Skip This
४८.७४% ले बढ्यो शंकास्पद कारोबार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
Invalid date format o९:१५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

४८.७४% ले बढ्यो शंकास्पद कारोबार

सन् ०२३ मा ४० अर्बको ६,२५५ वटा कारोबार र ०२४ मा ३५ अर्बको ९,३०४ वटा कारोबार शंकास्पद

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

शंकास्पद आशंका गरिएको कारोबारमा सम्पत्ति शुद्धीकरणकै लागि धेरै 

नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेका वेला सन् ०२४ मा नौ हजार तीन सय चारवटा वित्तीय कारोबार तथा गतिविधि शंकास्पद देखिएका छन् । संख्याका आधारमा यो अघिल्लो वर्षको तुलनामा ४८.७४ प्रतिशतले बढी हो । सो वर्ष ३४ अर्ब ९७ करोड ५० लाख रुपैयाँबराबरको वित्तीय कारोबार तथा गतिविधि शंकास्पद देखिएको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको वर्ष ०२४ को प्रतिवेदनले यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्था, रेमिट कम्पनी, स्टक ब्रोकर, बिमा कम्पनीलगायतका संस्थाले ०२४ मा सोबराबरको कारोबार शंकास्पद देखिएको भन्दै इकाइलाई जानकारी दिएको हो ।

वर्ष ०२३ मा ६ हजार दुई सय ५५ वटा कारोबार तथा गतिविधि शंकास्पद देखिएका थिए । त्यसअघि सन् ०२० मा एक हजार एक सय ३, सन् ०२१ मा एक हजार आठ सय ५४ र ०२२ मा तीन हजार नौ सय ७९ वटा कारोबार शंकास्पद देखिएका थिए । वर्ष ०२४ मा रकमका आधारमा भने शंकास्पद कारोबार कम देखिएको छ । वर्ष २०२३ मा ४० अर्ब ६ करोड ६० लाख रुपैयाँबराबरको कारोबार शंकास्पद देखिएको थियो । ०२४ मा त्यो करिब ३५ अर्ब रुपैयाँमा सीमित भएको छ । 

प्राप्त सूचना तथा उजुरीमध्ये वित्तीय जानकारी इकाइले एक हजार आठ सय ९४ वटाको विश्लेषण गरेको छ । त्यसमा एक हजार ८६ वटा सूचनामा आवश्यक अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायलाई पठाइएको छ । आठ सय आठ उजुरीलाई भने थप सूचना आएमा पुनः अध्ययन गर्ने गरी अभिलेखमा राखिएको प्रतिवेदनमा उल्लेख छ । 

यो तथ्यांकले नेपालमा शंकास्पद कारोबार बढ्दै गएको संकेत गरेको छ । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई दुई वर्षका लागि ‘गे्र’ सूचीमा राखेको छ । यसअघि सन् २००८ देखि ०१४ सम्म पनि नेपाल ग्रे सूचीमा थियो । अहिले राष्ट्र बैंकको यो रिपोर्टले पनि नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च देखाउँछ । 

यद्यपि, यसले बैंक तथा वित्तीय संस्थालगायतका कम्पनीको शंकास्पद कारोबार पहिचान गर्ने क्षमता पनि बढी भएको देखाउने राष्ट्र बैंकका अधिकारी बताउँछन् । सन् २००८ देखि राष्ट्र बैंकमा वित्तीय जानकारी इकाइ छ । त्यसभन्दा पहिला पनि नेपालमा शंकास्पद कारोबार हुने गरेको थियो । तर, त्यसको पहिचान गर्ने र कानुनी कारबाहीका लागि जानकारी गराउन सक्ने अवस्था थिएन । साथै, इकाइ स्थापना भए पनि लामो समयसम्म यसका लागि आवश्यक पूर्वाधार बनेका थिएनन् । त्यसले गर्दा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, स्टक ब्रोकरलगायतका संस्थाहरू शंकास्पद कारोबारको पहिचान गरेर इकाइमा जानकारी दिन सक्ने अवस्थामा थिएनन् । तर, अहिले उनीहरूमा त्यस्तो कारोबारको पहिचान गरी जानकारी दिन सक्ने क्षमता विकास भएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन् । 

यद्यपि, वास्तविक रूपमै शंकास्पद कारोबार पनि भएको हुन सक्ने बताउँदै उनले यसबारे अनुसन्धानले मात्रै पुष्टि गर्न सक्ने बताए । शंकास्पद कारोबार भनेर उजुरी पर्दैमा सम्बन्धित पक्ष तथा कारोबार गलत नै भएको नहुने उनको भनाइ छ । ‘यो बैंकलगायतका संस्थाहरूले शंकास्पद भएको भन्दै राष्ट्र बैंकमा वित्तीय जानकारी इकाइमा दिएको सूचना हो । प्राप्त सूचनाका आधारमा राष्ट्र बैंकले आवश्यक अध्ययन गर्छ,’ उनले भने ।

शंकास्पद आशंका गरिएको कारोबारमा सम्पत्ति शुद्धीकरणकै लागि धेरै 
समीक्षा वर्षमा सम्पत्ति शुद्धीकरणका लागि चार हजार दुई सय ३३ वटा कारोबार भएको आशंका गर्दै उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । दोस्रोमा भने कर छलीका दुई हजार आठ सय ७६ वटा कारोबार भएको आशंका गरिएको छ । तेस्रोमा मुद्रा, बैंकिङ, विदेशी मुद्रा सटहीअन्तर्गत दुई हजार ६ सय ६५ वटा कारोबार शंकास्पद भएको भन्दै उजुरी परेको छ ।  

यस्तै, ठगीका लागि एक हजार २६५, फर्म, साझेदार, कम्पनी तथा सस्थाका लागि एक हजार ४६, लट्री, अनुदान तथा गेमिङका लागि ४४३, भ्रष्टाचारका लागि ६०, यातायात, स्वास्थ्य, शिक्षालगायतका लागि ५२, जालसाजीका लागि ५१, नागरिकता, राहदानी तथा अध्यागमनका लागि ३१, मानव बेचबिखन तथा ओसारपसारका लागि २७, भन्सारसम्बन्धी तस्करीका लागि १८ र संगठित अपराधमा आबद्धका लागि १७, व्यापारमा आधारित सम्पत्ति शुद्धीकरणका लागि ३२, घरजग्गाका लागि १४, मुद्रा अपचलनका लागि १०, कालोबजारीका लागि १०, पुँजीबजारमा आन्तरिक मोलमोलाइ तथा धाँदलीका लागि नौ, चोरी तथा निकासीका लागि आठ, अवैध लागुपदार्थ ओसारपसारका लागि सात, उत्पादन नक्कलका लागि सात, बालबालिकासहितका यौन शोषणका लागि चार, जबर्जस्ती करणीका लागि तीन, आतंकवादका लागि दुई, प्रसारण तथा विज्ञापनका लागि दुई, अपहरणका लागि एक, वस्तुको अवैध निकासीका लािग एक, वनसम्बन्धी अपराधका लागि एक, प्राचीन स्मारक संरक्षणसम्बन्धी एक कारोबार शंकास्पद भएको भन्दै उजुरी गरिएको छ ।

रकममा कहाँ धेरै आशंका ? 
वर्ष २०२४ मा वाणिज्य बैंकमा भएमध्ये ३२ अर्ब १२ करोड रुपैयाँबराबरको कारोबार शंकास्पद भएको भन्दै उजुरी आएको छ । यसैगरी, भुक्तानी सेवाप्रदायकको ७१ करोड ९१ लाख रुपैयाँ, स्टक ब्रोकरको ६४ करोड आठ लाख रुपैयाँ, विकास बैंकको ६२ करोड ६३ लाख रुपैयाँ, वित्त कम्पनीको ५२ करोड ६६ लाख रुपैयाँ, जीवन बिमा कम्पनीको १५ करोड ४३ लाख रुपैयाँ र रेमिट्यान्स कम्पनीको १० करोड ४९ लाख रुपैयाँबराबरको कारोबार शंकास्पद भन्दै उजुरी परेको छ । 

यसैगरी, सहकारीको चार करोड २८ लाख रुपैयाँ, क्यासिनोको एक करोड १६ लाख रुपैयाँ, भेन्चर क्यापिटलको एक करोड रुपैयाँ, मर्चेन्ट बैंकरको ७५ लाख रुपैयाँ, लघुवित्तको २२ लाख रुपैयाँ र हायर पर्चेज कर्जा सेवाप्रदायक कम्पनीको तीन लाख रुपैयाँबराबरको कारोबार शंकास्पद देखिएको छ ।