१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ बैशाख २३ मंगलबार o८:o२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिवि क्रिकेट मैदान समयमै नबनेपछि दुई महिना थपियो म्याद

प्रधानमन्त्री ओलीले भने–थपिएको समयभित्र काम पूरा नभए सरकारलाई सह्य हुँदैन 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार o८:o२:oo

केपी ओली प्रधानमन्त्री भएको पहिलो मन्त्रिपरिषद्को बैठकले तीन सय दिनभित्र कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुविधासम्पन्न संरचना बनाउने निर्णय गरेको थियो । यही २४ वैशाख (बुधबार) ओली प्रधानमन्त्री भएको तीन सय दिन पुग्दै छ । तर, प्रधानमन्त्री ओलीले आफूले नै पहिलो क्याबिनेटबाट गरेको ‘१० हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान गर्ने’ निर्णय पूरा नहुने भएको छ । 

सोमबार प्रधानमन्त्री ओलीले जिम्मेवारी पाएका सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिसँग असन्तुष्ट जनाउँदै स्पष्टीकरण लिएका छन् । मैदानको काम तोकिएको र सम्झौता भएको ६५ दिनभित्र सम्पन्न नहुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिनाको समय थप गरेका छन् । प्रधानमन्त्री ओलीले थप गरिएको समयमा पनि मैदान तयार नभए सैह्य नहुने चेतावनी पनि दिएका छन् । 

हालसम्म प्यारापिटको वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत सम्पन्न भएको छ । यस्तै, फ्लडलाइटको वित्तीय प्रगति २३.८१ तथा भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको छ । फ्लडलाइटको टेन्डर पुनः दुईपटक रद्द भएको छ । फ्लडलाइटको भने मापदण्ड पूरा नभएको मन्त्रालय स्रोतले बताएको छ । 

निर्माण कम्पनीले भने जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नुपरेको परिवर्तन र निर्माण थालेपछि पानी परेकाले कालोेमाटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सम्पन्न गर्न नसकेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

‘थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गरिसक्ने बाचा गर्नुभएको छ । आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुने गरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनुपर्थ्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सह्य नहुने जानकारी गराएको छु ।’ प्रधानमन्त्री ओलीले असारको अन्तिम सातासम्म कीर्तिपुरमा क्रिकेट रंगशाला पाउने आशा गरेका छन् । 
यसअघि नै सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ती कंठले निर्माण समयमै नसकिने बताएका थिए । 

फरक दुई कम्पनीलाई जिम्मेवारी
प्यारापिट र फ्लडलाइट जडान गर्ने कार्यमा मन्त्रालयले दुईवटा कम्पनीलाई जिम्मेवारी दिएको थियो । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको हो । 

फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्टभेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको थियो । दुई कम्पनीसँग सरकारले १९ र २२ पुसमा सम्झौता गरेको थियो । यसअघि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट काम नहुने छाँटकाँट देखिएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयलाई मैदान निर्माणको जिम्मेवारी सुम्पिएका थिए । 

दोस्रोपटक टी–२० विश्वकप, सन् २०२६ सम्मलाई पुनः एकदिवसीय मान्यता र लगातार अन्तर्राष्ट्रिय उपलब्धिपछि सरकार त्रिवि मैदानलाई स्तरीय बनाउन सक्रिय भएको हो । यद्यपि, दुई दशकदेखि पूर्ण हुन नसकेको मूलपानी तल्लो र माथिल्लो मैदानमा भने सरकारको ध्यान गएको छैन । पछिल्लो महिना मूलपानी तल्लो मैदानमा आइसिसी यू–१९ विश्वकप एसिया छनोट भएपछि मैदानको स्तर निकै कमजोर देखिएको थियो । त्यस्तै, मैदानको पुर्वीतर्फको प्यारापिट बनाउनमा सरकारको ध्यान गएकै छैन ।

आदिल आलमको प्रतिबन्ध फुकुवा
अलराउन्डर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) इन्टिग्रिटी कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने गरी २१ वैशाखदेखि प्रतिबन्ध फुकुवा गरेको हो । ‘क्यान इन्टिग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी निजको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसहितको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने गरी यही मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ,’ क्यानले विज्ञप्तिमार्फत भनेको छ । ०७९ पुसमा त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङको आरोपपछि अलराउन्डर आदिललाई क्यानले प्रतिबन्ध लगाएको थियो । उक्त प्रतियोगितामा नेपाली र विदेशी गरी १० खेलाडी संलग्न रहेको प्रहरीले दाबी गरे पनि काठमाडौं जिल्ला अदालतले आदिलसहित पाँचजनालाई सफाइ दिएको थियो । 

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई प्रतियोगिता आयोजना गर्न दिएपछि प्रतियोगिता निकै विवादास्पद बनेको थियो । हालसम्म पनि केही टिम र खेलाडीले आफ्नो पारिश्रमिक पाएका छैनन् ।

प्रधानमन्त्री ओलीले भने–थपिएको समयभित्र काम पूरा नभए सरकारलाई सह्य हुँदैन 
सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो । किन समयमै काम नसकेको भनेर सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु । थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा गर्नुभएको छ । आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुने गरी काम गर्नुपर्छ भन्ने सरकारको प्राथमिकता छ । कारण जेसुकै भए ता पनि तोकिएको दिनमा काम पूरा हुनुपथ्र्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सह्य नहुने जानकारी गराएको छु ।