
राष्ट्रपति ट्रम्पको नीतिले अमेरिकाको सौम्य शक्तिलाई क्षीण बनाउँदै गर्दा चीन त्यसमा खाडल भर्ने प्रयास गर्दै छ
शक्ति भनेको आफूले चाहेको काम अरूबाट गराउन सक्ने क्षमता हो, जुन बल प्रयोग, प्रलोभन वा आकर्षणमार्फत प्राप्त हुन्छ । बल र प्रलोभन ठोस शक्ति (हार्ड पावर) हुन् भने आकर्षण सौम्य शक्ति (सफ्ट पावर) हो । सौम्य शक्ति देशको संस्कृति, राजनीतिक मूल्य र वैदेशिक नीतिबाट उत्पन्न हुन्छ । छोटो समयमा ठोस शक्ति प्रभावकारी देखिए पनि दीर्घकालमा सौम्य शक्ति नै टिकाउ र प्रभावशाली हुन्छ । जोसेफ स्टालिनले ‘पोपसँग कति डिभिजन छन् ?’ भनेर व्यंग्य गरेका थिए । तर, आज पनि पोपको प्रभाव कायमै छ । तर, सोभियत संघ छैन । जब राष्ट्र आफैँ आकर्षक हुन्छ, उसले बल प्रयोग र प्रलोभन नदिई प्रभाव पार्न सक्छ । मित्र राष्ट्रहरूले विश्वास गरेमा नेतृत्व स्विकार्न सजिलो हुन्छ । तर, अविश्वास र दादागिरी देखिएमा तिनीहरू टाढा रहन्छन् ।
शीतयुद्धकालीन युरोपमा अमेरिकी र सोभियत प्रभाव थियो । तर, अमेरिकाको प्रभाव ‘आमन्त्रणद्वारा बनेको साम्राज्य’ थियो । सोभियतले बुडापेस्ट (१९५६) र प्राग (१९६८) मा सेना पठाउनुप¥यो । तर, नेटो भने आजसम्म टिकिरहेको छ र त्यसमा नयाँ मुलुक स्वेच्छाले सामेल हुन खोजिरहेका छन् । शक्तिको यथार्थ बुझाइमा ठोस र सौम्य दुवै शक्ति समावेश हुनु आवश्यक छ । म्याकियाभेलीले भनेझैँ डरलाग्दो र प्रेमिल दुवै हुनु सबैभन्दा राम्रो हो । सौम्य शक्ति समय लाग्ने भए पनि दीर्घकालमा प्रभावकारी हुन्छ । तर, नेताहरूले प्रायः तात्कालिक प्रभावका लागि ठोस शक्ति प्रयोग गर्न खोज्छन् । यद्यपि, जब समस्यालाई सौम्य शक्तिले समाधान गर्न सकिन्छ । त्यतिवेला ठोस शक्तिको प्रयोग महँगो पर्न सक्छ । बर्लिनको पर्खाल तोपले होइन, साम्यवादप्रति विश्वास गुमाएका मानिसका हातबाट ढालिएको थियो, जसले पश्चिमा मूल्यप्रति आकर्षण देखाएका थिए ।
दोस्रो विश्वयुद्धपछि अमेरिका सबैभन्दा शक्तिशाली राष्ट्र बनेर उदार अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न अग्रसर भयो, जसमा राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्था समावेश थिए । उसो त अमेरिका आफैँले सधैँ आफ्ना मूल्यको पालना गरेन र शीतयुद्धले अमेरिकी व्यवस्था आधा विश्वमा सीमित रहन बाध्य भयो । तर, युद्धमा एक्सिस शक्तिले जितेका भए आजको विश्व व्यवस्था पूर्णतः फरक हुने थियो । अघिल्ला राष्ट्रपतिले कहिलेकाहीँ उदार प्रणाली उल्लंघन गरे पनि ट्रम्प पहिला राष्ट्रपति हुन्, जसले सौम्य शक्तिलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । पदमा फर्किएपछि उनले पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई फिर्ता गराएका छन् ।
मित्रराष्ट्रमाथि बल प्रयोग र धम्कीले गठबन्धनमा विश्वास कमजोर बनाउँछ र साम्राज्यवादको डर बढाउँछ । युएसएडलाई कमजोर पार्दा हाम्रो मानवतावादी छवि, ‘भोइस अफ अमेरिका’ बन्द गर्दा सूचना र स्वतन्त्रता तथा भन्सार शुल्क वृद्धिले हाम्रो विश्वसनीयता घटाउँछ । र, देशभित्रको अभिव्यक्ति स्वतन्त्रता दबाउँदा अन्तर्राष्ट्रिय नैतिकता कमजोर हुन्छ ।
ट्रम्पले चीनलाई अमेरिकाको मुख्य चुनौती मानेका छन् । चीनले सन् २००७ देखि नै सौम्य शक्तिमा लगानी गर्दै आएको छ । तर, चीनले छिमेकीसँगको भू–सीमाविवाद र नागरिक समाजमाथिको नियन्त्रणका कारण विश्वमा आकर्षण बढाउन सकिरहेको छैन । विभिन्न जनमत सर्वेक्षणले यस्ता नीतिले चीनको छवि कमजोर बनाइरहेको देखाउँछ । तर, यदि ट्रम्पले अमेरिकी सौम्य शक्तिलाई कमजोर पारिरहे भने भविष्यमा अमेरिका कति आकर्षक रहन्छ भन्न सकिँदैन । समाज, संस्कृति र सरकारी व्यवहारबाट उत्पन्न हुने अमेरिकी सौम्य शक्तिमा भियतनाम तथा इराक युद्धजस्ता घटनामा गिरावट आएको थियो । भियतनाम युद्धकै वेला जब विश्वका सडकमा मानिसको भिड अमेरिकी नीतिको विरोध गर्दै थियो, त्यही भिडले अमेरिकी नागरिक अधिकारको गीत ‘वि स्याल ओभरकम’ गाइरहेको थियो ।
विरोध गर्न पाउने खुला समाज सौम्य शक्तिको एक महत्वपूर्ण स्रोत हुन सक्छ । तर, आगामी चार वर्षमा सरकारको सौम्य शक्ति कमजोर हुँदा अमेरिकाको सांस्कृतिक सौम्य शक्ति टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्छ । सम्भवतः अमेरिकी लोकतन्त्र ट्रम्पको कार्यकालपछि पनि जीवित रहनेछ, किनभने अमेरिकासँग सशक्त राजनीतिक संस्कृति र शक्ति सन्तुलन कायम गर्ने संघीय संविधान छ । सन् २०२६ मा डेमोक्य्राटले प्रतिनिधिसभा पुनः नियन्त्रणमा लिने सम्भावना पनि छ । नागरिक समाज बलियो छ, अदालत स्वतन्त्र छन् र थुप्रै संस्थाले ट्रम्पका निर्णयविरुद्ध मुद्दा दायर गरिसकेका छन् । बजारले पनि ट्रम्पको आर्थिक नीतिप्रति असन्तुष्टि जनाइसकेको छ ।
भियतनाम र इराक युद्ध तथा ट्रम्पको पहिलो कार्यकालको अवसानपछि अमेरिकी सौम्य शक्ति पुनः स्थापित भएको थियो । तर, हामीले एकपटक विश्वास गुमेपछि त्यसलाई पुनः प्राप्त गर्नु सजिलो हुँदैन भन्ने बुझ्नुपर्छ । युक्रेनमाथिको आक्रमणपछि रुसले बाँकी रहेको सौम्य शक्ति लगभग पूरै गुमायो । तर, चीन भने ट्रम्पले सिर्जना गरेका खाडल भर्ने प्रयासमा लागिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको शब्दमा भन्नुपर्दा ‘पूर्व पश्चिममाथि उदाइरहेको छ’ ।
ट्रम्पले अमेरिकी मित्रराष्ट्रबिचको विश्वास कमजोर बनाउँदै, साम्राज्यवादी महत्वाकांक्षा देखाउँदै, युएसएडजस्ता संस्था नष्ट गर्दै, भोइस अफ अमेरिकालाई बन्द गर्दै, स्वदेशमै कानुनी व्यवस्थालाई चुनौती दिँदै र राष्ट्र संघका निकायबाट फिर्ती हुँदै चीनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । अर्थात्, उनी असफल हुने सम्भावना बढी छ । ट्रम्पले नष्ट गरेको सौम्य शक्तिको पुनर्स्थापन असम्भव त होइन, तर निकै गाह्रो हुनेछ ।
(हार्बर्ड केनेडीका डिन एवं पूर्वअमेरिकी सहायक रक्षामन्त्री नाई जुनियरको यो आलेख तयार भएको केही दिनपछि ६ मे २०२५ मा निधन भयो । यो उनको अन्तिम सार्वजनिक टिप्पणी रह्यो)
प्रोजेक्ट सिन्डिकेटबाट