
सभामुख देवराज घिमिरेले भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा सांसदले प्रिसाको मृत्युबारे विषय उठाएपछि सभामुख घिमिरेले भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् ।
‘किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीय सदस्यहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ,’ सभामुखले रुलिङ गर्दै भने, ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि बिदेसिएका विद्यार्थीको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’
साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । किट विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्युको तीन महिनापछि १८ वैशाखमा प्रिसा पनि होस्टेलमा मृत भेटिएपछि संसद्मा आवाज उठेको हो ।
यसअघि राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष नारायण दाहालले घटनाबारे सदनलाई जानकारी गराउन र सत्यतथ्य पत्ता लगाउन निर्देशन जारी गरेका थिए ।
प्रिसाको मृत्युको घटनाबारे ओडिसा प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतको राष्ट्रिय मानव अधिकार आयोगले प्रिसाको मृत्यु घटनाको गम्भीर जाँचबुझ गरी २७ वैशाखभित्र प्रतिवेदन बुझाउन भनिसकेको छ भने भारतको विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले पनि समिति बनाएर अनुसन्धान गरिरहेको छ । सर्लाहीको कविलासी नगरपालिका– ८ स्थायी घर भएकी प्रिसाको परिवार वीरगन्ज महानगरपालिका– १५, भिस्वामा बस्दै आएको छ । उनी बिटेक प्रथम वर्षमा अध्ययन गर्थिन् ।
यसअघि प्रकृतिको मृत्युको जाँचबुझ गर्न गठित भारतको मानव अधिकार आयोगको टोलीले किट प्रशासनको लापरबाहीलाई जिम्मेवार ठहर गरेको थियो । आयोगले विद्यार्थीको सुरक्षामा लापरबाही गरेको पनि जनाएको थियो । उक्त घटनामा किटले माफी मागेको थियो भने लम्सालको मृत्युको विरोधमा उत्रेका नेपाली विद्यार्थी निकाला गर्ने निर्णय र दुर्व्यवहारप्रति क्षमायाचना गरेको थियो । विश्वविद्यालयले लम्सालको नाममा हरेक वर्ष एकजना नेपाली विद्यार्थीलाई किटमा पूर्ण छात्रवृत्ति दिने घोषणा पनि गरेको छ ।
किटमा भारतीयपछि दोस्रो ठुलो संख्या नेपाली विद्यार्थीको छ । त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार केआइआइटीमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन् । नेपाली विद्यार्थीको संख्या १२ सयभन्दा बढी छ ।