१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग

नाचघरमा दोलखा नेवार भाषामा नाटक ‘मिसामी’ मञ्चन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

काठमाडौंको रंगमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ। डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रंगकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको हो।

न्युयोर्क विश्वविद्यालय आबुधाबीमा सन्दर्भ सामग्रीको रूपमा रहेको ५० वर्षअघि लिखित यस नाटकलाई न्युयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियानअन्तर्गत दस्ताबेजीकरणका लागि नाटक मञ्चन भएको हो।

नाटक हेर्न उक्त विश्वविद्यालय आबुधाबी शाखामा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरू नेपाल आएका थिए। उनीहरूले नाटक निर्माणको प्रक्रियासमेत अध्ययन–अवलोकन गरेका थिए। करिब ३० वर्षअघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीको समूह नेपाल आएका हुन्। 

नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालीन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ। ०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दसैँको खड्गजात्राको दिन मञ्चन भएको थियो। हाल न्युयोर्क विश्वविद्यालयका लागि न्युज नेपाल प्रालिले ‘मिसामी’लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो। 

दोलखा र काठमाडौंका कलाकारहरूको संयुक्त सहभागिता रहेको नाटकको मुख्य भूमिकामा कलाकारहरू सुशीलालक्ष्मी महर्जन, सुलोचना चाकुबजी मानन्धर र अमिर ताम्रकार थिए। साथै, अन्य भूमिकामा सुजना श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकुबजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठले अभिनय गरेका थिए। निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रूपमा दीपनारायण श्रेष्ठले सघाएका थिए। 

नाटक मञ्चनसँगै नेपालका प्रख्यात कलाकार तथा निर्देशक नीर शाह, प्राडा क्यारोल जेनेट्टी, दोलखा भाषा संरक्षण अभियानका हरिदर्शन श्रेष्ठ तथा लेखक डा. श्याम जोशीले नेपाली व्यावसायिक रंगमञ्चमा दोलखा नेवार भाषामा नाटक मञ्चन हुनु ऐतिहासिक रहेको उल्लेख गरेका छन्।