
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी ठगीमा संलग्नले कुनै पनि बहानामा छुट नपाउने बताएका छन् । उनले कोशी प्रदेशभित्र सहकारीको रकम अपचलमा संम्लग्न जुनसुकै पार्टी र तहको व्यक्ति भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने घाेषणा गरे ।
शनिबार विराटनगरमा आयाेजित ‘सहकारी ऐन र कार्यान्वयनका चुनौती’ विषय कार्यक्रममा मुख्यमन्त्री कार्कीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव र प्रभावमा नपरी काम गर्न निर्देशन पनि दिए ।
मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न कोशी प्रदेश ससरकार तयार बताउँदै सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका सबै सहकारीहरू कानुनीमा दायरामा आएरै छाडने दाबी गरे । उनले भने, ‘थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा छन् । तिनलाई न्याय दिन केन्द्र मात्र नभएर प्रदेश सरकार पनि प्रतिबद्ध छ ।’
कोशी सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि बिशेष समिति निर्माण गरेर अध्ययन अनुसन्धान थालेको छ ।