१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
डोजर लगाएर त्रियुगा नदीकिनारामा बनेका अवैध घर भत्काउँदै त्रियुगा नगरपालिकाको टोली ।
२o८२ जेठ २ शुक्रबार o८:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुकुम्बासीलाई स्थानान्तरण गर्दै त्रियुगा नगरपालिकाले भत्कायो अवैध संरचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार o८:३४:oo

उदयपुरको त्रियुगा नगरपालिकाले त्रियुगा नदीकिनारमा रहेका सुकुम्बासीलाई स्थानान्तरण गर्ने गरी अवैध घरका संरचना भत्काएको छ । त्रियुगा नरपालिका– ३ मा पर्ने गाईघाटको त्रियुगा नदीकिनारमा रहेको त्रियुगा बसपार्कछेउका अवैध संरचना बिहीबार भत्काएको हो ।

वसन्तकुमार बस्नेत, प्रमुख, त्रियुगा नगरपालिका
घर भत्काइएका वास्तविक सुकुम्बासीलाई अर्को स्थानमा घडेरी पनि उपलब्ध गराइएको छ

त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष तिलकबहादुर कटुवालका अनुसार नदीकिनारमा अवैध बसोबास गर्ने सत्यदेवदास चौधरी, बलदेवदास चौधरी, शंकर चौधरी, हरिहरवती चौधरी, शर्मिला चौधरी, नीरबहादुर रोका, श्यामकुमार चौधरी, घरधनी पहिचान हुन नसकेका भाडावाला सोनु चौधरी, सञ्जयवती चौधरीको घर भत्काएको हो । ‘सार्वजनिक ऐलानी जग्गामा बसोबास गर्नेविरुद्ध जिल्ला अदालतमा परेको मुद्दाको फैसला हुँदा पनि अवैध संरचना भत्काउन नगरपालिकालाई पत्र आएको र निर्माणाधीन त्रियुगा बसपार्कमा परेकाले नगरपालिकाको भवन तथा बाटो मापदण्ड, २०७४ अनुसार भत्काउन बाध्य भएका हौँ,’ उनले भने ।

कटुवालका अनुसार एउटा सार्वजनिक शौचालाय, एउटा बन्दै गरेको पक्की घर तथा अन्य टिन र थाकलले छाएका घर भत्काइएका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका कटुवालले भने, ‘पटक–पटक अवैध घर बनाएर बसेकालाई भत्काउन आग्रह गरेका थियौँ, तर उहाँहरूले मान्नुभएन । बाध्य भएर आज डोजर चलाएर भत्काएका हौँ । जसको घर भत्केको छ, उसलाई बसपार्ककै अर्को छेउमा जग्गा उपलब्ध गराइएको छ ।’ छानबिन गरेर वास्तविक सुकुम्बासी पत्ता लगाएर भत्काइएको ठाउँमा एक कट्ठा छ भने अर्को स्थानमा दश धुर र दुई कट्ठा हुनेलाई एक कट्ठा दिइने नगरपालिकाले तयारी गरेको कटुवालले बताए ।

घर भत्केकी शर्मिला चौधरीले नगरपालिकाले भनेका वेला अर्कोतर्फ घर नसर्दा भत्काइएको बताइन् । ‘अब स्थायी रूपमा नगरपालिकाले नदीकिनारभन्दा सुरक्षित स्थानमा राख्ने भनेको छ । हामी त्यहीँ सर्ने योजनामा छौँ । मेरो जग्गाजमिन कतै पनि छैन । सुकुम्बासी हुँ,’ उनले भनिन् ।

भत्काइएका नौ घर त्रियुगा नदीकिनारमा पर्छन् । अहिले त्यही क्षेत्रमा आधुनिक रूपमा त्रियुगा बसपार्क निर्माण भइरहेको छ । बसपार्क निर्माणमा अवरोध पुग्ने भएकाले भत्काइएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले घर भत्काउन थालेपछि घरमा रहेका सामान झिक्न समय माग्नेलाई पनि समय उपलब्ध गराइएको थियो । 

त्रियुगा नगरपालिका– १३ वडाध्यक्ष नवीनकुमार चौधरीले हवाई फिल्डमा सरकारी नम्बरी जग्गाभित्र रहेका बन्धु पञ्जियार थारू, जयप्रकाश राई, भूपेन्द्र चौधरीको पनि घर भत्काइएको बताए । ‘उहाँहरू तीनजनको घर भत्काइएको छ । हामीले दुई ठाउँमा स्थानान्तरणका लागि जग्गा रोज्न भनेका छौँ । पटक–पटक भत्काउन आग्रह गर्दा पनि नमानेपछि जबर्जस्ती भत्काउन बाध्य भएका हौँ,’ उनले भने ।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले नगर क्षेत्रमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्दै जाने र नगर क्षेत्रभित्र रहेका वास्तविक सुकुम्बासीको पहिचान गर्दै व्यवस्थित गर्ने अभियानअन्तर्गत बसपार्क निर्माणमा अवरोध भएका तथा अवैध बसोबास भएका घर भत्काउन थालिएको बताए । ‘घर भत्काइएका वास्तविक सुकुम्बासीलाई अर्को स्थानमा घडेरी पनि उपलब्ध गराइएको छ,’ उनले भने । वास्तविक सुकुम्बासीको नगरपालिकाले व्यवस्थापन गर्ने र गैरसुकुम्बासीको हकमा नगरपालिकाले कुनै पनि सहयोग नगर्ने बस्नेतको भनाइ छ ।