१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तमोर करिडोरमा पर्ने हेवाखोलाको ड्राइभर्सन बगाएपछि यातायात बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १५:३९:oo

तमोर करिडोरको पाँचथर जिल्लामा रहेको हेवाखोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । तमोर करिडोरको पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाबिच भएर बग्ने हेवाखोलाको डाइभर्सनमा लगाइएका ह्युमपाइपहरू शुक्रबार बिहान आएको बाढीले बगाएसँगै तमोर करिडोरको पाँचथर–ताप्लेजुङ सडकखण्डको यातायात बन्द भएको छ । 

शुक्रबार बिहान वर्षा भएसँगै खोला बढ्दा यहाँका ह्युमपाइप बगाएपछि सो करिडोर भएर हिँड्ने यात्रुवाहक सवारी तथा ठुला मालवाहक सवारीका साधन आउजाउ गर्ने बन्द भएको छ ।

ह्युमपाइप बगेसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक, सिंहापुर र थर्पु साथै ताप्लेजुङका विभिन्न स्थानमा हिँडेका साधन मध्यपहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो समात्दै गन्तव्यतर्फ जान बाध्य भएका छन् । 

आज बिहान अर्थात् शुक्रबार भालुचोकदेखि सुभाङखोला हुँदै हेवाखोला आइपुगेका यात्रुवाहक र मालवाहक साधन पनि पुनः अमरपुर फर्किएर मेची राजमार्ग हुँदै धरान, इलाम र झापातर्फ गएको बताइएको छ ।

यहाँ लगाएको बेलिब्रिज पहिलोपटक ०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुनः ह्युमपाइप राखेर पानी कटाउँदै यातायात सुरु भएको हो । यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर करिडोर आयोजनाको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले शुक्रबारको बाढीले बगाएका ह्युमपाइप एक्स्काभेटरले तानेर पुनः मर्मत गर्दै यातायात सञ्चालन गर्न पहल भइरहेको जानकारी दिए । 

गत असोज महिनाको बाढीले बेलिब्रिज बगाएमध्ये मेची राजमार्गको हेवाखोला खण्डमा भने यातायात सञ्चालनमा छ । मेची राजमार्गमा रहेको हेवाखोलामाथि भने बेलीब्रिज बनाउने काम धमाधम भइरहेको र आगामी जेठ २० गतेसम्ममा बनाइसकिने लक्ष्य राखिएको बेलिब्रिजको स्थलगत रूपमा हेरिरहेका सबइन्जिनियर सुवास गौतमले जानकारी दिए ।