
जेठ महिनाको पहिलो सातादेखि जुम्लामा धान रोपाइँ सिजन सुरु भएको छ । यहाँका धेरैजसो किसानले धान रोप्ने गर्दछन् । धान यहाँको प्रमुख अन्नबाली पनि हो ।
१४औँ जिल्ला परिषद्ले जुम्लालाई विषादीरहित अर्गानिक जिल्ला घोषणा गरे पनि किसानले धान खेतमा झारनाशक विषादी (व्युटाकुलर) प्रयोग गर्ने गरेको पाइन्छ ।
झारनाशक विषादी (व्युटाकुलर)ले जलचरदेखि मानिस र पशुपक्षीलाई समेत असर गर्ने भए पनि किसानले यसको प्रयोग गर्न छोडेका छैनन् ।
तातोपानी गाउँपालिकाले धानबालीमा प्रयोग हुने विषादी (व्युटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै गरेको उपाध्यक्ष रेवती रावलले बताइन् । उनले भनिन्, ‘यो धानबालीमा प्रयोग हुने विषादी रोक्नका लागि गाउँबस्तीदेखि वडा र पालिकास्तरसम्म सचेतीकरणका कार्यक्रम थालेका छौँ । सचेतीकरणसँगै कृषि प्राविधिक, जनप्रतिनिधि, नागरिक समाजलगायतको संयुक्त अनुगमन टोलीसमेत खटाइनेछ ।’
सचेत गर्दागर्दै विषादीको प्रयोग गर्ने किसानलाई सूचीकृत गरी गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधासहित अनुदान राेक्नेसमेत निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।