
पारिवारिक माहोलबाटै पढ्न सिकेँ । बुबाले अध्यात्म दर्शनका पुस्तक धेरै पढ्ने भएकाले मनुस्मृति, सत्यार्थ प्रकाशजस्ता किताब घरमा आउँथे । त्यस वेला काठमाडौंको गीता अध्ययन मण्डलबाट निस्कने मासिक, द्वैमासिक पत्रिका हाम्रो घरैमा आइपुग्थ्यो । समसामयिक संकलन पनि आउँथे । ती पढियो । विद्यालयमा पनि पाठ्यक्रममा आधारित पुस्तक पढियो । अक्षरहरूसँग परिचय भएपछि आफू पनि लेखन कर्मतिर लागेँ । त्यसपछि पढ्नु जीवनको एउटा अंग नै बन्यो । अहिले पाँचाैँ कवितासंग्रह प्रकाशनको तयारीमा छु ।
आमा : मैले मार्क्सवादी पुस्तकहरू धेरै पढेँ । यसक्रममा मार्क्सवादी लेखक म्याक्सिम गोर्की, आन्तोन चेखब, लियो टोल्स्टोयलाई पढेँ । यही क्रममा आमा उपन्यास पढेँ । पुस्तकमा रुसको मजदुर वर्गको सत्ता स्थापनाको कथा छ । गोर्कीको यो पुस्तकले मजस्ता वामपन्थीको मन त जित्यो नै, लेखाइले गर्दा गैरवामपन्थीले पनि रुचाएको पुस्तक हो ।
क्राइम एन्ड पनिस्मेन्ट : यो पुस्तक रुसी साहित्यकार फ्योदोर दोस्तोएभ्स्कीले लेखेका हुन् । यसमा मानव मनोविज्ञानलाई सूक्ष्म रूपले विश्लेषण गरिएको छ । उपन्यासमा कसरी मान्छे आफ्नो कर्मले दण्डित हुन्छन् भन्ने देखाइएको छ । जो मान्छे अपराधी हुन्छ, उसले जस्तै कोसिस गरे पनि अपराध लुकाउन सक्दैन । अपराधी व्यक्ति आफैँबाट पनि दण्डित हुन्छ भन्ने पुस्तकमा पढ्न सकिन्छ ।
गोदान : भारतीय साहित्यकार मुन्सी प्रेमचन्द्र (धनपत राय श्रीवास्तव)ले यो पुस्तक लेखेका हुन् । यो उपन्यास सन् १९३६ मै प्रकाशित भएको थियो । पुस्तकमा भारतीय श्रमजीवीको अवस्था र जीवनयापनको तरिकाबारे उल्लेख छ ।
आमाको सपना : यो कविता संग्रह प्रगतिवादी साहित्यकार गोपालप्रसाद रिमालले लेखेका हुन् । पुस्तकले ०१९ सालमै मदन पुरस्कार जितेको थियो । ७१ पृष्ठको यो संग्रह साझा प्रकाशनले प्रकाशन गरेको हो । संग्रहमा परिवर्तनका कविता संग्रहित छन् । नेपाली साहित्यमा उनले नै पहिलो गद्य शैलीको प्रयोग गरेका थिए ।
घुम्ने मेचमाथि अन्धो मान्छे ः यो कविता संग्रह भूमि शेरचनले लेखेका हुन् । व्यंग्यात्मक कवि शेरचनले चाकडी र चाप्लुसीलाई मध्यनजर गरेर लेखेका छन्:
प्रत्येक पहेंलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ ।
प्रत्येक रंगीन चरालाई वनको मजुर भन्न मन लाग्छ
चाकरी गर्दागर्दै यस्तो बानी परिसक्यो अब त
कुनै गधालाई भेटे पनि उसलाई हजुर भन्न मन लाग्छ ।
उनको व्यंग्य कविताले तत्कालीन सत्ता, सत्ताको वरपर बस्नेले पाउने फाइदा, चकडीबाज, चाप्लुसीले नै अवसर पाउने प्रणालीलाई इंगित गर्छ । ००७, ०१७, ०४६ सालको क्रान्तिपछि पनि खासै परिवर्तन भएन भन्ने कविको असन्तुष्टि कवितामा देखिन्छ ।
प्रेमपिण्ड : नाटककार बालकृष्ण समले लेखेका नाटक हो प्रेमपिण्ड । पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको थियो । नाटक प्रेमकै बारेमा लेखिएको छ । यसलाई स्नातकोत्तर गर्ने क्रममा पढेको हुँ । पुस्तकमा प्रेमकै दर्शन पाउन सकिन्छ । उनको शैलीमा स्तरीयता हुन्छ, त्यसैले पनि यो पुस्तक मलाई मन पर्यो ।
सुम्निमा : पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित यो पुस्तक मलाई मन परेकामध्येको एक हो । यो उपन्यास पुरानो मिथकमा आधारित छ । उपन्यासमा बाहुन सोमदत्त र जनजाति सुम्निमाबिचको यौन मनोविज्ञानलाई विश्लेषण गरिएको छ । मलाई बिपीको लेखन शैली र विषयवस्तुलाई प्रस्तुत गर्ने तरिका मनपर्छ ।
आगोनेर उभिएको मानिस : आगोनेर उभिएको मानिस विमल निभाकृत कृति हो । यो कृति ०४० सालमै प्रकाशित भएको हो । कविता व्यंग्यात्मक शैलीमा लेखिएको छ । तत्कालीन राज्य सञ्चालकप्रति व्यंग्य गरिए पनि अहिले पनि सान्दर्भिक छ । कृति दर्शनबाट प्रभावित छ । योबाहेक उनका चौथो कलम, छेउको वधशालाजस्ता निबन्ध संग्रह पनि मलाई मन पर्छन् ।