गाको क्षेत्रफल दुई हजार ५०२ रोपनी ५ आना छ ।
पोखराको फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले ४ असार ०८० मा जारी गरेको उत्प्रेषणयुक्त परमादेशअनुसार तालघरको सिमाना यकिन गरी पोल गाड्न सुरु गरिएको छ । फेवातालको उच्च बहावको विन्दु कायम गरी पोल गाड्न थालिएको हो । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराहीघाटमा एक नम्बर पोल गाडेर कार्यक्रमको सुरुवात गरेका छन् ।
पोखरा महानगरका मेयर धनराज आचार्यले दुई नम्बर र संघ सरकारको प्रतिनिधि एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले तेस्रो नम्बरको पोल गाडेका थिए । शनिबार सातवटा पोल गाडिएको छ ।
तालघरको सिमाना यकिन गर्न जिपिएस र ड्रोन सर्भेमार्फत डिटेल सर्वेक्षणको क्रममा तालघरभित्र एक हजार ५५ वटा डिजिटल पोल गाडिएको र सोही स्थानमा शनिबारदेखि भौतिक रूपमा पोल गाड्न सुरु भएको र एक हजार ५५ वटा पोल गाडिने पौडेलले बताए ।
यसअघि १६ वैशाख ०७५ मा सर्वोच्चले फेवाताल किनारको ६५ मिटरभित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न निर्देशनात्मक आदेश दिँदै तालको मापदण्ड ६ महिनाभित्र तोक्न भनेको थियो ।
पोल गाडेपछि दोस्रो चरणमा जग्गाको अवस्था अध्ययन गरिने
फैसला कार्यान्वयन सहजीकरण समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पाण्डेले अदालतको आदेशअनुसार तालको संरक्षण सुरु भएको बताए । तालघरमा पोल गाड्ने काम सम्पन्न गरेर जग्गाको अवस्था अध्ययन गर्ने उनको भनाइ छ । अध्ययनपछि मुआब्जा दिनुपर्ने–नपर्ने, दूषित दर्ता, ३१ साल अघिपछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायत यकिन गर्ने पाण्डेले बताए । सर्वोच्चले ०३१ भन्दा अघि दर्ता भएर तिरो तिरेको जग्गाको मुआब्जा दिने र त्यसपछि दर्ता भएका जग्गा खारेज गरी तालको नाममा ल्याउन आदेश गरेकाले पोल गाड्ने काम सकिएपछि सोहीअनुसार अघि बढ्ने उनले बताए । तालमा पोल गाड्ने अभियान सुरुसँगै स्थानीयले विरोध गरेका थिए । स्थानीयसँग समन्वय नगरी काम अघि बढाएको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् । स्थानीयको विरोधपछि शनिबार पोल गाड्ने कामसमेत रोकिएको थियो ।