Skip This
पर्साका सीमानाकामा आठवटा क्यामेरा जडान, भिस्वा नाकाको क्यामेरा सञ्चालनविहीन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
तिवारी यादव वीरगन्ज
२o८२ जेठ ६ मंगलबार १३:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्साका सीमानाकामा आठवटा क्यामेरा जडान, भिस्वा नाकाको क्यामेरा सञ्चालनविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:o५:oo

पर्सामा संस्थागत रूपमा अवैध चोरी निकासी तथा पैठारी भइरहेको गुनासो बढ्न थालेपछि ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । जिल्लामा हुँदै आएको अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गरीएको हो । स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णयअनुसार सोमबार वीरगन्जको छपकैया, सिर्सिया, बलिरामपुर, अलौँलगायत स्थानमा दुई–दुई ठाउँमा गरेर आठवटा सिसी क्यामेरा जडान गरिएको स्थानीय राजस्व चुहावट नियन्त्रण समितिले जनाएको छ । 

समितिका अनुसार आइतबार वीरगन्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले वीरगन्ज महानगरको छपकैया, सिर्सियालगायत ठाउँमा सिसी क्यामेरा जडान गर्न अवरोध गरिएको थियो । तर, जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थितिमा सोमबार मात्र छपकैया र सिर्सियासहितका चार स्थानमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको हो भने बलिरामपुर नाकामा दुई, अलौँ नाकामा दुईवटा सिसी क्यामेरा जडान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । 

अब सीमानाकामा जडान भएको सिसी क्यामेरासँगै अवैध रूपमा भन्सार छली गरेर भित्रिने मालसामान ओसारपसार गरी तस्करी गर्नेलाई नियन्त्रणमा सघाउ पुर्‍याउने आशा राखेको उनले बताए । पहिलो चरणमा वीरगन्ज भन्सार कार्यालयले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले जानकारी दिए । 

भिस्वा नाकामा जडान भएको क्यामेरा सञ्चालनविहीन
पर्सामा ग्रामीण नाका भएर अवैध चोरी निकासी तथा पैठारी भइरहेको गुनासो बढ्न थालेपछि भिस्वा नाकामा केही वर्ष पहिले ‘सिसी क्यामेरा’ जडान भएको थियो ।
तर, जडान भएको उक्त सिसी क्यामेरा भने एक सालभन्दा बढी समयदेखि बन्द रहेको सीमानाकामा खटिएका सुरक्षाकर्मीले जनाएका छन् ।  सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बिओपी भिस्वाका प्रहरी निरीक्षक नारायण कार्कीले जडानमा रहेको दुईवटा सिसिटिभी क्यामेरा अहिलेको अवस्थामा बन्द रहेको जानकारी दिए।

 उनका अनुसार केही वर्ष पहिले प्रहरी चौकीअगाडि जडान भएको सिसी क्यामेरा ०८१ वैशाखदेखि नै बन्द रहेको अवस्था छ । सिसिटिभी क्यामेरालाई मोनिटर गर्न कम्प्युटर नै बिग्रकाले बन्द भएको विभागमा पनि जानकारी गराइएको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक सञ्जीव तामाङले पनि क्यामेरा बन्द रहेको जानकारी आफूले पनि पाएको बताए । उनका अनुसार प्रहरी चौकीअगाडि क्यामेरा जडान भएको भए पनि कन्ट्रोल भने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भिस्वाले गर्दै आएको अवस्था छ ।