Skip This
५४.४५ प्रतिशतले घट्यो निर्जीवन बिमा कम्पनीको नाफा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format ११:४४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

५४.४५ प्रतिशतले घट्यो निर्जीवन बिमा कम्पनीको नाफा

असोजको बाढीले उच्च दाबी परेपछि नाफा बढाउन सकस, दुई कम्पनी घाटामै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

१०–१२ असोजको बाढीपहिरोले दाबी भुक्तानी बढाएपछि चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा निर्जीवन बिमा कम्पनीहरूको नाफा ५४.४५ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीले चालू आवको नौ महिनामा दुई अर्ब ४१ करोड तीन लाख रुपैयाँ नाफा कमाएका छन् । तर, गत आवको नौ महिनामा कम्पनीहरूले पाँच अर्ब २९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । कम्पनीहरूले मंगलबारसम्म सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो ।  

मुख्यतः गत असोजमा आएको बाढीका कारण निर्जीवन बिमा कम्पनीहरूको नाफा प्रभावित भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्रीले बताए । १०–१२ असोजको बाढीले भौतिक सम्पत्तिमा ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको थियो । त्यसमा निर्जीवन बिमा कम्पनीहरूमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँबराबरको दाबी परेको थियो । त्यसमा हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । भुक्तानी हुन बाँकी रकमबापत छुट्टै रकम प्रोभिजनिङ गरिएको छ । त्यसले गर्दा नाफा प्रभावित भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ क्षेत्रीको भनाइ छ । त्यो नियमित नभएर भइपरी आउने उच्च दाबी थियो । दाबी उच्च भएपछि स्वतः नाफा प्रभावित भएको उनले बताए । 

समीक्षा अवधिमा दुई निर्जीवन बिमा कम्पनी घाटामा रहेको तथ्यांक छ । तथ्यांकअनुसार दी ओरियन्टल इन्स्योरेन्स १३ करोड ८३ लाख ४० हजार र नेसनल इन्स्योरेन्स ७२ करोड ८१ लाख रुपैयाँले नोक्सानीमा छन् । गत आवको यसै अवधिमा दी ओरियन्टल इन्स्योरेन्स ४६ करोड १७ लाख ३१ हजार रुपैयाँ र नेसनल इन्स्योरेनस १४ करोड १० लाख ३३ हजार रुपैयाँले नाफामा थियो । यीबाहेक १२ निर्जीवन बिमा कम्पनी नाफामा छन् । त्यसमा १० कम्पनीको नाफामा गिरावट आएको देखिन्छ । 

नौ महिनामा नाफा कमाउने मामिलामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पहिलो नम्बरमा छ । यो अवधिमा उक्त कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा रहेको राष्ट्रिय बिमा कम्पनीले ३९ करोड ५६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३६ करोड ९३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । 

निर्जीवन लघु बिमा कम्पनीको नाफा घट्यो
समीक्षा अवधिमा चार निर्जीवन लुघबिमा कम्पनीको नाफा पनि घटेको छ । गत आवको पहिलो नौ महिनामा उनीहरूले दुई करोड ५५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका थिए । चालू आवको नौ महिनामा उनीहरूको कुल नाफा ८४ लाख २० हजार रुपैयाँ मात्रै हरेको छ । तथ्यांकअनुसार ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३७ लाख २३ हजार रुपैयाँ, प्रोटेक्टिभ इन्स्योरेन्सले ३२ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १० लाख १६ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सले चार लाख ८१ हजार रुपैयाँ नाफा कमाएका छन् । दाबी बढेकै कारण नाफा प्रभावित भएको कम्पनीहरू बताउँछन् । 

जीवन बिमा कम्पनीको नाफा भने बढ्यो 
चालू आवको नौ महिनामा जीवन बिमा कम्पनीहरूको नाफा भने औसत १२ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले गत आवको नौ महिनामा चार अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए । चालू आवको नौ महिनामा भने चार अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खुद नाफा भएको कम्पनीहरूको वित्तीय विवरणमा उल्लेख छ । 

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले नौ महिनामा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो स्थानमा भने हिमालयन लाइफ इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, नेसलन लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३३ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । 

यसैगरी, सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख रुपैयाँ, एलआइसी नेपालले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बिमा कम्पनीले एक करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जीवन बिमा कम्पनीहरूको यो नाफा बिमांकीय मूल्यांकनअघिको हो । बिमांकीय मूल्यांकनपछि कम्पनीको नाफा थप बढ्न सक्नेछ । बिमांकीय मूल्यांकनका क्रममा बिमांकीले बिमा कोषमा भएको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सक्नेछन् ।

तीन जीवन लघुबिमा कम्पनीको नाफा बढ्यो 
समीक्षा अवधिमा तीन जीवन लघुबिमा कम्पनीको नाफा ३३१ प्रतिशतले बढेको छ । गत आवको पहिलो नौ महिनामा उनीहरूको कुल नाफा एक करोड आठ लाख ६९ हजार रुपैयाँ थियो । चालू आवको नौ महिनामा भने उनीहरूले चार करोड ६८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएका छन् । त्यसमा गार्डियन माइक्रो लाइफले मात्रै दुई करोड ७४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी, क्रेस्ट माइक्रो लाइफले एक करोड पाँच लाख ३३ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ८९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।