Skip This
हार्वर्डमाथिको आक्रमण र गिर्दो अमेरिकी साख
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
थोमस गिफ्ट
२o८२ जेठ १५ बिहीबार ११:१२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हार्वर्डमाथिको आक्रमण र गिर्दो अमेरिकी साख

Read Time : > 2 मिनेट
थोमस गिफ्ट
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार ११:१२:oo

‘अमेरिका फर्स्ट’को नीतिका कारण अमेरिका विश्वबाट पछाडि हट्दै गर्दा हार्वर्डसँगको विवादले देशको अन्तर्राष्ट्रिय छविलाई थप कमजोर बनाउन सक्छ

हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई निष्कासित गर्ने ट्रम्प प्रशासनको प्रयासविरुद्ध मुद्दा हालेको छ । प्रशासनले १० करोड अमेरिकी डलरबराबरको संघीय कोष कटौती गर्ने चेतावनी दिएको छ । यद्यपि, यो आदेश हाललाई रोकिएको भए पनि विश्लेषकले अमेरिकाको विश्व प्रतिष्ठामा पर्ने प्रभावबारे भने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

म गत दशकदेखि हार्वर्ड समर स्कुलमा पनि विश्वव्यापीकरणसम्बन्धी विषय पढाउँदै आएको छु, जसमा विशेषतः विकासशील मुलुकका अन्तर्राष्ट्रिय विद्यार्थी सहभागी हुन्छन् । उनीहरूले कक्षामा फरक दृष्टिकोण ल्याउँछन्, जसले छलफललाई समृद्ध बनाउँछ र सबै विद्यार्थीको बुझाइलाई गहिरो बनाउँछ । यी विद्यार्थीविना कक्षा शान्त मात्र नभई दृष्टिकोणका हिसाबले पनि कमजोर हुन्छ । ट्रम्पको यो कदमप्रति मेरो चिन्ता केवल अन्तर्राष्ट्रिय विद्यार्थीका लागि होइन । हार्वर्डसहित अमेरिकी विश्वविद्यालयले दशकौँदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्दै आएका छन् । यी विद्यार्थीको उपस्थितिले प्राज्ञिक, सांस्कृतिक, आर्थिक र कूटनीतिक दृष्टिले पनि अमेरिकाभित्र र बाहिर बहुआयामिक लाभ प्रदान गर्छ ।

पहिलो लाभ लोकतन्त्रको विस्तार हो । अमेरिकाका लागि विश्वविद्यालय केवल आर्थिक इन्जिन मात्र होइनन्, यी देशको लोकतान्त्रिक मूल्यको प्रतिबिम्ब पनि हुन् । हार्वर्ड वा यस्तै अन्य विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी विशेषतः ती विद्यार्थी जो उन्नत आर्थिक सहकार्य र विकास संगठन (ओइसिडी) मुलुकबाहिरबाट आएका हुन्छन् । प्रायः विद्यार्थी अध्ययन सकिएपछि आफ्नो देश फर्कन्छन् र राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउने स्थितिमा पुगिसकेका हुन्छन् ।

मेरो आफ्नै अनुसन्धानले अधिनायकवादी क्षेत्रका विद्यार्थीले पश्चिमी विश्वविद्यालयमा पढेपछि लोकतान्त्रिक मूल्य अँगाल्ने सम्भावना बढी हुने देखाउँछ । उच्च शिक्षा प्राप्त यी विद्यार्थीमा आर्थिक विकास बढाउने प्रवृत्ति पनि देखिन्छ । यी दीक्षित विद्यार्थीका व्यक्तिगत सम्बन्धले पनि उनीहरूलाई लोकतन्त्र समर्थक अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्छ । उदाहरणका लागि लाइबेरियाकी पूर्वराष्ट्रपति एलेन जोनसन सर्लिफले हार्वर्ड केनेडी स्कुलमा अध्ययन गरेकी थिइन् । त्यसपछि उनी सन् २००६ देखि २०१८ सम्म आफ्नो देशकी राष्ट्रपति भइन् । अफ्रिकाको पहिलो निर्वाचित महिला राष्ट्रप्रमुखका रूपमा सर्लिफले सन् २०११ मा ‘शान्तिको प्रवर्द्धन र महिला अधिकारका लागि गरिएका अहिंसात्मक प्रयास’बापत नोबेल शान्ति पुरस्कार नै पाइन् । दोस्रो लाभ भनेको सौम्य शक्तिको प्रदर्शन पनि हो । अमेरिकाका उत्कृष्ट विश्वविद्यालय तिनै हुन्, जसले हार्वर्डका दिवंगत राजनीतिक वैज्ञानिक जोसेफ नाईले भनेको ‘सफ्ट पावर’ (सौम्य शक्ति) को महत्वपूर्ण अंगका रूपमा काम गर्छन् । सौम्य शक्तिले अमेरिकाजस्ता पश्चिमा राष्ट्रले विश्वमा गोली र ट्यांकविनै कसरी प्रभाव जमाउँछन् भन्ने जनाउँछ । यो एक किसिमको वैदेशिक सम्बन्धको दृष्टिकोण हो, जसले ‘मन र मुटु जित्दै’ अमेरिकी संस्कृति प्रस्तुत गर्छ ।

हार्वर्ड अमेरिकी उच्च शिक्षाको मात्र नभई सम्पूर्ण अमेरिकाको एक प्रमुख ब्रान्ड (पहिचान) हो । सामान्य रूपमा हेर्दा पनि अमेरिकी विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक सूचकांकमा वर्चस्व जमाएका छन् । उदाहरणका लागि क्युएस वर्ल्ड र्‍यांकिङका शीर्ष २५ मध्ये १० विश्वविद्यालय अमेरिका आधारित छन् । यसले विश्वविद्यालयलाई अमेरिकाका लागि महत्वपूर्ण राजदूतको भूमिकामा राख्छ ।

हार्वर्डले एक सय ४० भन्दा बढी मुलुकका विद्यार्थीलाई आकर्षित गर्ने कारण पनि यही हो । यो विश्वविद्यालय ती विद्यार्थीका लागि चुम्बक बनेको छ, जो विश्वका सर्वोत्तम र प्रतिभावान्सँग प्रतिस्पर्धा गर्दै आफूलाई परीक्षण गर्न चाहन्छन् । तेस्रो लाभ भनेको विश्वविद्यालयले अमेरिकी अर्थतन्त्रलाई पनि उकास्छ । अमेरिकाका शीर्ष विश्वविद्यालयबाट स्नातक भएका धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकी श्रम बजारमा योग्य जनशक्तिको अभावको अवस्थामा उद्यमी बन्ने वा एप्पल, गुगल, मेटाजस्ता अग्रपंक्तिमा रहेका कम्पनीमा काम गर्ने गर्छन् ।

अमेरिकाको कार्यकारी वर्गको उच्च तहमा समेत यस्ता नेता छन्, जो कुनै समय अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका थिए । उदाहरणका लागि टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले पेन्सिल्भेनिया विश्वविद्यालयमा अध्ययन गरेका थिए र माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले सिकागो विश्वविद्यालयमा अध्ययन गरेका थिए ।

नेसनल फाउन्डेसन फर अमेरिकन पोलिसीका अनुसार अमेरिकामा कम्तीमा एक अर्ब डलर मूल्य भएका करिब २५ प्रतिशत कम्पनीका संस्थापक कुनै समय अमेरिकी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी थिए । अन्तर्राष्ट्रिय विद्यार्थीले प्रायः अमेरिकी विद्यार्थीभन्दा बढी शुल्क तिर्छन्, जसले घरेलु विद्यार्थीका शैक्षिक तथा अन्य कार्यक्रमलाई टेवा दिन्छ र हार्वर्डजस्ता संस्थाको साख उच्च राख्न सहयोग पुर्‍याउँछ । एसोसिएसन अफ इन्टरनेसनल एजुकेटर्सका तथ्यांकअनुसार सन् २०२३–२४ मा अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४३ अर्ब ८० करोड डलरको योगदान गरेका छन् र तीन लाख ७८ हजारभन्दा बढी रोजगारी सिर्जना गरेका छन् ।

द इकोनोमिस्टका सम्पादक जोन प्रिडो यो मामिला राजनीतिक भएको बताउँछन् । ‘यदि तपाईं ट्रम्प प्रशासनको विरोध गर्नुहुन्छ भने उनीहरू तपाईंलाई तारो बनाउँछन्,’ प्रिडो भन्छन् । हार्वर्डका पूर्वअध्यक्ष लेरी समर्सका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीमाथिको प्रतिबन्ध अमेरिकाको वैश्विक छविका लागि विनाशकारी हुनेछ, किनभने हार्वर्डजस्ता विश्वविद्यालय प्रेरणादायी प्रकाशझैँ अझै चम्की नै रहेका छन् । ‘अमेरिका फर्स्ट’को अलगाववादी नीतिका कारण जब अमेरिका विश्वबाट पछाडि हट्दै छ, हार्वर्डसँगको यो विवादले देशको अन्तर्राष्ट्रिय छविलाई थप कमजोर बनाउने खतरा छ ।

(गिफ्ट युनिभर्सिटी कलेज अफ लन्डन अमेरिकी राजनीति अध्ययन केन्द्रका निर्देशक एवं सहप्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट