१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सगरमाथा संवाद आजदेखि : आइपुगे विदेशी प्रतिनिधि, ३५० सहभागी हुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२९:oo

जलवायु परिवर्तनका विषयमा नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवाद शुक्रबार सुरु हुँदै छ । संवादमा सहभागी हुन भारतीय वातावरणमन्त्री भूपेन्द्र यादव, चिनियाँ जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ जीसहितका विदेशी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेका छन् । 

तीन दिन सञ्चालन हुने संवादको प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान उद्घाटन गर्नेछन् । संवादको मूल विषय ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ राखिएको छ । आइतबारसम्म चल्ने संवादका लागि विदेशी १७५ जना र स्वदेशी पनि यही संख्या गरी जम्मा ३५० जना सहभागी हुनेछन् । चिनियाँ नेता जी बुधबार राति र भारतीय नेता यादव बिहीबार अपराह्न आइपुगेका हुन् । उनीहरूले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ । 

संवादको पूर्वसन्ध्यामा जारी सन्देशमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा रहेको उल्लेख गर्दै यो समयको सबैभन्दा ठूलो चुनौती सामना गर्ने विषयमा संवाद राखिएको बताएका छन् । उनले संवाद र छलफलमार्फत समाधान खोज्ने प्राचीन अभ्यासको बिरासतका रूपमा सगरमाथा संवाद हुन लागेको उल्लेख गरे । ‘हामीले यतिवेला मानवताका लागि गम्भीर खतराहरूको सामना गर्दै गर्दा, संवाद अझ सान्दर्भिक भएको छ,’ प्रधानमन्त्रीले भने, ‘हामी संवादका लागि नेपालको स्थायी मञ्च सगरमाथा संवाद सुरु गर्न पाउँदा गर्व गर्छौँ, जहाँ विश्वका हरेक कुनाबाट नेता, विचारक, बुद्धिजीवी, विज्ञ र नागरिक भेला हुनेछन् ।’

यो समयको सबैभन्दा दबाबपूर्ण चुनौती जलवायु संकट भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो टाढाको खतरा नभई अहिलेको यथार्थ भएको पनि बताएका छन् । ‘हिमालहरू पृथ्वीका मौन संरक्षक हुन्, तिनीहरू हाम्रा पानीका टावर र जलवायु नियामक हुन्, जसले आफ्नो चुचुरोभन्दा धेरै टाढा जीवनलाई कायम राख्छन्,’ ओलीले भने, ‘यो तथ्यलाई बुझौँ, हामी सबै एक–अर्कासँग जोडिएका छौँ, हाम्रो भविष्य पनि एक–अर्कासँग जोडिएको छ । हाम्रो मात्र होइन, सम्पूर्ण मानवताका लागि जलवायु परिवर्तन कुनै अमूर्त मुद्दा होइन, यो दैनिक वास्तविकता हो ।’

सगरमाथा संवादमार्फत नेपालले जलवायु संकटको आवाज उठाउन, संसारलाई एकताबद्ध गर्न र सबैतिर हिमाली र तटीय समुदायहरूको संघर्ष र शक्ति प्रतिबिम्बित गर्न खोजेको प्रधानमन्त्रीले बताए । सगरमाथा संवादलाई समाधानको मञ्च, आशाको मुहान र भविष्यका लागि शक्ति बनाउन प्रधानमन्त्रीले आह्वान गरेका छन् । 

तीन दिनसम्म विभिन्न सत्रमा छलफल हुनेछ भने सहभागी विदेशी प्रतिनिधिमण्डललाई माउन्टेन फ्लाइटमा लैजानेसमेत व्यवस्था मिलाइएको छ । संवादमा अजरबैजानकी प्राकृतिक स्रोतसम्बन्धी मन्त्री तथा कोप–२९ की अध्यक्ष मुख्तार बाबायेभ, बंगलादेशकी समाजकल्याण, महिला तथा बालबालिकासम्बन्धी अन्तरिम मन्त्री सर्मिन सोनेया मुर्सिद, भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छेरिङ, माल्दिभ्सका पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम सहभागी हुने कार्यक्रम छ । 

संवादमा जापानका संसदीय मामिलासम्बन्धी उपविदेशमन्त्री इकुइना अकिको, संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जा मामिला हेर्ने सहायक विदेशमन्त्री अब्दुल्लाह बलाला, बेलायतकी संसदीय उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन, कतारका जलवायु परिवर्तनसम्बन्धी उपमन्त्री एवं विशेष दूत बदर उमर अल दाफा, किर्गिजस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि, पर्वतीय क्षेत्र विकासका लागि पाँच वर्षको कार्ययोजना कार्यान्वयन हेर्ने अधिकारी दिनारा केमेलोभा सहभागी हुनेछन् ।

यीबाहेक ओमानकी राजदूत इस्सा बिन सालेह अल सिवानी, ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोग, इजिप्टका राजदूत नोहा हम्दी अहमद एलगेबाली, सार्कका महासचिव गोलम सरवर, विमस्टेकका महासचिव इन्द्रमणि पाण्डे, संयुक्त राष्ट्रसंघकी नेपाल प्रतिनिधि हाना सिंगर हम्दी, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रायसर, एसियाली विकास बैंक (एडिबी)का क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिनले पनि सहभागीता जनाउने कार्यक्रम छ ।

चिनियाँ नेता भेटवार्तामा व्यस्त
सगरमाथा संवादका लागि काठमाडौं आएका चिनियाँ नेता सिआओ जीले बिहीबार प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानालगायतसँग भेटवार्ता गरेका छन् । चिनियाँ नेताले प्रधानमन्त्री ओलीलाई सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबिचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताएका छन् । नेपालको विकास र समृद्धिका लागि चिनियाँ नेतृत्वको शुभेच्छा रहेको उल्लेख गरेका थिए । 

प्रधानमन्त्री ओलीले नेपाल र चीनबिच लामो समयदेखि मित्रवत् र समस्यारहित एवं हार्दिक सम्बन्ध रहिआएको उल्लेख गरेका थिए । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउँदै ओलीले दुई देशबिच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए ।