
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३, त्रिभुवन राजपथ सडकखण्डमा यात्रुबाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।
दुर्घटनामा परी थाहा–९ का लेखापढी व्यवसायी ४० वर्षका कृष्ण बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर भई हाल झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा झम्केश्वरी माविकै शिक्षक अन्दाजी ३५ वर्षका रघुनन्दन यादव र मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह गम्भीर घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
घटनामा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन्। उनीहरूको पालुङस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताए।
मकवानपुर प्रहरीका अनुसार पालुङको गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा३ख ५९९० नम्बरको बस अचानक ब्रेक फेल भई सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो।
दुर्घटनापछि बसका चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।