Skip This
निष्क्रिय बन्यो समाजवादी मोर्चा : डेढ महिनादेखि बैठक बस्न सकेन, कार्यक्रम पनि बनेन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निष्क्रिय बन्यो समाजवादी मोर्चा : डेढ महिनादेखि बैठक बस्न सकेन, कार्यक्रम पनि बनेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४५:oo

माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मोर्चा निष्क्रिय बनेको छ । गत १५ चैतमा काठमाडौंमा जनप्रदर्शन गरेपछि चारदलीय मोर्चा निष्क्रिय बनेको हो । १५ चैतको प्रदर्शनपछि १८ गते मोर्चाले समीक्षात्मक बैठक गरेको थियो । त्यसयता मोर्चाको बैठकसमेत बस्न सकेको छैन । उक्त बैठकपछि मोर्चाका संयोजक नेकपा महासचिव नेत्रविक्रम चन्दले केही दिनमै बैठक बसेर आगामी कार्यक्रम ल्याउने बताएका थिए । तर, डेढ महिना बित्दा पनि बैठक बस्न सकेको छैन । 

नेताहरू पार्टीगत काममा व्यस्त भएका कारण मोर्चाको बैठक बस्न समय लागेको मोर्चाका सचिवालय सदस्यसचिव तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । ‘आगामी कार्ययोजना बनाइरहेका छौँ । अन्य घटकका नेता पार्टीगत कार्यक्रममा व्यस्त भएका कारण मोर्चाको बैठक सकेको छैन,’ उनले भने । नेकपाका नेताहरू पनि पार्टीगत काममै व्यस्त छन् । विश्वकर्माका अनुसार ७७ मध्ये ७३ जिल्लामा मोर्चाको जिल्लास्तरीय संयन्त्र गठन भइसकेको छ । केही पालिकामा पनि संयन्त्र विस्तार भएको उनले बताए । 

माओवादीले २ जेठबाट मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ । जेठ महिनाभरि अभियान सञ्चालन हुने माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । ‘२ जेठबाट सुदूरपश्चिमबाट सुरु हुने अभियान सोलुमा पुगेर समापन हुन्छ । जेठभरिमा अभियान सक्ने तयारी छ,’ उनले भने । कीकृत समाजवादी ‘सुशासन र रोजगारी’को नारासहित छलफल, ज्ञापनपत्र बुझाउनेलगायत कार्यक्रममा व्यस्त छ । आन्दोलनद्वारा संगठन निर्माणको नीति पारित गरेर अगाडि बढेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘हामी सुशासन र रोजगारीको विषय लिएर देशव्यापी रूपमा अभियानमा छौँ,’ उनले भने । 

निर्णय पनि कागजमै सीमित
४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चारदलीय मोर्चा घोषणा गरिएको थियो । सुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक थिए । आलोपालो नेतृत्वको मोडालिटीअनुसार नेपालपछि नेत्रविक्रम चन्द विप्लव हाल संयोजक छन् । मोर्चा गठनताकाका सदस्य रहेका जसपा अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनपछि औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग भएका छन् भने नेसपा अध्यक्ष महिन्द्र राय यादव मोर्चामा भित्रिएका छन् । समाजवादी मोर्चाको विगतको निर्णय कार्यान्वयनमा समेत समस्या देखिएको छ । नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्‍याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीसँग केन्द्रीयस्तरको अन्तरक्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् । तर, कार्यान्वयनमा आउन सकेको छैन ।