
ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा फिचर थप गरेको छ । बैंकले मोबाइल एपमार्फत ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।
योसँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा खरिद गर्न अमेरिकी डलर आफ्नै मोबाइलबाट तुरुन्तै कार्डमा लोड गर्न सकिने भएको छ । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।
रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको छ । भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङमार्फत टप–अप गर्दा भने कुनै शुल्क लाग्दैन ।
ई–कम डलर कार्डमार्फत वार्षिक अधिकतम पाँच सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।