
जुम्लामा यार्सागुम्बा संकलनको क्रममा दुईजनाको मृत्यु भएको छ। पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न गएका वेला तातोपानी गाउँपालिका– ८, टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो।
जुम्ला र जाजरकोट जिल्लाको सीमा क्षेत्रमा पर्ने सुब्बाकुना भन्ने पाटनमा उनी यार्सागुम्बा खोज्न गएकी थिइन्। पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनबाबु रेग्मीले बताए। उनले भने, ‘पाटन क्षेत्र निकै टाढा छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी नायब निरीक्षक कृष्णराज रोकायाको कमान्डमा ६ जनाको प्रहरी टोली खटाएको छ।
त्यस्तै, गुठीचौर गाउँपालिका– १ मुणिसाँघुका भीमबहादुर बोहराको लेक लागेर मृत्यु भएको छ। बोहरा जेठ ७ गते घरबाट यार्सागुम्बा खोज्न डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका– १ स्थित जगदुल्ला मध्यवर्ती पाटन क्षेत्रमा गएका थिए। उनी घर फर्कने क्रममा लेक लागेर मृत्यु भएको अस्थायी प्रहरी चौकी चोत्राका प्रहरी निरीक्षक रोहित रसाइलीले बताए।
दिउँसो २ बजे लेक लागेको थियो । साथीहरूले उपचारका लागि घर ल्याउने क्रममा बिचबाटोमै बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।