Skip This
कीर्तिपुरको झिगु तिब: सहकारीद्वारा सर्वसाधारणको १० करोड हिनामिना 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ८ बिहीबार o८:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कीर्तिपुरको झिगु तिब: सहकारीद्वारा सर्वसाधारणको १० करोड हिनामिना 

डेढ वर्षदेखि सहकारी बन्द, नगरपालिकाले समेत बेवास्ता गरेको बचतकर्ताको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार o८:४७:oo

कीर्तिपुरस्थित झिगु तिबः बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको करिब १० करोड रुपैयाँ बचत फसेको छ । डेढ वर्षदेखि बन्द अवस्थामा रहेको सहकारीमाथि कीर्तिपुर नगरपालिकाले गरेको छानबिनबाट समेत रकम हिनामिना भएको पुष्टि भएको हो ।

सहकारीले रकम हिनामिना गरेको भन्दै बचतकर्ताले उजुरी दिएपछि नगरपालिकाले छानबिन गरेको थियो । छानबिनबाट हिनामिना पुष्टि भए पनि सहकारी सञ्चालकबाट रकम असुलेर बचत फिर्ता गर्न नगरपालिकाले पहल नगरेको पीडितहरूको आरोप छ ।

पीडितले नगरपालिकासहित विभिन्न निकायमा उजुरी गरे पनि सुनुवाइ नभएको बताएका छन् । नगरपालिकाले आफूले पनि समस्या समाधानका लागि चासो नदिएको र कारबाहीका लागि प्रहरीलाई पत्राचार पनि नगरेको संस्थाका पूर्वसचिव राजु महर्जन बताउँछन् । ‘हामीले विभिन्न निकायमा उजुरी गर्दा पनि सुनुवाइ हुन सकेको छैन,’ उनी भन्छन्, ‘नगरपालिकाकै क्षेत्राधिकार भन्दै अन्य निकायले छानबिन गरेका छैनन्, नगरपालिकाले चासो दिएको छैन ।’ 

सहकारीमा २५ सय बचतकर्ता
कीर्तिपुर– ९ पाँगामा रहेको उक्त सहकारी बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि डेढ वर्षदेखि बन्द छ । सहकारीमा करिब दुई हजार पाँच सय बचतकर्ता छन् । पीडितको दबाबपछि नगरपालिकाले छानबिनसमेत गरेको थियो । सञ्चालकहरूले नै नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेर हिनामिना गरेको कीर्तिपुर नगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका आधारमा सञ्चालकबाट पैसा असुलेर बचत फिर्ता गर्ने आश्वासन दिए पनि नगरपालिकाले त्यसका लागि कुनै पहल नगरेको पीडितहरू बताउँछन् । 

०६७/६८ मा स्थापना भएको सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन हुन् । उनीपछि नन्दबहादुर महर्जन अध्यक्ष बनेका थिए । उनीहरू नाताले सम्धी हुन् । श्रीकृष्णकी बुहारी तथा नन्दबहादुरकी छोरी सृष्टि महर्जन सहकारीको प्रबन्धक थिइन् । नन्दबहादुर हाल अस्ट्रेलिया छन् । छानबिनका क्रममा उनीहरू तीनैजनाले आर्थिक हिनामिना गरेको भेटिएको थियो । नगरपालिकाले समस्या समाधानमा ढिलाइ गरेपछि बचतकर्ताले दुई साताअघि प्रहरीमा जाहेरी दिएका छन् । तर, प्रहरीले नगरपालिकाबाट पत्र आएपछि मात्र कारबाही अघि बढाउने जनाएको छ । माघ ०८० मा बसेको संस्थाको १०औँ साधारणसभाले जनकलाल महर्जनलाई अध्यक्ष चयन गरेको थियो । उनी अध्यक्ष भएयता सहकारी सञ्चालन हुन सकेको छैन । 

कीर्तिपुरका मेयर कृष्णमान डंगोलले नगरपालिकाले सहकारी सञ्चालनका लागि पहल गरिरहेको बताए । ‘पीडितहरूको उजुरीका आधारमा छानबिन गरेर प्रतिवेदन पनि बनाएका छौँ,’ उनी भन्छन्, ‘दुवै पक्षलाई छलफलमा बोलाएर सहकारी सञ्चालन गरी बचत रकम फिर्ताको वातावरण बनाउन सहकारी शाखालाई भनेका छौँ, छलफल भएजस्तो लाग्दैन, समस्या समाधानका लागि सहजीकरणको प्रयास गरिरहेका छौँ ।’ छानबिनका क्रममा पूर्वअध्यक्ष नन्दबहादुरले रामकाजी महर्जनका नाममा नक्कली कर्जा निकालेको खुलेको थियो । यस्तै, जुना महर्जनका नाममा पनि त्यसैगरी नक्कली ऋणी खडा गरी रकम हिनामिना भएको छ । 

बेरुजु असुल गरी सहकारी चलाउँछौँ : अध्यक्ष महर्जन
संस्थाका अध्यक्ष जनकलाल महर्जन पूर्वसञ्चालकको नाममा रहेको बेरुजु असुल गरी सहकारी चलाउने प्रयास भइरहेको बताउँछन् । ‘पूर्वसञ्चालकहरूबाट सहकारीमा हिनामिना भएको रहेछ, पूर्वअध्यक्ष अस्ट्रेलिया जानुभएको छ,’ उनी भन्छन्, ‘फर्किएर बेरुजु देखिएको सबै पैसा तिर्छु भन्नुभएको छ, उहाँको जग्गा रोक्का पनि राखिएको थियो, सहकारी चलाएर पैसा फिर्ता दिने प्रयास भइरहेको छ ।’