
सगरमाथा संवाद नेपाल सरकारद्वारा सञ्चालित एक अन्तर्राष्ट्रियस्तरको बहुसरोकारवाला संवाद मञ्च हो, जसले विश्व, क्षेत्रीय र राष्ट्रिय महŒवका प्रमुख मुद्दामा गहन विचार–विमर्शका लागि विभिन्न क्षेत्रका व्यक्तिलाई एकसाथ जुटाउँछ । यस संवादको उद्देश्य सकारात्मक परिवर्तन ल्याउन साझा दृष्टिकोण विकास गर्नु र त्यसलाई अगाडि बढाउनु हो ।
संवाद मञ्चको नाम विश्वको सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेष्ट)बाट राखिएको हो जसले मित्रता, साझा भलाइ र सामूहिक कल्याणको भावना बोकेको प्रतीकका रूपमा काम गर्छ । पृथ्वीको सबैभन्दा अग्लो स्थान भएकाले सगरमाथा विश्व घटनाको ‘उचाइको साक्षी’ पनि हो । यसले मानवता र प्रकृतिबिचको सामञ्जस्यपूर्ण सम्बन्धका मूल्यलाई जीवन्त राख्ने प्रेरणा दिन्छ । नेपाल स्वयं प्राचीन इतिहास, प्राकृतिक सम्पदा र विविध सांस्कृतिक परम्पराले भरिएको भूमि हो । हिमालय क्षेत्र— विशेषगरी सगरमाथाको फेदी विचार, ध्यान, शान्ति र ज्ञानप्राप्तिका स्थलका रूपमा प्राचीन समयदेखि चिनिँदै आएको छ ।
‘सगरमाथा संवाद २०२५’ को संस्करण नेपाल सरकारद्वारा १६ देखि १८ मे २०२५ सम्म काठमाडौंमा आयोजना गरिँदै छ, जसको मुख्य नारा ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ । यो कार्यक्रम एक अन्तरक्षेत्रीय, बहुसरोकारवाला मञ्चको रूपमा आयोजना हुनेछ, जसमा राष्ट्र तथा सरकार प्रमुखहरू, सांसद, नीति–निर्माता, अन्तरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, थिंकट्यांक शिक्षाविद्, महिला, युवा तथा सञ्चारकर्मी सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुने संवादले सहकार्य, विचार आदान–प्रदान र वैश्विक मुद्दामा अनुभव साझेदारीका माध्यमबाट दिगो भविष्यको दिशामा सामूहिक पहल गर्न विश्व समुदायलाई एक ठाउँमा ल्याउने प्रयास गर्छ ।
सगरमाथा संवादको औचित्य : आजको अन्तर–निर्भर संसारमा, समकालीन चुनौतीलाई सम्बोधन गर्न र साझा समाधानका बाटो पहिल्याउन खुला, सहकार्यपूर्ण संवाद अत्यावश्यक छ । यस्तो संवादका लागि नेपाल एक अत्यन्त उपयुक्त स्थलका रूपमा प्रस्तुत हुन्छ– जहाँ शान्तिपूर्ण राजनीतिक परिवर्तन, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत समुदायको सशक्तीकरणका प्रेरणादायी कथा पाइन्छन् । साथै, अन्तर्राष्ट्रिय शान्ति स्थापनामा सक्रिय सहभागिता र जलवायु परिवर्तनजस्ता विश्वव्यापी संकटसँग जुझ्न प्रतिबद्ध राष्ट्रका रूपमा नेपालले एक समर्पित भूमिका निर्वाह गर्दै आएको छ ।
सगरमाथा संवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालालाई एकत्रित गरी जलवायु संकटमा साझा दृष्टिकोण विकास गर्ने अवसर प्रदान गर्नेछ
नेपाल केवल भौगोलिक दृष्टिले सुन्दर देश मात्र होइन, यो एक प्राचीन सांस्कृतिक र आध्यात्मिक धरोहरले भरिएको भूमि पनि हो । हिमालय क्षेत्र ऋषिमुनि, साधक, बोधिसत्व र विचारकको तपोभूमि रहँदै आएको छ । यही पृष्ठभूमिले प्रवचन, मनन, ध्यान, प्रकृतिसँगको समन्वय र ज्ञानको खोजलाई नेपालको मौलिक परम्परा बनाएको छ । ‘वादे वादे जायते तत्वबोधः’ अर्थात् संवादबाट ज्ञान प्राप्त हुन्छ भन्ने संस्कृत उखान होस् वा ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मानवीय भावना— यी सबैले नेपालका मूल्य र दृष्टिकोणलाई निर्देशित गर्छन् । सगरमाथाजस्तै विशाल र प्रेरणादायी हिमालयले हामीलाई क्षितिजभन्दा परसम्म सोच्न, गहिरो रूपमा विचार गर्न र साझा हितका लागि जुट्न प्रेरित गर्छन् ।
राजनीतिक संक्रमण र लोकतान्त्रिक संविधानको सफल कार्यान्वयनसँगै नेपाल अब स्थायित्व र समावेशी विकासतर्फ उन्मुख भएको छ । सामाजिक–आर्थिक रूपान्तरणका आकांक्षासहित, देशले दिगो विकासका लक्ष्य र न्यायसंगत समाज निर्माणलाई आफ्नो प्राथमिकता बनाएको छ । यस्ता विश्वव्यापी लक्ष्य प्राप्त गर्न नेपालले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारीको खाँचोलाई गहिरोसँग महसुस गर्दै आएको छ । यही सन्दर्भमा, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा दीर्घकालीन योगदान, परमाणु अप्रसारका पक्षमा वकालत र विश्वशान्तिका प्रयासमा अग्रसर नेपाल आज पनि साझा संवादका माध्यमबाट विश्वव्यापी सहकार्यलाई सुदृढ गर्न इच्छुक छ ।
यसकारण नेपालले संवाद, विचार, अनुभव र प्रेरणा साटासाट गर्न विश्वभरिका नेता, नीति–निर्माता, बुद्धिजीवी र सरोकारवालालाई एकत्रित गराउने सक्षम र स्वागतयोग्य प्लाटफर्मको भूमिका निर्वाह गरिरहेको छ । सगरमाथा संवादजस्ता पहल यिनै प्रयासका प्रतिफल हुन्, जसले साझा भविष्य निर्माणतर्फको यात्रामा सारा मानवजातिलाई एकसाथ उभ्याउने सम्भावना बोकेको छ ।
सगरमाथा संवादको उद्देश्य : नेपालले वातावरण, अर्थतन्त्र र अन्य सामाजिक–सांस्कृतिक क्षेत्रसँग सम्बन्धित समकालीन विश्वव्यापी मुद्दामा विचार–विमर्श गर्न एक बहुसरोकारवाला र अन्तरक्षेत्रीय संवाद मञ्चका लागि उपयुक्त स्थल प्रदान गर्ने उद्देश्य राखेको छ । यसप्रकारको मञ्चले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारका विषयमा गहिरो छलफलको अवसर सिर्जना गर्दै विश्वसमुदायबिच सहकार्य र समझदारीलाई प्रवद्र्धन गर्न योगदान पुर्याउने विश्वास गरिएको छ ।
यस संवादमा राष्ट्र तथा सरकार प्रमुख, मन्त्री, सांसद, नीति–निर्माता, विशेषज्ञ, सञ्चारकर्मी, व्यवसायी समुदाय, फराकिलो नागरिक समाज, युवा तथा छलफल भइरहेका मुद्दाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको सहभागिता रहनेछ । विविध पृष्ठभूमिका यी सहभागीले अनुभव, दृष्टिकोण र समाधानका उपाय साझा गर्दै समसामयिक चुनौतीमाथि बहस, सहकार्य र समाधानमुखी सोच विकास गर्ने अवसर प्राप्त गर्नेछन् ।
सगरमाथा संवादको दीर्घकालीन सोच : वर्तमान समयका सबैभन्दा सान्दर्भिक विषयहरू– जस्तै वातावरण, अर्थतन्त्र, तथा सामाजिक–सांस्कृतिक क्षेत्र, जसले मानवजातिको समग्र कल्याणमा प्रत्यक्ष प्रभाव पार्छन्, तिनमा खुला, स्पष्ट, अन्तत्र्रिmयात्मक र रचनात्मक विश्वव्यापी संवाद सञ्चालन गर्ने उद्देश्य यो पहलले लिएको छ ।
यस मञ्चको मुख्य उद्देश्य यस्ता जटिल र अन्तरसम्बन्धित विषयबारे गहिरो छलफल गर्नु मात्र नभई तिनको दीर्घकालीन समाधानका लागि विभिन्न सरोकारवालाको प्रतिबद्धता र संकल्पलाई पुनर्जीवित गर्नु पनि हो । विचार, अनुभव र रणनीतिको आदान–प्रदानमार्फत यो मञ्चले साझा चुनौतीको समाधानमा एकजुट प्रयास गर्न प्रेरणा दिने विश्वास लिएको छ ।
सगरमाथा संवाद २०२५ : नेपाल सरकारले आफ्ना महत्वपूर्ण मुद्दामा विश्वव्यापी बहस र विचार–विमर्शको मञ्चका रूपमा सन् २०१९ मा सगरमाथा संवादको स्थापना गरेको हो । यो बहुपक्षीय संवाद मञ्चले हरेक दुई वर्षमा विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका विषयमा बहस गराउने लक्ष्य राखेको छ । पहिलो संवाद सन् २०२० को अप्रिल २ देखि ४ सम्म आयोजना गर्ने तयारी हुँदै गर्दा कोभिड– १९ महामारीका कारण अन्तिम समयमा उक्त कार्यक्रम स्थगन गर्नुपरेको थियो ।
सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउन आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने भएको छ जसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आव ०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममार्फत दिएका हुन् । सो संवादमा व्यक्त गरिने धारणाका आधारमा जलवायुअनुकूलन तथा असर न्यूनीकरणका कार्यक्रम लागू गरिने र सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जन गर्ने नेपालको प्रतिबद्धता पूरा गर्न दीर्घकालीन रणनीति कार्यान्वयन गरिनेसमेत उनले स्पष्ट पारेका छन् ।
सगरमाथा संवाद २०२५ को पूर्वसन्ध्यामा जलवायु संकटबाट प्रभावित समुदायको आवाज उठाउन जनमञ्च आयोजना गरिएको छ । यही २१ वैशाखमा काठमाडौंमा सम्पन्न यो कार्यक्रम विभिन्न अभियान, महासंघ, सञ्जाल, गठबन्धन र नागरिक समाजका विभिन्न पक्षको सहकार्यमा सम्पन्न भएको छ । जनमञ्चको उद्देश्य जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्यसँग जोडिएका मुद्दामा अग्रपंक्तिका समुदायको आवाज सगरमाथा संवादसम्म पुर्याउनु रहेको छ ।
यस कार्यक्रममा बालबालिका, महिला, आदिवासी, साना किसान, अपांगता भएका व्यक्ति, अल्पसंख्यक र सीमान्तकृत समुदायहरूको सहभागिता थियो । जनमञ्च घोषणापत्र जारी गरेर यसलाई सगरमाथा संवादमा संवेदनशील समुदायका तर्फबाट माग प्रस्तुत गर्ने प्रमुख दस्तावेज तयार गरिनेछ । ५०० भन्दा बढी सहभागी यस कार्यक्रममा नीति–निर्माता, जलवायुविज्ञ, अनुसन्धानकर्ता, अन्तर्राष्ट्रिय संस्था र विकास साझेदारका प्रतिनिधि पनि सहभागी थिए । जनमञ्चले जलवायु प्रभावको सामना गर्ने र साझा स्रोतमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरेको थियो ।
सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । जसको मूल उद्देश्य जलवायु परिवर्तनले मानवजीवन र हिमाली पारिस्थितिकीमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनु हो । २ देखि ४ जेठसम्म काठमाडौंमा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय मञ्चमा करिब ५० देशका ३०० उच्चपदस्थ प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रमको पहिलो दिन उद्घाटन समारोह र प्लेनरी सेसनपछि ‘पर्वतभन्दा बाहिर : पर्वतलाई महासागरसँग जोड्दै’ शीर्षकअन्तर्गत चारवटा विषयगत सेसन हुनेछन् । जसमा हिमनदी संरक्षण, पहाडी क्षेत्र र टापुहरूको सम्बन्ध, जलवायुअनुकूल कृषि र सामुदायिक नेतृत्वका पहल समेटिनेछन् ।
दोस्रो दिन हरित अर्थतन्त्र, क्षति न्यूनीकरण, जलवायु न्याय र विज्ञान–प्रविधिको प्रयोगजस्ता चार मुख्य थिमअन्तर्गत आठवटा सेसन सञ्चालन हुनेछन्, जहाँ स्वच्छ ऊर्जा, पर्वतीय संस्कृति, जोखिम मूल्यांकन, समावेशी विकास, लंैगिक समानता र दिगो सहरका विषयमा गहन छलफल गरिनेछ । तेस्रो दिन, ४ जेठमा सहभागीलाई सगरमाथा क्षेत्रको हवाई अवलोकन गराइनेछ र त्यसपछि संवादको घोषणापत्र जारी गरी कार्यक्रम समापन गरिनेछ । यो मञ्चले राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालालाई एकत्रित गरी जलवायु संकटमा साझा दृष्टिकोण विकास गर्ने अवसर प्रदान गर्नेछ ।
संवादको सफलताका लागि केही सुझाव : सगरमाथा संवाद २०२५ नेपाल सरकारका लागि ऐतिहासिक अवसर प्रस्तुत गर्दै छ । यसको पूर्ण र अपेक्षित सफलताका लागि केही महत्वपूर्ण सुझाव छन् । पहिलो, स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु महत्वपूर्ण छ विशेष गरी जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई प्रमुख सरोकारवालाका रूपमा प्रस्तुत गर्दै वास्तविक समाधानलाई वैश्विक मञ्चमा ल्याउनुपर्छ । दोस्रो, दिगो परिणाम प्राप्त गर्न प्रभावकारी नीति र कार्ययोजना निर्माण गर्नु अत्यावश्यक छ, जसले संवादमा उठेका विचारलाई कार्यान्वयनयोग्य बनाउन मद्दत पुर्याउँछ । तेस्रो, पारदर्शिता र जवाफदेही प्रवद्र्धन गर्नु महत्वपूर्ण छ, जसले सरकारको प्रतिबद्धता र कार्यक्षमतामा विश्वास बढाउँछ ।
चौथो, जलवायु वित्त र प्रविधिको प्रवाहलाई प्राथमिकता दिनु जरुरी छ, जसबाट नेपाललाई अन्तर्राष्ट्रिय जलवायु कोष र पुनर्नवीकरणीय ऊर्जा स्रोतमा लगानी सुनिश्चित गर्न मद्दत पुग्नेछ । पाँचौँ, नयाँ साझेदारी र नेटवर्क निर्माण गर्नु महत्वपूर्ण छ, जसले विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर साझा प्रयासलाई बल पुर्याउनेछ । छैटौँ, शिक्षा र जनचेतनालाई बढावा दिनु आवश्यक छ, जसले जलवायु परिवर्तनबारे समाजमा व्यापक बुझाइ र समझको विकास गर्नेछ । सातौँ, तत्कालीन र दीर्घकालीन समाधानमा ध्यान दिनु महत्वपूर्ण छ, जसले जलवायु परिवर्तनका प्रभावलाई नियन्त्रणका लागि कार्यान्वयनयोग्य रणनीति तयार गर्न मद्दत पुर्याउँछ ।
अन्तिम, साझेदारीका अवसरको अधिकतम उपयोग गर्दै नेपालले अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका माध्यमबाट जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि थप प्रभावकारी कदम उठाउन सक्छ । यी सबै सुझाव कार्यान्वयन गर्दै नेपालले सगरमाथा संवादलाई सफलतापूर्वक आयोजना गर्न र वैश्विक जलवायु संघर्षमा योगदान पुर्याउन सक्छ ।
(यादव नेपाल सरकारका शाखा अधिकृत हुन्)