
वर्षौँदेखि अँध्यारोमा रुमलिएको गौमूलवासीको घरघरमा झिलिमिली बिजुली बल्दा गाउँवासी खुसी भएका छन् । गाउँमा बिजुली बत्ती बल्दा स्थानीयवासीहरूको आयआजर्नमा समेत परिवर्तन भएको छ। भौगोलिक रूपले विकट मानिने गौमूल गाउँपालिका– १, अन्द्राडी,अम्लिस, भित्रीखोला, पैदालीलगायतका गाउँ झिलिमिली भएका छन् । गौमूल गाउँपालिका १, २ वडाका ४८३ परिवार र तीन हजार १३२ जना लाभान्वित भएका छन्।
स्थानीय देवबहादुर रोकायाका अनुसार बाजुरा जिल्लाकै पिछडिएको गौमूल गाउँपालिकाको अन्द्राडी, अम्लिस, भित्रीखोला, पैदाली, मल्दुगनलगायतका जनता पुस्तौँदेखि अँध्यारोमा बस्दै आएका थिए । यतिवेला यी सबै गाउँमा बिजुली बलेपछि आफूहरू निकै खुसी भएको बताए । गाउँमा झिलिमिली बिजुली बलेपछि आफूजस्तै अन्य गौमूलवासीका सपना पूरा भएको रोकायाले बताए ।
गौमूलवासी वर्षौँदेखि टुकी, झरोको सहायतामा उज्यालो बालिरहेका थिए। गाउँमा बिजुली बालेर गाउँ नै झिलिमिली होला भन्ने कल्पनासमेत गरेका थिएनन् । गौमूल गाउँपालिकाको सहकार्य र कादुरी एग्रिकल्चरल एन्ड एसोसियसन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थासँगको सहकार्य तथा आर्थिक सहयोगमा गौमूलवासीको बिजुली बाल्ने सपना पूरा भएको छ । गौमूलकै विकट बस्ती अन्द्राडीमा बिजुली बलेर गाउँ नै झिलिमिली हुन्छ होला भन्ने कुराको आफूलाई विश्वास थिएन। तर, जनताको ठुलो सहयोगले दुर्गम गाउँमा झिलिमिली बिजुली बाल्न सफल भएको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए।
गौमूल गाउँपालिका– १, अन्द्राडी लघुजलविद्युत् आयोजना उपभोक्ता समितिले बिजुली उत्पादन गरेको छ । कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक शशिकुमार राईका अनुसार २०७७ सालदेखि सुरु गरेको आयोजना २०८१ साल असार १ गते सम्पन गरी २०८२ मा गौमूलको सबै गाउँमा बिजुली बालिसकेलगत्तै कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले अन्द्राडी उपभोक्ता समितिलाई हस्तान्तण गरिदिएको बताए ।
आयोजनाको लागत खर्च नौ करोड ८५ लाख छ । आयोजनाको क्षमता एक सय किलोवाटको छ। मुहानदेखि पावरहाउससम्मको दूरी एक हजार नौ सय मिटर टाढा रहेको अन्द्राडी लघु जलविद्युत् आयोजनाका अध्यक्ष धनबहादुर रोकायाले बताए।