
तीनवटा प्राविधिक शिक्षालयका तीन विद्यार्थी कोशी प्रदेश स्किल आइकन हुन सफल भएका छन्। उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुई दिनसम्म विराटनगरमा सञ्चालन भएको कोशी प्रदेशस्तरीय सिप उत्सव ०८२ मा तीन जना विद्यार्थी स्किल आइकन बन्न सफल भएका हुन्।
स्किन आइकन हुनेहरूमा अटोमोबाइलमा मनमोहन स्मृति पोलिटेक्निक हातिमुडा मोरङका चन्द्रदेव यादव होटेल मेनेजमेन्टका नरबहादुर कर्माचार्य, बहुप्राविधिक विद्यालय सुनसरीका विवश कोइराला र सूचना प्रविधितर्फ पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठान झापा दमककी सोनम नेम्वाङ छन्।
तीनैजना स्किल आइकन विजेतालाई उद्योग संगठनका अध्यक्ष राकेश सुराना र इन्स्योर हेल्भिटासका टिम लिडर रवीन्द्रबहादुर सिंहले नगद र प्रमाणपत्र प्रदान गरेका छन्।
कोशी प्रदेशमा सिप विकास, उद्योग र रोजगारबिचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबिच संवाद र समन्वयका लागि अटोमोबाइल्स, सूचना प्रविधि र होटेल म्यानेजमेन्ट गरी तीन विधामा सिप प्रतिस्पर्धा गराइएको थियो।
उत्सवको पहिलो दिन पूर्वबाल विकास सहजकर्ता, सूचना प्रविधि, होटेल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा ६ सयभन्दा बढी युवालाई प्रत्यक्ष तालिमको अनुभव गराई प्रमाणपत्र प्रदान गरिएको थियो।
यसैगरी, सोही दिन उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा १२ सयभन्दा बढी विद्यार्थी तथा युवालाई विभिन्न सत्रको माध्यमबाट प्रेरणा, वृद्धि परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन गरिएको उद्योग संगठन मोरङले जनाएको छ।