Skip This
खेलकुदमा अहिलेसम्मकै धेरै बजेट : फुटबल र भलिबललाई भने उपेक्षा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ १६ शुक्रबार o८:o२:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट : फुटबल र भलिबललाई भने उपेक्षा

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार o८:o२:oo

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि ४० करोड

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०८२/८३ को बजेटमा युवा तथा खेलकुद क्षेत्रतर्फ ६ अर्ब आठ करोड बजेट विनियोजन गरेका छन् । पछिल्लो पाँच वर्षयता यसपटक खेलकुदमा बजेटको आकार बढेको हो । गत आर्थिक वर्षमा युवा तथा खेलकुदतर्फको बजेट तीन अर्ब ५० करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यसपटक २ अर्ब ५८ करोड बढी हो ।

यसपटक खेलकुद क्षेत्रको बजेटमा ७३.७१ प्रतिशत वृद्धि भएको छ । यसअघि युवा तथा खेलकुदका लागि उच्च बजेट आर्थिक वर्ष ०७६/७७ मा ३ अर्ब ९९ करोड रुपैयाँ थियो । सरकारले क्रिकेटको भौतिक निर्माणलाई विशेष प्राथमिकतामा राख्दा फुटबल र राष्ट्रिय खेलसमेत रहेको भलिबल प्राथमिकतामा परेन ।

साथै, नेपालको मौलिक एवं परम्परागत बाघचाल, डन्डीबियो, घोडचढीजस्ता खेललाई बजेटमा समावेश गरिएन । आर्थिक वर्ष ०८२/८३ मा सरकारले ६ मैदानका लागि बजेट छुट्याएको छ । खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदको बजेट उत्साहजनक रहेको प्रतिक्रिया दिए । यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पनि उत्साहपूर्ण बजेट आएको बताए । ‘सरकारले यसपटक खेलकुदलाई प्राथमिकतामा राखेको छ । बजेट उत्साहपूर्ण आएको छ,’ घिसिङले भने ।

त्रिवि क्रिकेट मैदानलाई ४० करोड
सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्न ४० करोड बजेट विनियोजन गरेको छ । ‘त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गर्न ४० करोड छुट्याइएको छ,’ अर्थमन्त्री पौडेलले भने । हाल फ्लड लाइट र १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण कार्य भइरहेको छ । सन् १९९८ मा बनेको सो मैदानले २७ वर्षपछि प्यारापिट र फ्लड लाइट पाउन लागेको हो । यस वर्ष प्यारापिट बनाइने र अर्को वर्ष त्यसमा छानो हाल्ने लक्ष्य राखिएको छ ।

सरकारले मूलपानी, फाप्ला, सिद्धार्थ क्रिकेट रंगशालासँगै गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरेको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि ससर्त अनुदानको व्यवस्था गरिएको छ । अहिले यो मैदान केन्द्र र प्रदेशको अनुदानमा महानगरले निर्माण गरिरहेको छ । यसअघि आर्थिक वर्ष ०८१/८२ को बजेटमा पनि सरकारले मूलपानी र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने जनाएको थियो । 

तीन जिल्लामा हाई अल्टिच्युड स्पोर्टस् रंगशाला 
अर्थमन्त्री पौडेलले बजेट भाषणमा तीन जिल्लामा हाई अल्टिच्युड स्पोर्टस् रंगशाला निर्माणको घोषणा गरेका छन् । सोलुखुम्बु, मुस्ताङ र जुम्लामा अब हाई अल्टिच्युड रंगशाला बन्ने भएको हो । सरकारले यसअघि हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको घोषणा गरे पनि अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन । जुम्लाको पातारासी गाउँपालिकाको लौठचौरमा कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको डिपिआर तयार भइरहेको छ ।

‘खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवर्द्धन गर्न सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्टस् स्टेडियम बनाइनेछ,’ पौडेलले भने । यी तीन जिल्ला हाई अल्टिच्युड सेन्टर स्थापना गर्नका लागि उपयुक्त मानिएको छ । कर्णालीमा रंगशाला बनाउन १७ करोड लागत अनुमान गरिएको थियो ।

झापामा अन्तर्राष्ट्रिय रंगशाला
क्रिकेटको पूर्वाधारमा उल्लेखनीय बजेट बढ्दा फुटबल प्राथमिकतामा परेन । तर, अर्थमन्त्री पौडेलले बजेट भाषणमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा नयाँ अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने बताएका छन् । सरकारले दमकमा सबै खेल आयोजना गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गरिने बताएको छ । यसको विस्तृत योजना सार्वजनिक भएको छैन । 

खेलाडीका सन्ततिलाई शैक्षिक छात्रवृत्ति
सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । यस्ता खेलाडी र उनीहरूका सन्ततिलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिने जनाएको छ । खेलाडी र प्रशिक्षकलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिनेसमेत निर्णय गरेको छ । यसैगरी, नेपाली खेलकुदमा अत्यावश्यक मानिएको एन्टिडोपिङ एजेन्सी सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

सरकारले खेल क्षेत्रमा महिला सहभागिताको वृद्धि गर्न महिलालक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कारको विशेष व्यवस्था गरिनेछ । प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । यसैगरी, खेलकुद पूर्वाधारमा एक  प्रतिशत मात्रै कर लगाउने भएको छ । अर्थमन्त्री पौडेलले पूर्वाधार बनाउँदा फुटबल, क्रिकेट, आवश्यक पर्ने यन्त्र, उपकरण तथा खेल सामग्रीमा पैठारीमा एक प्रतिशत भन्सार कर लगाउने बताएका हुन् । 

दसौँ राष्ट्रिय खेलकुद गर्न ५४ करोड

सरकारले सुर्खेतको वीरेन्द्रनगरमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरेको छ । तीनपटकसम्म स्थगित भएको प्रतियोगिता आयोजना गर्न सरकारले ५४ करोड बजेट छुट्याएको छ । गत वर्षको बजेट भाषणमा सरकारले राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

‘सुर्खेतको वीरेन्द्रनगरमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुल ५४ करोड बजेट विनियोजन गरेको छु,’ उनले भने ।  सरकारले ३ देखि १० जेठसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । तर, खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्षको २९ चैतमा प्रतियोगिता नहुने घोषणा गरेका थिए । खेलकुदमन्त्री चौधरीले प्रतियोगिता तयारीको सन्दर्भमा ११ उपसमिति गठन गरिसकेका थिए । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चौधरीले तीनपटक मिति सारिसकेका छन् ।

सुरुमा २ देखि ९ मंसिरसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । त्यसपछि प्रतियोगिता गत वर्षको २३ देखि ३० चैतसम्म आयोजना गर्ने निर्णय गरिएको थियो । मन्त्री चौधरीले त्यसलाई पनि सारेर जेठ पहिलो सातामा पुर्‍याएका थिए ।

कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी लिएको हो । प्रदेश सरकारले झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।