
सरुवा हुनेमा नौजना नासु, तीनजना कम्प्युटर अपरेटर र एकजना सहायक कम्प्युटर अपरेटर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेका अनियमिततासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि १३ जना कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले बिहीबार नासु र कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीलाई मन्त्रालयमै फिर्ता बोलाएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएकामध्ये नौजना नासु, तीनजना कम्प्युटर अपरेटर र एकजना सहायक कम्प्युटर अपरेटर छन् । ती सबै कर्मचारी दरबन्दीभन्दा बढी संख्यामा काजमा अध्यागमन कार्यालयमा खटाइएका थिए । गृह प्रशासनले उनीहरूलाई अस्थायी रूपमा विमानस्थलमा खटाए पनि अख्तियारको छानबिन सुरु भएपछि उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा पठाइएको हो ।
शक्ति र पहुँचको बलमा गृह मन्त्रालयले कर्मचारीलाई विमानस्थल अध्यागमन पठाएको थियो । कार्यालयमा नौजना नासुको दरबन्दी भए पनि त्यसको दोब्बरभन्दा बढी कर्मचारी खटाएको थियो । दरबन्दीभन्दा बढी संख्यामा रहेका उनीहरूलाई गृहले फिर्ता लिएको हो । उनीहरूलाई अन्यत्र विभिन्न कार्यालयमा जिम्मेवारी तोकिएको छ ।
तर, भिजिट भिसाको सेटिङको कोर समूहमा रहेका अधिकृतहरूलाई भने हटाइएको छैन । उच्च तहकै सेटिङ भएकाले गृहले यसमा सामान्य छानबिनको प्रयास पनि गरेको छैन ।