१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १२ सोमबार १५:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आयात हाेइन, निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाउन सांसदहरूको जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार १५:४८:oo

सांसदहरूले वस्तु तथा सेवाको निर्यात प्रवर्द्धन गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको आजको बैठकमा सदस्यहरूले निकासी पैठारी (नियमन) विधेयक, २०८१ ले निकासीलाई भन्दा पैठारीलाई बढी सहज बनाउने भन्दै केही दफाहरूमाथि टिप्पणी गरे । उनीहरूले दफा (६)को निकासी वा पैठारीसम्बन्धी अन्य व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको छलफलमा कृष्णकुमार श्रेष्ठ, हेमराज राई, रमा कोइराला पौड्याल र कान्तिका सेजुवाललगायत समिति सदस्यहरूले विधेयकमा निकासी वा पैठारीका क्रममा रहेका वस्तु बिक्री गर्न सक्ने व्यवस्थाबारे मन्त्रालयसँग जिज्ञासा राखे । 

सांसद महेन्द्रबहादुर शाहीले भन्सारमा चुहावट नियन्त्रणका लागि पनि निकासी र पैठारीको तादत्म्यता मिल्नुपर्ने सुझाव प्रस्तुत गरे । ‘अहिलेसम्म पनि हामीले आयातलाई बढी मान्यता दिने र त्यसैको ‘सहयोग’मा हाम्रा कानुनहरू बनेका छन्,’ उनले भने, ‘यस्ता गतिविधि हुन नदिन अब घरेलु उत्पादनले प्रवर्द्धन गर्ने किसिमले यो ऐन आउनुपर्छ ।’

बैठकमा समिति सदस्य कान्तिका सेजुवालले कानुन निर्माणलाई सरलीकृत गर्नुपर्ने राय व्यक्त गरिन् । समिति सदस्यहरूले विधेयकको व्यवस्था भन्सार ऐनसँग बाझिनेप्रति सचेत हुनुपर्ने सुझाव राखे । 

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले समयानुकूल संशोधन र एकीकरण गर्न आवश्यकदेखि नयाँ विधेयक तयार गरिएको बताए । विधेयकले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थालाई थप व्यवस्थित, पारदर्शी बनाई निकासी पैठारी हुने वस्तु वा सेवाको नियमन कार्यलाई प्रभावकारी बनाई निकासी पैठारीसम्बन्धी कार्यलाई थप सहजीकरण गर्ने उनको भनाइ थियो ।

विधेयकमा कुनै वस्तुको निकासी वा पैठारी गर्नुअघि विभागबाट संकेत नम्बर लिनुपर्ने, निकासीमा प्रोत्साहन, निर्यात गृह स्थापना, निकासी प्रवर्द्धन कोष, सम्पर्क कार्यालय स्थापना र अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण तथा पारदर्शिता इकाइ गठनको व्यवस्था समावेश गरिएको छ । मेला वा प्रदर्शनीका लागि निकासी वा पैठारी गर्न सकिने र निकासी वा पैठारीका क्रममा रहेको वस्तु बिक्री गर्न सक्ने र एन्ट्रापोट व्यापारसम्बन्धी व्यवस्था छ । 

यसैगरी, यस विधेयकको दफा ६ मा कसैले विदेशी व्यक्तिबाट कच्चापदार्थ वा सहायक कच्चापदार्थ प्राप्त गरी कुनै वस्तुको आंशिक वा पूर्ण रूपमा निर्माण, उत्पादन, प्रशोधन वा डिजाइनमा परिवर्तन गरी तयार भएको वस्तु तोकिएबमोजिमको प्रक्रिया पूरा गरी निकासी गर्न सक्ने व्यवस्था गरेको छ । दफा ६ को उपदफा (४)मा व्यापारिक प्रयोजनका लागि बाहेक नेपालको भूभाग हुँदै अर्को मुलुकमा निकासी गर्ने गरी कुनै वस्तु पैठारी गर्नुपर्दा पैठारीकर्ताले विभागबाट तोकिएबमोजिम पारवहन (ट्रान्जिट) सुविधाको अनुमति लिनुपर्ने व्यवस्था छ ।