
एकपटक महात्मा गान्धीको सेवाग्राममा केही पहलवान आए । उनीहरूले गान्धीसित आफ्ना केही खेल हेरिदिन अनुरोध गरे । गान्धीले भने– एक त मसित समय छैन, अर्कातिर देशलाई काम नलाग्ने कुरा हेर्न मलाई मन लाग्दैन । फेरि खेल देखाइसकेपछि तिमीहरूलाई इनाम चाहिन्छ होला, मैले कहाँबाट इनाम दिन सकुँला ? मसित तिमीहरूलाई दिने केही छैन । तैपनि, पहलवानहरूले गान्धीको कुरा नसुनी आफ्नो खेल देखाउन सुरु गरे ।
तीमध्ये एक पहलवानले हातले हिर्काएर ढुंगा फुटाए । यो देख्नासाथ गान्धीले भने– वाह ! तिम्रो शरीरमा कति धेरै बल रहेछ । तिमी हातले हिर्काएर ढुंगा फुटाउन सक्छौ । तर, मैले यस्तो प्रयास गरेँ भने मेरो त हातै भाँचिन्छ होला । पहलवानले भने– हजुरसित हामीसित नभएको अर्कै प्रकारको बल छ नि त, बापु !
गान्धीले भने– त्यो बल त तिमीभित्र पनि छ । पहलवानले भने– होइन बापु, हामीसित त्यस्तो बल भएको भए यसरी गाउँगाउँमा भिख माग्दै हिँड्नुपर्दो हो र ? गान्धीले पुनः भने– त्यो बल सबैभित्र हुन्छ । जति मभित्र त्यो बल छ, तिमीभित्र पनि त्यति नै छ । फरक यत्ति हो कि त्यो बल तिमीहरूभित्र सषुप्त अवस्थामा छ र मैले भने त्यसलाई जागृत गरेको छु । हरेक व्यक्तिले त्यो बल जागृत गर्न सक्छ ।
तर, हरेक व्यक्ति चाहेर पनि तिमीहरूजस्तो पहलवान बन्न सक्दैन । तिमीहरूले पनि आफ्नो शरीरको बललाई सेवाका लागि प्रयोग गरेर आत्मबल जागृत गर्न सक्छौ । र, यसैबाट तिमीहरू आफ्नो आजीविका पनि चलाउन सक्छौ । गान्धीको भनाइ सुनेर एक पहलवानले भने– बापु, तपाईंले आज हामीलाई सही बाटो देखाएर हाम्रो जीवन सफल पारिदिनुभयो ।