
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले निलम्बनमा परेका स्थायी समिति सदस्य डा.विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवाबारे प्रस्तावमा छलफल गर्न अस्वीकार गरेका छन् । आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पाण्डे र तिम्सेना निलम्बनको विषय प्रवेश गराएका थिए । तर, अध्यक्ष ओलीले अर्कै दिन गरौँला भनेर रोकेका थिए ।
भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सेनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोहीकारण, एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो । ‘महासचिव पोखरेलले निलम्बन फुकुवा गर्ने कि भनेर प्रस्ताव गर्नुभएको थियो,’ एक पदाधिकारीले भने, ‘अध्यक्षले आज नगरौँ, अर्को दिन गरौँला भन्नुभयो ।’ भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको पाण्डे र तिम्सेनाले विरोध गरेका थिए । सोहीकारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
एमाले सचिवालयको निर्णय गत पुसमा केन्द्रीय समितिले अनुमोदन गरेर माघमा अपानि पठाइएको थियो । ‘पार्टीको संस्थागत निर्णयको खिलापमा पार्टीलाई नकारात्मक असर पुग्ने अभिव्यक्ति दिएकाले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोधिएको थियो । उहाँहरू दुवैजनाबाट प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नरहेकाले सचिवालयको ४२औँ बैठकले पद एवं जिम्मेवारीबाट ६–६ महिना निलम्बन गर्ने र पार्टी निर्देशनमा चल्न निर्देशन दिने निर्णय भएको छ,’ अपानिमा भनिएको थियो । यद्यपि, निलम्बनको जानकारी औपचारिक रूपमा नपाएको दुवै नेतृले बताउँदै आएका छन् ।
निलम्बनकै अवस्थामा अध्यक्ष ओलीले वैशाख सुरुमा विन्दा पाण्डेलाई बालुवाटारमै बोलाएर करिब दुई घण्टा छलफल गरेका थिए । उनले पार्टी कामबारे चासो राख्दै निलम्बन कहिले सकिन्छ भनेर सोधेका थिए । जवाफमा पाण्डेले ‘अहिलेसम्म चिठी त दिएको छैन, कसरी थाहा हुनु’ भन्ने जवाफ दिएकी थिइन् । पाण्डेले पार्टीकै हितमा बोलेको बताउँदै आएकी छिन् । ‘म मधेश प्रदेशमा छु । निलम्बन फुकुवाको विषयमा मलाई केही थाहा छैन । त्यो विषयमा मलाई चासो पनि छैन । अहिलेसम्म निलम्बनको औपचारिक पत्र पनि आएको छैन । उनीहरूले कहिलेदेखि निलम्बन अवधि मान्ने हुन् त्यो पनि थाहा छैन । मैले फेसबुकमा स्टाटस लेखेको दिनबाट गन्ने हो भने गत २७ चैतमा ६ महिना पुगिसक्यो,’ उनले भनिन् ।
ओलीलाई निलम्बन फुकुवा गर्न मन नभएकाले टार्दै आएको तिम्सेनाले बताइन् । ‘महासचिवले निलम्बन फुकुवाको विषय उठानुभएको कुरा आयो । उहाँहरूले निलम्बन गरेको अवधिबाट १० असारमा ६ महिना पुग्छ । तर, विधानमा त्यस्तो स्पष्ट केही लेखिएको छैन । निलम्बन फुकुवा गर्न अध्यक्षलाई खासै मन छैन । त्यसैले उहाँले टार्नुभयो होला । हाम्रो विषय प्राथमिकतामा परेन होला,’ उनले भनिन् । तिम्सेनाले पनि निलम्बनको औपचारिक पत्र हालसम्म प्राप्त नभएको बताइन् ।
विद्याको राजीनामालाई लिएर ओली र शाक्यबिच सवालजवाफ
एमाले नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको दुई साता बितिसकेको छ । गत ८ वैशाखमा शिक्षक आन्दोलन चर्किएका वेला उनले पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत भएर रघुजी पन्त शिक्षामन्त्री बनिसक्दा पनि एमालेमा विद्याको बहिर्गमनको तरंग सेलाएको छैन । आइतबारको एमाले सचिवालय बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भट्टराईको राजीनामाको विषय विनाएजेन्डा र प्रसंग उठाए । उनले भट्टराईले शिक्षामन्त्रीको रूपमा काम गर्न नसकेको मात्रै बताएनन्, उनको पक्षमा उभिएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यप्रति कटाक्षसमेत गरे ।
स्वास्थ्यको कारण देखाएर भट्टराईले आफैँ राजीनामा दिए पनि पार्टीकै जिम्मेवार नेताले प्रधानमन्त्रीले असहयोग गरेको रूपमा अभिव्यक्ति दिएको भन्दै ओलीले बैठकमा आपत्ति जनाए । ‘विद्या भट्टराईलाई मैले नै मन्त्री बनाएको हुँ । उहाँ आफैँ नसकेर बाहिरिनुभएको हो । मन्त्री हुने क्षमता उहाँमा रहेनछ, सांसद हुन मात्रै योग्य हुनुहुँदोरहेछ । आन्दोलनरत शिक्षकसँग वार्ता गर्नुभएकै थियो । किन राजीनामा दिनुभयाे, थाहा भएन । तर, पार्टीकै जिम्मेवार नेताले प्रधानमन्त्रीले सहयोग गरेन भनेर प्रचार गर्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ‘त्यसरी सार्वजनिक रूपमा बोल्दा ख्याल गर्नुपर्ने हो । आन्तरिक एकता कायम गर्ने गरी अघि बढ्न आग्रह गर्छु ।’ ओलीले आफूप्रति टिप्पणी गरेपछि उपाध्यक्ष शाक्यले तत्कालै जवाफ फर्काइन्– ‘तपाईंले पनि पब्लिक फोरममा बोल्नुभएन । म पनि नबोलौँला ।’
च्यासलस्थित पार्टी कार्यालयमा आइतबार १ बजेका लागि बोलाइएको बैठक ओली दुई घण्टा ढिलो पुगेकाले ३ बजेपछि मात्रै सुरु भएको थियो । बैठकमा धारणा राख्दै जानेक्रममा अन्तिमतिर ओलीले निवर्तमान शिक्षामन्त्री भट्टराई र उपाध्यक्ष शाक्यको विषय उठाएका थिए । ‘विद्या भट्टराईको विषयलाई लिएर किन लेख्नुभयो भन्नुभयो । सार्वजनिक रूपमा बोल्नुभएन, टीकाटिप्पणी गर्नुभएन भन्ने कुरा गर्नुभयो । उहाँ विज्ञ नै हो, उहाँलाई मन्त्री बनाउनुभयो, राम्रो भयो । सातबुँदे प्रस्ताव पनि उहाँले नै तयार पार्नुभएको हो । उहाँले किन काम गर्न पाउनुभएन भन्ने मेरो कुरा हो । त्यसैको जगमा रघुजी पन्त शिक्षामन्त्री भएपछि शिक्षकसँग सहमति भयो । बैठकमा छलफल किन भएन, परामर्श किन हुँदैन ? भन्ने कुरा मेरो हो,’ शाक्यले भनिन्, ‘सचिवालय एउटा टिम हो । एकताबद्ध बनाउने हो भने हार्दिकता, आत्मीयता हुनुपर्छ । आलोचना र आत्मालोचना हुनुपर्छ । तर, अहिले पार्टीमा त्यस्तो अवस्था रहेन ।’
शाक्यले अध्यक्ष ओलीको अभिव्यक्तिलाई आफूले सकारात्मक रूपमा लिएको बताइन् । ‘तपाईले मन्त्री बनाउनुभयो, किन सहयोग गर्नुभएन ? हाम्रो भेट पनि भएको थिएन, एउटा नेता हतोत्साहित नहोस् भनेर लेखेकी हुँ । किन यस्तो भयो भन्ने मेरो जिज्ञासा हो । यसरी प्रस्ट छलफल भएको भए सार्वजनिक रूपमा लेख्नु पर्दैनथ्यो,’ शाक्यको भनाइ थियो ।
भट्टराईले राजीनामा दिएको भोलिपल्ट शाक्यले उनको फोटोसहित सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘शिक्षक आन्दोलन चलिराखेको वेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमानदार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैका लागि सधैँ प्रेरणा बनोस् ।’ शाक्यपछि धारणा राखेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टीलाई बलियो बनाउन खुलस्त छलफल गर्नुपर्नेमा जोड दिएका थिए । समय अभाव देखाउँदै पाण्डेले बोल्दै गर्दा ओलीले बैठक स्थगित गरेका थिए । अरू नेताले आइतबार बोल्न पाएनन् ।