
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन यही ११ जेठदेखि सुरु हुने भएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले ११ जेठ बिहान ११ बजे अधिवेशन बोलाउन प्रदेश प्रमुख नजिर मियाँसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभालाई पत्र पठाएर प्रदेश सभा बैठक आह्वान गर्नेछन्। मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने कानुनी व्यवस्था छ।
प्रदेश सभाको पाँचौँ अधिवेशन गत २५ चैतमा अन्त्य भएको थियो। आर्थिक लेनदेनको आरोप लागेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीमाथि छानबिन हुनुपर्ने, सरकारले गरेका अनावश्यक नियुक्ति खारेज गर्नुपर्ने र फजुल खर्च रोक्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार विरोध जनाएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस थियो।