
राजधानीको मुख्य व्यापारिक केन्द्र न्युरोडआसपासका क्षेत्रमा पछिल्ला दिन हुन्डी कारोबार मौलाएको छ । प्रहरीले करिब डेढ महिनायता मात्रै यस क्षेत्रबाट हुन्डी करोबारमा संलग्न सातजना अभियुक्त पक्राउ गर्नुका साथै झन्डै डेढ करोड रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले यस अवधिमा फरक–फरक चार अपरेसन चलाएको थियो । जसमध्ये दुईवटा न्युरोडआसपासका क्षेत्रमा, एृउटा बौद्ध र अर्को गौशालाको पिंगलास्थान अपरेसन भएको थियो । जसबाट प्रहरीले हुन्डी गर्न लागिएको एक करोड ४५ लाख ३९ हजार १२० रुपैयाँ बरामद भएको छ ।
घटनामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ४ पलातीका २४ वर्षीय सञ्जय बस्नेत, तारकेश्वर नगरपालिका– ३ का २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका– १ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका– ३ का ३१ वर्षीय सन्तोष गुरुङ, सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे, गोरखा पालुङटार नगरपालिका– १० बागडाँडाकी १९ वर्षीय करिना देवकोटा र तिब्बती नागरिक २६ वर्षीय रिक्से वाङ्गमो पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पछिल्ला दिन हुन्डी कारोबारमा संलग्न अभियुक्त पक्राउ पर्ने दर बढेको बताए । उनले भने, ‘डेढ महिनामा हुन्डीका चार अपरेसन भए । जसमा सातजना पक्राउ परे । त्यसमध्ये दुईवटा न्युरोड क्षेत्रका थिए । बाँकी दुई बौद्ध र पिंगलास्थानमा भएका थिए । यसले के देखाउँछ भने आर्थिक कारोबार हुने व्यापारिक केन्द्रमा यस्ता कारोबार धेरै भइरहेका छन् ।’
प्रहरीले २४ वर्षीय सञ्जयलाई आइतबार न्युरोडबाट पक्राउ गरेको हो । उनीबाट स्रोत नखुलेको २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको थियो । जमकट्टेल, राई, गुरुङ, र घिमिरेलाई प्रहरीले गत २१ वैशाखमा पिंगलास्थानबाट पक्राउ गरेको थियो । उनीहरूबाट ९५ लाख १७ हजार ५०० रुपैयाँ बरामद गरेको थियो । गोरखाकी देवकोटालाई पनि प्रहरीले न्युरोबाट नौ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । तिब्बती नागरिक वाङ्गमो भने बौद्धबाट पक्राउ परेकी थिइन् । उनीबाट २० लाख ९२ हजार बरामद भएको थियो ।