संयुक्त आवास आवश्यक : पवनकुमार गोल्यान

काठमाडौं संवाद

२०७६ जेठ २८ मंगलबार १०:२६:००

छिमेकी मुलुक भारतको दिल्लीमा पर्याप्त ठाउँ छ । त्यहाँ अग्ला बिल्डिङ कम छन् । मुम्बईमा अग्ला बिल्डिङ धेरै छन् । किनकि, त्यहाँ पर्याप्त ठाउँको अभाव छ । सिंगापुर, हङकङ र युरोपेली मुलुकमा पनि ‘हाइराइज बिल्डिङ’ बनाइएका छन् । विकसित मुलुकका सहरमा संयुक्त आवासको व्यवस्था छ । बिजनेस, अफिस, स्कुल÷कलेजका लागि पनि ठुल्ठूला हाइराइज बिल्डिङ ठडाइएको छ । 

नेपालमा आवासीय घर पनि निजी छन् । कार्यालय पनि आफ्नै भवनमा राखिएको छ । जसले ठूलो क्षेत्रफल ओगटेको छ । मुम्बईजस्तै काठमाडौं उपत्यकामा पनि ठाउँ कम छ । तर, नीति नहुँदा जग्गा टुक्र्याएर व्यक्तिगत घर बनाउने परिपाटी छ । जबसम्म सहरमा व्यक्तिगर घर ठड्याइन्छ, जहिल्यै अस्तव्यस्त हुन्छ ।अहिले दुई आना जग्गामा पनि घर ठडिएका छन् । सडक मिचेर पनि बनाएका छन् । जसले सहरलाई साँघुरो मात्र होइन, कुरुप बनाएको छ । काठमाडौंको सीमित जमिनमा उपयुक्त भवन नीति नै बनेन । भूकम्पपछि बल्ल एउटा मापदण्ड बनेको छ । तर, त्यो मापदण्डले पनि सहर सुध्रिनेवाला छैन । मास्टरप्लान बनाएरै सहरी विकासमा लाग्नुको विकल्प छैन ।

पुराना घर त भत्काउन सकिँदैन । तर, अब बन्ने व्यक्तिगत घरलाई स्वीकृति दिनु हुँदैन । खाली जमिन सरकारले अधिग्रहण गरेर ठुल्ठूला कोलोनी बनाउनुपर्छ । संयुक्त आवासका लागि रिङरोडबाहिर सम्भावना छ । त्यहाँ अझै पनि खाली जमिन छ । यसका लागि सरकार नै तात्नुपर्छ । निजी क्षेत्रले महँगो जमिन किनेर कोलोनी विकास गर्न सक्दैन । अहिले जोडतोडले स्याटेलाइट सहरको कुरा उठिरहेको छ । यसतर्फ सरकार तातिहाल्नुपर्छ । रिङरोडबाहिर सुविधा दिन सकेमा भित्री सहरमा खुम्चिएर बसेकाहरू बाहिर निस्कन थाल्छन् । अहिले सुविधा खोज्दै कोर सिटीमा कोचिएर बसेका हुन् । स्कुल, कलेज, अस्पताल, सपिङ मल, तरकारी बजारबाहिरै उपलब्ध हुनुपर्छ । 

जग्गाको भाउ बढेको पनि व्यक्तिगत घर बनाउन पाउने भएर हो । यदि व्यक्तिगत घर बनाउन नपाउने हो भने जग्गाको मूल्य पनि घटिहाल्छ । हामीले सहरी विकासमा विदेशका नीति अँगाल्नै पर्छ । एकै ठाउँमा धेरै आवास, सपिङ सेन्टर, अफिस, शिक्षा–दीक्षा, क्लब, पार्कलगायतको लाइफस्टाइल दिनुपर्छ । सहर व्यवस्थित गर्न सार्वजनिक यातायात पनि चुस्त बनाउनुपर्छ । सार्वजनिक यातायात राम्रो भएमा निजी गाडी चढ्ने कम भइहाल्छन् । सहरमा सफा र आकर्षक एसी बस हुनुपर्छ ।

यस्ता गाडी कुदाउन छुट्टै लेनको व्यवस्था गर्नुपर्छ । जसले लामो जामबाट मुक्ति मिल्छ । निजी सवारी चढ्दा लामो जाममा परिने र सार्वजनिक यातायात चढ्दा छिट्टै गन्तव्यमा पुगिने अवस्था सिर्जना हुनेबित्तिकै निजी सवारीको प्रयोग स्वात्तै घटिहाल्छ । म हङकङ, दुबई, युरोपेली सहरमा पुग्दा ट्याक्सी चढ्दिनँ । ट्याक्सीभन्दा सुविधाजनक र सस्तो सार्वजनिक यातायात नै छ । काठमाडौं उपत्यकाबाहिर पनि सुविधा पु-याउनुपर्छ । श्रम स्वीकृति प्रदेशबाट हुन थालेपछि दैनिक काठमाडौं भित्रिने पाँच हजार व्यक्तिको भिड कम भइसकेको छ । बाहिरै अन्तर्राष्ट्रिय विमानस्थल, सुविधासम्पन्न हस्पिटल, राम्रा स्कुल कलेज, सपिङ मल, सिनेमा थिएटरलगायत सुविधा दिन सके धेरै मान्छे राजधानी पस्दैनन् । मान्छे सुविधा खोज्दै राजधानी आएका हुन् । 

काठमाडौंलाई पूर्णतया पर्यटकीय सहर बनाउनुपर्छ । विदेशी मिडियाले पनि विश्वका घुम्नैपर्ने सहरमा काठमाडौंलाई समावेश गरिरहेका छन् । हामीले पनि काठमाडौंको चार्मिङ मर्न दिनु हुँदैन । यहाँको इतिहास जोगाएर राख्नुपर्छ । काठमाडौंलाई सांघाई बनाउने होइन, बेइजिङ बनाउने हो । काठमाडौं ‘फाइनान्सियल हब’ हुन सक्छ, औद्योगिक ‘हब’ होइन । काठमाडौंमा अझै पनि थुप्रै कार्पेट र गार्मेन्ट उद्योग छन् । हजरौँ मजदुर कार्यरत छन् । बालाजु, पाटन र भक्तपुरमा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । त्यहाँ सञ्चालित उद्योगलाई काठमाडौंबाहिर सारेर त्यहाँ हरियाली विकास गर्नुपर्छ । पार्क बनाउन सकिन्छ । 

राज्यले उद्योगलाई बाहिर सार्नका लागि अनुदान दिनुपर्छ । आकर्षक सुविधा दिएर भए पनि सार्नुपर्छ । काठमाडौंका उद्योग बाहिर सर्नेबित्तिकै लाखौँ मजदुर पनि बाहिर जान्छन् । सहरमा भिडभाड कम हुन्छ । काठमाडौंबाहिर स्याटेलाइट सहर विकास गरेर बैंकका प्रधान कार्यालय सार्न प्रोत्साहित गर्नुपर्छ । काठमाडौं उपत्यकालाई विस्तार गर्न सकिँदैन, तर भिडभाड कम गर्न सकिन्छ । 

काठमाडौंमा हरियाली मासिइसकेको छ । अझै पनि केही क्षेत्र खाली छन् । सडकको दायाँबायाँ र खाली ठाउँमा रूख रोप्नुपर्छ । युरोपका सहर हरियाली छन् । काठमाडौंमा पनि रूख रोपेर हरियाली बनाऔँ । फुटपाथ बनाउनुपर्छ ताकि मान्छेले सहज रूपमा हिँड्न पाओस् । काठमाडौं गाडी चढ्नेको मात्र होइन । पैदलयात्री र चालकलाई लेन अनुशासन सिकाउनु जरुरी छ । सडकमा आकासेपुल बनाउनुपर्छ । सरकारसँग भएको खाली जमिनमा भवन ठड्याउने होइन कि ‘ग्रिनबेल्ट’ बनाउनुपर्छ । टुँडिखेल खाली देखिन्छ । त्यहाँ पनि चारैतिर रूख रोपेर हरियाली बनाऔँ । बल्ल काठमाडौं बस्न लायक हुन्छ ।