
झन्झटिलो कानुनी व्यवस्था र इच्छुक लगानीकर्ताको खोजी नहुँदा प्रतिबद्धताअनुसारको लगानी प्राप्ति गर्न सकस, साना र मझौला उद्योगमा धेरै विदेशी लगानीको प्रस्ताव
चालू आर्थिक वर्ष ०८१/८२ को वैशाखसम्म ५७ अर्ब ६ करोड ७६ लाख ७३ हजार चार सय रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । सो रकम लगानी गरी पाँच सय ७६ नयाँ उद्योग सञ्चालन गर्ने र १४ हजार सात सय १९ लाई रोजगारी सिर्जना गर्ने लगानीकर्ताको प्रस्ताव छ ।
मुलुकमा बर्सेनि ठुलो मात्रामा वैदेशिक लगानीको प्रतिबद्धता आउने गरे पनि प्राप्तिको अवस्था निराशजनक छ । राष्ट्र बैंकका अनुसार चैतसम्म पाँच अर्ब ९६ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । जबकि, चैतसम्म करिब ४८ अर्ब लगानीको प्रतिबद्धता आएको थियो । लगानीको प्रतिबद्धता गरेका विदेशी व्यवसायीलाई सरकारले नखोज्ने र इच्छुक लगानीकर्तालाई पनि झन्झटिलो कानुनी व्यवस्था अवलम्बन गर्न लगाउने भएकाले प्रतिबद्धताअनुसार विदेशी लगानी भित्रिन सकेको छैन ।
विभागका अनुसार वैशाखमा मात्रै ९७ उद्योग–व्यवसायका लागि नौ अर्ब नौ करोड २२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसबाट २५ सय ९३ नयाँ रोजगारी सिर्जना हुने लगानीकर्ताको प्रस्ताव छ । विदेशीले ठुला उद्योगमा लगानी प्रतिबद्धता गर्न भने अझै पनि अग्रसरता देखाएका छैनन् । उनीहरूले साना र मझौता उद्योगमा नै धेरै लगानी प्रस्ताव गरेका छन् ।
विभागका अनुसार वैशाखसम्म सबैभन्दा धेरै पाँच सय ६२ साना उद्योग–व्यवसायमा लगानीको प्रस्ताव छ । त्यस्तै, १० मझौला र चार ठुला उद्योगमा विदेशी लगानीको प्रस्ताव गरिएको छ ।
सेवामूलक र पर्यटन क्षेत्रमा धेरै लगानी
विभागको तथ्यांकअनुसार चालू आवको वैशाख मसान्तसम्म सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । यो क्षेको ६६ परियोजनामा २९ अर्ब ९८ करोड ७७ लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
पर्यटन क्षेत्रमा दोस्रो धेरै लगानीको प्रतिबद्धता आएको छ । यो क्षेत्रमा दुई सय २३ उद्योग–व्यवसायका लागि २१ अर्ब ३३ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ । त्यस्तै, उत्पादनमूलक क्षेत्रका ३९ उद्योगमा दुई अर्ब ९२ करोड करोड २० लाख ५० हजार दुई सय र कृषिका १० परियोजनामा एक अर्ब ४२ करोड ६० लाख लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ ।
सूचना प्रविधि क्षेत्रका दुई सय ३५ परियोजनामा एक अर्ब ३१ करोड ८८ लाख तीन हजार दुई सय रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । पूर्वाधार क्षेत्रका दुई र ऊर्जाको एउटा परियोजनामा क्रमशः पाँच करोड र दुई करोड ५५ लाख लगानी प्रतिबद्धता आएको छ ।