
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गरेका छन् ।
अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘६’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका हुन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
त्यसैगरी, कर्मचारीतर्फ नायबसुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गरे ।
सो अवसरमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे । उनले भने, ‘यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ ।’
उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।