
अन्तर्राष्ट्रिय पर्यटन मेला हिमालयन ट्राभल मार्टको पाँचौँ संस्करण २० देखि २२ जेठसम्म काठमाडौंमा आयोजना हुने भएको छ।
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत प्रमुख पर्यटन संघ संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा मार्ट हुन लागेको हो।
हिमालयन ट्राभल मार्टका संयोजक एवं पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तर्राष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पर्यटन मेला आयोजना हुन लागेको बताए। मार्ट मेलामा एक सयभन्दा बढी विदेशी पाहुनासहित नेपालका सार्वजनिक तथा निजी क्षेत्रमा आबद्ध पर्यटनकर्मी तथा सरोकारवालासहित सात सयभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने आयोजकले जनाएको छ।
सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुँदै आएको मार्ट नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो।
पाटाका अध्यक्ष खेम लकाईले एचटिएमलाई साच्चै विश्वस्तरीय पर्यटन कार्यक्रममा रूपान्तरण गर्ने गरी प्राथमिकता दिइने बताए।