१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
Invalid date format २o:४७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

युवा संघ महाधिवेशन : अझै सुरु भएन मतदान प्रक्रिया

पार्टी अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी पक्षका दुई प्यानल मैदानमा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४७:oo

नयाँ नेतृत्व चयनका लागि पोखरामा जारी युवा संघको १०औँ राष्ट्रिय महाधिवेशनले मतदानमार्फत नेतृत्व चयन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरे पनि मतदान प्रक्रिया भने सुरु हुन सकेको छैन।

एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न र हालका अध्यक्ष क्षिजित थेबेलाई नै दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउन निर्देशन दिए पनि अधिवेशनमा सहभागीहरूले निर्वाचनमार्फत नेतृत्व चयन गर्न पाउनुपर्ने भन्दै निर्वाचन प्रक्रियामा गएको हो।

यसअघि, आइतबार जारी सूचनाअनुसार उम्मेदवारी दर्ता गर्ने समय राति ६ बजेसम्म मात्र रहेको थियो। तर, केही ढिलाइ हुँदा करिब ९ः २० मा मात्र मनोनयन दर्ता सकिएको थियो। सूचनाअनुसार आइतबार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम राति ८.१५ बजे सम्पन्न गर्ने र सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान गर्ने भन्ने थियो । तर, उम्मेदवारी दर्ता मात्र गरेर अन्य प्रक्रिया सुरु हुन सकेको थिएन। बाँकी अन्य प्रक्रिया पूरा गरेर सोमबार मतदान सुरु हुन्छ भने पनि सोमबार साँझ करिब पौनै ७ बजेतिर मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ।

मुख्य निर्वाचन अधिकृत मदन तिवारीका अनुसार निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो । अब सर्वपक्षीय बैठक बसेर आचारसंहिता तयार गरी मंगलबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने उनको भनाइ छ। 

शुक्रबार सुरु भएको अधिवेशनमा सोही दिन बन्दसत्रमा केन्द्रले पठाएको नयाँ नेतृत्वको नाम पढेर सुनाउने तयारी गरेपछि सहभागीहरूले विरोध गरेका थिए । शनिबार साँझदेखि निर्वाचनको माग गर्दै नाराबाजी गरे पनि आइतबार साँझ मात्र निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बाध्य भएको थियो ।

हालकै अध्यक्ष थेबेलाई अध्यक्ष बनाउने तयारी पार्टीले गरेपछि अध्यक्षका दावेदार सुमन पुरी पक्षधरसहित अन्यले त्यसको विरोध गर्दै निर्वाचनको माग राख्दै नाराबाजी गरेका थिए । 

ओली र भण्डारी पक्षका गरी दुई प्यानल मैदानमा
हालका अध्यक्ष क्षिजित थेबे र महासचिव सुमन पुरीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । थेबे एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको अडानका कारण मतदान प्रक्रिया सुरु हुन नसकेको स्रोतको दाबी छ । पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको छ । पार्टी अध्यक्षले थेबेलाई अध्यक्षमा दोहोर्याउने तयारी गरेपछि भण्डारी पक्षले पुरीलाई साथ दिएको हो।

११ जेठ अर्थात् आइतबार सकिने भनिएको महाधिवेशन निर्वाचन प्रक्रिया नसकिँदा लम्बिएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजारजना प्रतिनिधि पोखरा आएका छन् ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव, उपमहासचिव, सचिव चारजनासहित नौजना पदाधिकारी र १५१ सदस्य निर्वाचित गर्नेछ । सँगै निर्वाचन, अनुशासन, युवाविज्ञ र लेखा आयोगका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव निर्वाचनमार्फत चयन हुनेछन् ।

निर्वाचनमा क्षितिज समूहबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मोबिन आलम, मदन भण्डारी, देबु बस्नेत र निशा लिम्बूले उम्मेदवारी दिएका छन् ।

यसैगरी, पुरी समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्मा, सचिवमा रेशु तामाङ, चित्ररञ्जन यादव, ध्रुव खड्का र अरुण कुँवरले उम्मेदवारी दिएका छन्।

प्रतिनिधि भन्छन्– हामी बन्धक भयौँ
महाधिवेशनमा सहभागी एक प्रतिनिधिले तालिकाअनुसार काम नहुँदा आफूहरूलाई बन्धक बनाइएको गुनासो गरे । शुक्रबार केही समय बन्दसत्र भए पनि अरू केही नभएको उनले बताए । ‘जे गर्ने हो समयमा गर्नुपर्छ, मलगायत साथीहरू त्यसै बसेको दुई दिन भैसक्यो, निर्वाचन प्रक्रिया सुरु भएपछि मतदानमा सहभागी नभई के जाने भनेर घर नगई यही बस्याैँ, तर न तालिकाअनुसार काम हुन्छ, न विर्वाचन । हामी त बन्धक जस्तौ भयाैँ । प्रतिनिधि भएर आइयो, नयाँ नेतृत्वको छिनोफानो गरेर जाने भनेर बसेको यसो हेर्दा त बस्नु मात्र होला जस्तै हुन्छ कि जस्तो लागेर आयो । मंगलबार मतदान हुने भनिएको छ, भए ठिकै छ मत राखौँला, नभए घर जाने हो ।’

उम्मेदवारी फिर्ता लिन दबाब
अर्का एक प्रतिनिधिका अनुसार आवश्यकभन्दा बढी उम्मेदवार परेका पदमा उम्मेदवारी झिक्न अध्यक्षका उम्मेदवार थेबे पक्षबाट दबाब आएको छ । उम्मेदवारहरू बसेको होटेल होटेलमा गई उनीहरूले उम्मेदवारी फिर्ताका लागि दबाब दिएको उनले जानकारी दिए।