
संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा कम्युनिस्ट आन्दोलनका अगुवा रत्नकुमारको सहादतस्थल संरक्षण गर्दै सहिद रत्न–बम प्रतिष्ठान
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा मारिएका सहिद रत्नकुमार बान्तवाको सहादतस्थल संरक्षण गर्न थालिएको छ । तत्कालीन मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमारलाई इलामको माङसेबुङ– २ स्थित इभाङमा निरंकुश पञ्चायती राज्यसत्ताले २७ चैत ०३५ मा गोली हानी हत्या गरेको थियो ।
डा. देवी क्षेत्री दुलाल, पूर्वअध्यक्ष, सहिद रत्न–बम प्रतिष्ठान
त्यहाँ फूलबारी बनाउने, प्रज्ञाप्रतिष्ठानको जस्तो डबली बनाउने, रत्नकुमारको हत्या गरिएको ठाउँमा रगत बगेको सिम्बोल बनाउने लक्ष्य छ । तर, बजेट अभावमा काम अघि बढाउन सकेका छैनौँ ।
सहिद रत्न–बम प्रतिष्ठान नेपालले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा कम्युनिस्ट आन्दोलनका अगुवा रत्नकुमारको सहादतस्थल संरक्षणको काम थालेको हो । प्रारम्भिक चरणमा सहादतस्थलमा रत्नकुमार बान्तवाको सालिक निर्माण गर्ने, वरिपरि कम्पाउन्ड बनाएर संरक्षण गर्ने काम गरिएको प्रतिष्ठानका पूर्वअध्यक्ष डा. देवी क्षेत्री दुलालले बताए ।
रत्नकुमारको सहादतस्थल संरक्षणका लागि आर्थिक वर्ष ०७६/७७ मा संघीय सरकारले ३० लाख, ०७९/८० मा प्रदेश सरकारले १० लाख तथा माङसेबुङ गाउँपालिकाले गत आर्थिक वर्षमा पाँच लाख बजेट दिएको पूर्वअध्यक्ष दुलालले बताए । ‘सरकारले दिएको बजेटले सालिक निर्माण, वरिपरि टायल हाल्ने काम, कम्पाउन्डका लागि पर्खाल लगाउने काम गरिएको छ,’ उनले भने, ‘यो प्रारम्भिक संरक्षणको काम मात्र हो । यसमा धेरै काम गर्नुपर्नेछ । यो देहातमा भएका कारण संरक्षणको प्रारम्भिक काम गर्नुअघि एउटा पाखा मात्र थियो । त्यहाँ झाडी थियो । अहिले कम्तीमा रत्नको सहादतस्थल देखिन्छ ।’
उनका अनुसार संरक्षण गर्नुअघि त्यहाँ एउटा चौतारो मात्र थियो । अहिले सामान्य पार्क बनेको छ । रत्नको जन्मस्थल चित्रे, सहादतस्थल इभाङ र अन्त्येष्टि गरिएको स्थल इलाम नगरपालिकालाई सहिद सर्किट बनाउन डिपिआर गरिएको छ । ‘त्यहाँ फूलबारी बनाउने, प्रज्ञाप्रतिष्ठानको जस्तो डबली बनाउने, रत्नकुमारको हत्या गरिएको ठाउँमा रगत बगेको सिम्बोल बनाउने लक्ष्य छ । तर, बजेट अभावमा काम अघि बढाउन सकेका छैनौँ,’ उनले भने ।
त्यस्तै, जन्मस्थानमा रहेको घर, आन्दोलनका क्रममा रत्नकुमारले प्रयोग गरेको सुरुङ, मिटिङ हललगायतलाई संरक्षण गर्ने गरी एकीकृत गुरुयोजना बनाइएको छ । रत्नकुमार जन्मिएको गाउँका किसानलाई एकीकृत पशुपालनमा जोड्ने, होमस्टे सञ्चालनमा ल्याउनेसमेत गुरुयोजनामा उल्लेख छ । देउमाई नगरपालिकाले कक्षा ७ को स्थानीय पाठ्यक्रममा पनि रत्नकुमार बान्तवाको जीवनी राखेर अध्ययन गराइरहेको छ । सहिद रत्नकुमार बान्तवाको सहादतस्थल देहातमा पर्छ । त्यहाँ जाने सडक पनि कच्ची छ । करिब डेढ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने अवस्था रहेको प्रतिष्ठानका पूर्वअध्यक्ष दुलाल बताउँछन् । ‘रत्नको सहादतस्थल पुग्ने सडक कच्ची छ । त्यहाँसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि पहल गरिरहेका छौँ,’ दुलालले भने, ‘यसमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्दछ ।’
माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले सहिद रत्नकुमारको सहादतस्थललाई पर्यटकीय स्थल र अध्ययन तथा अनुसन्धान गर्ने स्थानका रूपमा विकास गर्नुपर्ने बताए । ‘तर, स्थानीय सरकारबाट मात्र यो काम सम्भव छैन । प्रदेश सरकार र संघीय सरकारले पनि सहयोग गर्नुपर्छ । यसका लागि पहल गरिरहेका छौँ,’ उनले भने, ‘यस क्षेत्रलाई पर्यटकीय र अध्ययन/अनुसन्धान गर्ने क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।’