
गृहमन्त्री रमेश लेखकले १४ वर्षदेखि अलपत्र कमला पुलको पुनर्निर्माण गर्न पहल गर्ने बताएका छन्।
बाक्लो संख्यामा धनुषा र सिराहाका सुरक्षाकर्मी तथा नेपाली कांग्रेसका नेताहरूको दलबलसहित शुक्रबार निरीक्षणका लागि पुल निर्माणस्थल बसबिट्टाघाट पुगेका गृहमन्त्री लेखकले लुम्बिनी बिल्डर्सले अलपत्र पारेको विषयमा जानकारी लिएका थिए। हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्राविधिकले निर्माण कम्पनीले १३ चैतदेखि पुल निर्माण ठप्प पारेको जानकारी गृहमन्त्रीलाई गराएका थिए।
०६८ जेठमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनसँग पुल निर्माणको ठेक्का सम्झौता भएकाेमा पटकपटक म्याद थप गर्दा पनि पुल निर्माणमा ढिलाइ गरियो । त्यसपछि पप्पु कन्स्ट्रक्सनलाई हटाएर ०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएकाे थियाे।
निरीक्षणमा गृहमन्त्री लेखकसहित सांसदहरू रामकृष्ण यादव, चन्दा चौधरीसँगै दर्जनौँ नेता–कार्यकर्ता पुगेका थिए। सांसद यादवले आगामी आर्थिक वर्षको बजेटमा पक्की पुल निर्माण गर्न बजेट सुनिश्चित हुने आश्वासन दिए। आर्थिक वर्ष ०८२/८३ सम्म पुल निर्माण पूरा हुने उनले प्रतिबद्धतासमेत जनाए।
०६८ सालमा तत्कालीन भौतिक योजनामन्त्री हृदयेश त्रिपाठीले कमला नदीको पुल शिलान्यास गर्दा सांसद यादव पनि सहभागी थिए। प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन भौतिक पूर्वाधारमन्त्रीहरू रघुवीर महासेठ, रेनु यादव, वसन्त नेम्वाङ, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले भासिएको उक्त पुलको पटकपटक निरीक्षण गरेका थिए।
शुक्रबार पुलको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखक यसअघि ०७३ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका थिए। ०७५ सालमा प्रधानमन्त्री ओलीले ०७७ पुसमै पुल निर्माण पूरा गरी सवारीसाधन चल्ने गरी काम सक्ने प्रतिबद्धता जनाएका थिए।
समाचार संकलनमा अवरोध
सिराहा प्रहरीले कमला नदीको भासिएको पुल निरीक्षण गर्न आएका गृहमन्त्री रमेश लेखकको समाचार संकलन गर्न गएका सिराहाका पत्रकारहरूलाई अवरोध गरेका थिए। माथिको आदेश भन्दै प्रहरीले पत्रकारहरूलाई कमला पुलको बाँधमा रोकेका थिए।
गृहमन्त्री आएपछि मात्र पत्रकारहरूलाई पुलको समाचार संकलन गर्न दिइएको थियो।