
जगन्नाथ गाउँपालिका वडा नम्बर ५ को भुकाखोला-चिसापानीमा झोलुंगे पुल निर्माण हुँदा त्यहाँका स्थानीयमा खुसियाली छाएको छ। जगन्नाथ गाउँपालिका र स्वाप साझेदारीमा झोलुंगे पुल निर्माण गरिएको छ। भुकाखोला चिसापानी झोलुंगे पुलको उद्घाटन जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले गरेका छन्। भुकाखोलामा पुल नहुँदा वर्षौँदेखि यहाँका जनताले निकै सास्ती बेहाेर्दै आएकाे अध्यक्ष शाहीले बताए।
हिउँदको केही महिना खोलामा पानीको सतह घटेको हुँदा स्थानीय र विद्यार्थीहरूलाई आवतजावत गर्न सजिलो भए पनि बर्खाको सिजनमा आवतजावत गर्न अप्ठ्यारो थियो। स्थानीयकाे असहजतालाइ मध्यनजर गर्दै स्वाप र गाउँपालिकाको साझेदारी पुल निर्माण कार्य गरेको बताए।
विगत लामो समयदेखि आवतजावत गर्न समस्या झेल्दै आएको र भुकाखोला चिसापानीमा झोलुंगे पुल निर्माण हुँदा आफूहरू निकै खुसी भएको स्थानीय लोकेन्द्र सार्कीले बताए। यस वर्षदेखि बाह्रै महिना भुकाखोलामा आवतजावत गर्न सजिलो भएको उनले बताए।