
ठेकेदारका कारण कञ्चनपुरमा एक दशकदेखि चार पक्की पुल अलपत्र अवस्थामा छन् । दोदा नदी, ओदाल खोला, मलरिया नाला र मुसेपानी खोलामा पक्की पुल निर्माण नहुँदा सर्वसाधारण मारमा परेका छन् । चारवटै पुलको पाँचपटकसम्म म्याद थप गरिँदासमेत निर्माण पूरा हुन सकेको छैन ।
आर्थिक वर्ष ०७१/७२ मा ठेक्का भएको देखतभुली लालझाडी जोड्ने दोदानदीको पुल अझै अधुरै छ । लुम्बिनी राजेन्द्रकुमार शर्मा जेभीले २४ करोड २२ लाख ५७ हजार लागतमा निर्माणको जिम्मा पाएको पुलको २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यसअघि पुलको पहिलो डिजाइन असफल भएपछि दोस्रो बनाइएको थियो । पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग ७० मिटर लम्बाइ फुटपाथसहित ११ मिटर चौडाइको पुल निर्माणका लागि २६ पुस ०७२ मा सम्झौता गरेको थियो ।
२६ पुस ०७५ मा सम्पन्न गर्नुपर्ने भए पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि देखिएपछि पुल निर्माण कार्य अलपत्र परेको थियो । तीनवटा पिलर गाडेर चौथो पिलर गाड्ने क्रममा दलदल भेटिए पनि पुलको डिजाइन नै परिर्वतन गरे पनि तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल १० वर्ष बितिसक्दासमेत अलपत्र अवस्थामा छ ।
कृष्णपुर नगरपालिका– १ बंकको ओदाल खोलामा निर्माणाधीन पुल आव ०७२/७३ मै जिम्मेवारी पाएको थागिम गल्वा भेजी भेन्चरले पाँच करोड ४७ लाख चार हजार रुपैयाँमा ठेक्का पाएको थियो । हाल ८० प्रतिशत मात्रै प्रगति भएको छ । समयमै निर्माण सम्पन्न नसकेको भन्दै निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० प्रतिशत हर्जाना लगाएको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले समयमै पुल निर्माण गर्न नसकेपछि दोधाराचाँदनी– १ मलरिया नालाको ठेक्का तोडेको छ । शंकरमाली अकेला जेभीले चार करोड ६१ लाख ३४ हजार रुपैयाँ लागतमा निर्माण जिम्मा पाएको पुलको हालको प्रगति ५५ प्रतिशत मात्रै छ । बेलकोट नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने मुसेपानी खोलामा निर्माणाधीन पुल राजेन्द्र लुम्बिनी जेभीले १५ करोड ४३ लाख २९ हजार रुपैयाँ लागतमा निर्माण जिम्मा पाएको थियो । हाल ७० प्रतिशत मात्रै प्रगति भएको छ । चारवटै पुलकोे पटक–पटक म्याद थप गर्दासमेत निर्माण गर्न नसके पनि भौतिक प्रगतिभन्दा बढी वित्तीय भुक्तानी गरिएको छ ।