१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
रासस दमास्कस
२o८२ जेठ ११ आइतबार १४:२o:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

दसाैँ लाख सिरियाली नागरिक असदको गुप्तचर र सुरक्षा निकायको ‘खोजी सूची’मा

Read Time : > 1 मिनेट
रासस, दमास्कस
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १४:२o:oo

सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएकाे लामो समयदेखिका शासक बसर–अल–असदको गुप्तचर र सुरक्षा निकायले करिब एकतिहाइ जनसंख्यालाई उसको खोजी सूचीमा राखेको बताएका छन्।

‘राजनीतिक कारणले पूर्ववर्ती सरकारले खोजीको सूचीमा राखेका मानिसहरूको संख्या ८० लाख नाघेको छ,’ बाबाले दमास्कसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सिरियाली जनताको लगभग एक तिहाई जनसंख्यालाई पूर्वशासनको दमनकारी गुप्तचर र सुरक्षा एजेन्सीहरूले खोजीको सूचीमा राखेको थियो।’

असदले शान्तिपूर्ण सरकारविरोधी प्रदर्शनमाथि निर्मम दमन गरेपछि सिरियाको गृहयुद्ध सुरु भएको थियो र पछि लाखौँ सिरियालीहरू सुरक्षा सेवाहरूको डरलाग्दो जालमा फसेका थिए। उनीहरूले अभियोजन, दुरुपयोग र अधिकार उल्लंघनको सामना गर्नुपरेको थियो।
 
धेरैले प्रदर्शनमा भाग लिएको वा प्रचार गरेको, राज्यको प्रतिष्ठामा आँच पुर्‍याएको, विदेशी पक्षहरूसँग कुराकानी गरेको वा ‘आतंकवाद’लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गरेको आरोप खेप्नुपरेको थियो। असदले आफ्नो शासनको विरोध गर्ने सबै विद्रोही र समूहहरूका लागि ‘आतंकवाद’ शब्दको प्रयोग गरेका थिए।

लाखौँ सिरियालीहरूलाई जेलमा फ्याँकियो, जहाँ धेरैले यातना भोग्नुपर्‍याे र दसाैँ हजार अझै हराइरहेका छन्। धेरै मानिसहरूले सुरक्षा जाँचचौकीहरूमा हिरासतमा राख्दा वा देश छोड्न खोज्दा मात्र आफूलाई विभिन्न आरोपमा खोजीको सूचीमा राखिएको थाह पाएका थिए किनकि, आरोपहरू प्रायः गोप्य रूपमा जारी गरिन्थ्यो।

इस्लामी नेतृत्वको गठबन्धनले गत डिसेम्बरमा असदलाई उनको परिवारको पाँच दशक लामो कठोर शासनको अन्त्य गर्दै करिब १४ वर्षको कडा युद्धपछि अपदस्थ गरेको थियो।

बाबाको टिप्पणी गृह मन्त्रालयको पुनर्गठनको घोषणाको साइडलाइनमा आएको हो जसमा धेरै नयाँ विभागहरू सिर्जना गरिएको छ। यसमा एक उजुरी विभाग र सिरियाको भूमि र समुद्री सीमाको प्रभारी एक सीमा सुरक्षा निकाय समावेश छ, जसलाई विशेष गरी लागुपदार्थ र मानव तस्करी नेटवर्कको ‘अवैध गतिविधि’को सामना गर्ने काम दिइएको छ।