
विराटनगर महानगरपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको छ। महानगरको खोप समन्वय समितिको बैठकले बुधबार विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो।
खोप समन्वय समितिले गरेको सर्वेक्षणअनुसार विराटनगरमा १५ महिनामुनिका शून्य डोजका पाँचजना, ७७ जना ड्रआउट, १६ देखि ५९ महिनाका शून्य डोजका १० जना र ३७९ जना ड्रपआउट बच्चाहरूलाई राष्ट्रिय खोप तालिकाबमोजिम वडाहरूबाट खोप लगाएको पाइएको छ।
महानगरका सबै वडामा ० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकालाई घरधुरी सर्वेक्षणमार्फत खोजी गर्दा सबैले खोप लगाएको पाइएकोले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको महानगरका जनस्वास्थ्य निरीक्षक यादव गौतमले जानकारी गराए।
खोप समन्वय समितिका अध्यक्ष महानगर प्रमुख नागेश कोइरालाले घोषणासँगै आगामी दिनमा खोप सुनिश्चितताको दिगोपना गराउन आफूहरू प्रतिबद्ध रहेको बताए।