१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार o९:३१:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चक्रपथ दोस्रो खण्डको डिपिआर असोजभित्र बुझाइने

चिनियाँ प्राविधिक टोली ९ वैशाखदेखि स्थलगत सर्भे तथा अध्ययनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार o९:३१:oo

काठमाडौं चक्रपथ दोस्रो खण्ड अर्थात् कलंकी–वसुन्धरा खण्ड विस्तारको डिपिआर चिनियाँ प्राविधिकले असोज मसान्तभित्र बुझाउने भएका छन् । चिनियाँ प्राविधिक टोली ९ वैशाख (२२ अप्रिल)देखि स्थलगत सर्भे तथा अध्ययनमा छन् । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजना ६ वर्षदेखि अलपत्र छ । अबको पाँच महिनामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्ने चिनियाँ टोलीको प्रतिबद्धता छ । 

पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडकखण्ड विस्तार गर्न चीन र नेपालबिच सम्झौता भएको थियो । तत्कालीन अर्थसचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका थिए । सोही सम्झौताअनुसार चीनको सिसिसिसी फस्र्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउँदै छ ।  

यसअघि चीनकै हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले यसको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । अहिले डिपिआर बनाउने काम सिसिसिसी फस्र्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले गर्दै छ । चीनले दुई वर्षअघि नै परियोजना डिजाइनको प्रारम्भिक अवधारणा पेस गरेको थियो । अब भने डिपिआर नै पेस गर्नेछ । डिपिआर सडक विभागबाट स्वीकृत भएपछि निर्माण कार्य अघि बढ्नेछ । दोस्रो चरणमा कलंकीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगन्जमा जग्गा प्राप्तिमा समस्या भएपछि वसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना छ । यसअघि चक्रपथको कोटेश्वरदेखि कलंकी खण्ड विस्तार भइसकेको छ ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले एक महिनादेखि चिनियाँ प्राविधिक फिल्डमा रहेको बताए । ‘२२ अप्रिलदेखि चिनियाँ प्राविधिक टोली डिजाइन बनाउनकै लागि फिल्डमा सक्रिय छन् । अबको पाँच महिनामा डिपिआर पेस गर्ने प्रतिबद्धता पनि गर्नुभएको छ,’ उनले भने, ‘डिपिआर आएपछि त्यसलाई सडक विभागले आवश्यक अध्ययन गरेर स्वीकृति गर्नुपर्नेछ । आवश्यक परेको अवस्थामा डिपिआरमा सुधार गर्न पनि भनिनेछ । सडक विभागले डिपिआर स्वीकृत गरेपछि चीनले परियोजनाको निर्माण कार्य अघि बढाउन सक्नेछ ।’

चीनले डिपिआर बुझाउने भएपछि विभागले आगामी आवको बजेटमा पनि यसलाई समावेश गर्ने तयारी गरेको छ । विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले चक्रपथको दोस्रो खण्ड विस्तार परियोजनालाई बजेटमा पनि समावेश गर्ने तयारी गरेको छ । सरकारले जेठ १५ गते आगामी आवको बजेट संसद्मा प्रस्तुत गर्दै छ । ‘चीनले अब छिट्टै डिपिआर पेस गर्दै छ । त्यो डिपिआर हामीले स्वीकृत गरेपछि चीनले निर्माण कार्य अघि बढाउन सक्छ । त्यसमा चीनले नै अनुदान दिनेछ । तर, यहाँ कार्यालय स्थापना गर्नेलगायत शीर्षकमा भने नेपालले नै बजेट दिनुपर्छ । यी यस्ता विषयलाई समावेश गरेर आगामी आवको बजेटमा यो परियोजनालाई पनि समावेश गर्नेछौँ,’ उनले बताए । 

दोस्रो चरणमा कलंकी–धोबी खोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायणगोपाल चोकदेखि धोबी खोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धरा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गर्दै छ ।

चक्रपथको अन्य खण्डको विस्तार अन्योलमा 
चक्रपथको अन्य खण्डको विस्तार पनि अन्योलमै रहेको छ । वसुन्धरा–चाबहिल–कोटेश्वर खण्डलाई के–कसरी विस्तार गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । नारायणगोपाल चोकदेखि धोबी खोला खण्डमा साइट क्लियरेन्स हुन सकेको छैन । नारायणगोपाल चोकमा मुआब्जाको विवाद कायमै छ । धोबी खोलादेखि तिलगंगासम्मको खण्डको विस्तारबारे भने अझै अध्ययन भएको छैन । तिलगंगादेखि कोटेश्वर खण्डको विस्तारबारे काठमाडौं डिभिजनले तीन वर्षअघि नै अध्ययन गरेको थियो । उक्त अध्ययनले आयोजना निर्माणमा बढी लगानी लाग्ने देखाएपछि तत्काल उक्त खण्ड विस्तार नगर्ने मनसायमा सरकार पुगेको बताइन्छ ।

कस्तो बन्दै छ दोस्रो खण्ड ?
चीनले डिजाइनको प्रारम्भिक अवधारणा अर्थात् ‘टेक्निकल कन्फर्मेसन’ यसअघि नै पठाएको थियो । त्योअनुसार पहिलो खण्डको भन्दा फरक डिजाइनमा दोस्रो खण्डको विस्तार गरिँदै छ । चक्रपथ विस्तारको पहिलो (कलंकी–एकान्तकुना–कलंकी) खण्डमा कुल आठ लेनको सडक छ । त्यसमा बिचमा दुई–दुई लेनको मुख्य सडक र दायाँ–बायाँ दुई–दुई लेनको सर्भिस लेन छ । साथै, मेन लेन र सर्भिस लेनको बिचमा फुटपाथ छ । 

दोस्रो खण्ड त्योभन्दा फरक बनाउने गरी यसअघि नै डिजाइनको प्रारम्भिक अवधारणा आएको थियो । त्यसमा दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । त्यसपछि दायाँ–बायाँ पौने तीन मिटरको फुटपाथ निर्माण गरिनेछ । मिडियनदेखि फुटपाथसम्मको चौडाइ ३८.८ मिटरको हुनेछ । यी संरचना चिनियाँ पक्षले नै बनाउनेछ । 

फुटपाथपछि दायाँ–बायाँ चार–चार मिटरको ग्रिन बेल्ट (हरियाली क्षेत्र) बनाइनेछ । तर, यो चीनले बनाउने कि नेपालले बनाउने भनेर टुंगो लागिसकेको छैन । हरियाली क्षेत्रपछि दुवै साइटमा ६–६ मिटरको सर्भिस लेन बनाइनेछ । सर्भिस लेनपछि दुवै साइटमा थप पाँच–पाँच फिटको फुटपाथ बनाइनेछ । सर्भिस लेन र बाहिरी फुटपाथ भने नेपाल सरकारले नै बनाउनेछ । यस्तै, विष्णुमती र स्विचाटारमा मोटरेबल पुल निर्माण गरिनेछ । चीनले यात्रुलाई बाटो काट्न सहज हुने गरी एउटा अन्डरपास फुटपाथ (सब–वे) बनाउने गरी टेक्निकल कन्फर्मेसन पठाएको थियो ।